
‘जेनजी’ आन्दोलनका क्रममा निसानामा सरकारी भवन मात्र होइन, व्यावसायिक संरचना तथा उद्योगहरू पनि परे । ठूला दलमा आस्था वा संलग्नताका आधारमा व्यावसायिक प्रतिष्ठानमा आन्दोलनकारीले तोडफोड, आगजनी, लुटपाट गरे ।
लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र रूपन्देही तथा दाङ, कपिलवस्तु लगायत जिल्लाका पर्यटन व्यवसायी पनि निसानामा परे ।
ठूलो सपनासहित ऋणधन गरेर शुरू गरेको व्यवसाय ध्वस्त हुँदा व्यवसायीहरू तनावमा छन् । खरानीको थुप्रोबाट फेरि उठ्ने प्रतिज्ञा गर्न बाध्य छन् ।
रूपन्देहीमा युवा उद्यमीको पहिचान बनाएका गोपाल रानाको तिलोत्तमास्थित स्टार लेबलको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, ड्रिम इन्टरनेसलन होटल आन्दोलनका क्रममा ध्वस्त भयो ।
लुटपाट र आगजनीबाट भएको क्षति आकलन समेत गर्न सकिएको छैन । पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता दिलाउने अभियानमा सफल उनको पसिना खेर गएको छ ।
बैंकबाट लोन लिएर थालेको व्यवसाय डुबेपछि तीन सय बढीको रोजगारी समेत गुम्न पुग्यो ।
होटल लुटपाट र आगजनी गर्नेको फोटो भिडियो स्पष्ट देखिएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्नुपर्ने उनको माग छ ।
...

एमाले सांसद तथा उद्यमीको पहिचान बनाएका बासुदेव घिमिरेको तिलोत्तमास्थित होटल टुलिपमा पनि लुटपाट र आगजनी भयो । उनको होटल मात्र नभई, घरमा समेत आगजनी र लुटपाट भयो । घिमिरे तिलोत्तमा नगरपालिकाका पहिलो निर्वाचित प्रमुख (मेयर) पनि हुन् ।
‘अझै पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋणको भारी बोकेरै हिँडेको छु,’ घिमिरे भन्छन्, ‘उत्पादन र रोजगारीसँग जोडिनुपर्छ भनेर व्यवसाय गर्न पाउने संवैधानिक हकअनुसार ३०/३५ जनालाई रोजगारी दिएर होटल व्यवसाय शुरू गरेको हुँ । आज म बस्ने घर र व्यावसायिक प्रतिष्ठान तोडफोड र आगजनीबाट ध्वस्त भएको छ ।’
घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ सरकार बन्दैछ । मैले कुनै गलत तरिकाले धन सम्पत्ति जोडेको भए छानबिन होस् । त्यसको छानबिनमा सहयोग गर्न म सधैँ तयार छु । मेरो घर र व्यावसायिक प्रतिष्ठान आगजनी र तोडफोड गर्नेहरूमाथि कारबाही होस् । यसमा जेनजीहरूको साथ रहोस् ।’
...

गायिका तथा पूर्व सांसद कोमल वलीले दाङको तुलसीपुरमा सञ्चालन गर्दै आएको कोमल रिसोर्ट पनि आन्दोलनकारीको निसानामा परेर खरानी बन्यो । व्यवसायमा बामे सर्दै गरेकी उनको सपना चकनाचुर भएको छ ।
‘हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो,’ वलीले सामाजिक सञ्जालमा लेखेकी छन् । उनको होटलमा ४० जनाले रोजगारी पाएका थिए ।
‘मेरो सम्पूर्ण पुँजी इमान र निष्ठा हो । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु । मेरो सपना खरानी बनाउन सकिन्छ, तर मेरो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन सकिँदैन,’ उनको स्टाटस छ ।
...

भैरहवाका स्थापित व्यवसायी रामबहादुर कोइरीले सञ्चालन गरेको स्टार लेबलको होटल मौर्य पनि आन्दोलनकारीको निसानामा पर्यो । नेकपा (माओवादी केन्द्र)मा आस्थावान कोइरीले दुई/तीन वर्षअघि मात्रै होटल सञ्चालनमा ल्याएका थिए ।
भैरहवाकै अर्को होटल रेडिसन पनि आक्रमणकारीले ध्वस्त बनाए । होटल रेडिसन नेपाली कांग्रेसका पूर्व सांसद तथा व्यवसायी प्रमोद यादवको हो ।
त्यस्तै, बुटवलमा र भैरहवामा सञ्चालित भाटभटेनी सुपरमार्केट पनि आगजनी र लुटपाटबाट ध्वस्त भएको छ । लुम्बिनी प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा लुटपाट र आगजनीपछि अहिलेसम्म क्षतिको विवरण समेत संकलन भएको छैन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले चोरी र लुटपाट गरिएका सामान फिर्ता गर्न भनिएको बताए ।
‘अहिले भइरहेको क्षतिको लगत संकलन भइरहेको छ,’ प्रजिअ पाण्डे भन्छन्, ‘एउटामा र एक–दुई जना मात्र भएनन्, यहाँ धेरै संलग्न भएका देखिएको छ । लगत संकलनपछि हामी त्यसबारे अध्ययन गर्छौं ।’
रूपन्देही उद्योगीहरूको लगानी गर्ने पहिलो रोजाइको क्षेत्रमा पर्छ । सहज नाका, सस्ता जग्गा र पर्यटन हबको रूपमा विकास भएको रुपन्देही जेनजीको आन्दोलन र आगजनीबाट निजी क्षेत्र त्रसित छ ।

