११ साउन २०८३, सोमबार
अर्बौंको क्षति, दशकलाई घाटा :

आन्दोलनबाट निजी क्षेत्रलाई ठूलो धक्का- चाडपर्वको मुखमा हजारौंको रोजीरोटी प्रभावित

भदौ २८, २०८२
काठमाडौं
आन्दोलनबाट निजी क्षेत्रलाई ठूलो धक्का- चाडपर्वको मुखमा हजारौंको रोजीरोटी प्रभावित

झन्डै ५ वर्षअघि कोभिड-१९ को महामारीको अवस्थामा नेपालको निजी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । जहाँ साना तथा मझौला व्यापारीदेखि ठूला व्यावसायिक घरानसम्मको व्यापार व्यवसाय डुबेको थियो । 

कोभिड-१९ को संक्रमणकालीन अवस्थाबाट कयौं व्यापार व्यवसाय सदाका लागि बन्द भए भने कयौं व्यवसायीहरू सदाका लागि पलायन समेत भएका थिए । त्यस्तो संक्रमणकालीन अवस्थाबाट व्यवसायीहरूले निकै बलियो कमब्याक अर्थात् पुनरागमन पनि गरेका थिए । विस्तारै देशमा नयाँ लगानी र नयाँ व्यापार व्यवसाय पनि थपिँदै गए ।

तर, भदौ २३ र २४ गतेभएको ‘जेनजी आन्दोलन’ले व्यापार व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ । भदौ २४ गते देशभरका दुई दर्जन होटलमा तोडफोड तथा आगजनी गरिएको छ । जसको प्रारम्भिक क्षति करिब २५ अर्ब बढीको निकालिएको छ । 

नेपालको प्रतिष्ठित व्यापारिक घराना शंकर समूहको साढे ८ अर्ब लगानी रहेको हिल्टन होटलमा पनि आगो लगाइएको छ । र उक्त होटल पूर्ण रूपमा जलेको छ । 

यता अर्का व्यवसायी उपेन्द्र महतोको निजी आवासमा समेत लुटपाट तथा तोडफोड र आगजनी गरिएको छ ।  त्यस्तै, व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटमा रहेको गोल्यान टावरमा पनि तोडफोड र आगजनी गरिएको छ । 

यसका साथै ठूलो सुपर मार्केटको सञ्जार रहेको भाटभटेनीमा आगजनी, तोडफोड, चोरी तथा लुटपाट भएको छ । भाटभटेनीकै विभिन्न १२ वटा आउटलेट पूर्ण रूपमा नष्ट भएको भाटभटेनीले जनाएको छ । यसका साथै भाटभटेनीमा काम गर्ने हजारौंको रोजगारी समेत जोखिममा परेको छ । अर्बौंको क्षति भएको आकलन गरिएको भाटभटेनीमा अहिले क्षतिको विवरण संकलन भइरहेको छ । 

नेपालका अर्बपति तथा सांसद विनोद चौधरीको घर र व्यवसायमा आगजनी तथा तोडफोड भएको छ । काठमाडौंको सतुंगतस्थित चौधरी ग्रुपको ‘सीजी इलेक्ट्रोनिक्स डिजिटल पार्क’ पूर्ण ध्वस्त बनेको छ । जहाँ  सिजी, एलजीलगायत ब्रान्डका सामान उत्पादन हुँदै आएको थियो । 

यसका साथै सीजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरूममा समेत आगजनी गरिएको छ । थापाथलीमै रहेको टाटा मोटर्स, सुजुकी र हुण्डाईको शोरुममा समेत तोडफोड र आगजनी गरिएको छ । जहाँ अर्बौंको क्षति भएको आकलन गरिएको छ । यद्यपि आधिकारिक रिपोर्ट आइसकेको छैन ।

काठमाडौंको लैनचौरस्थित अर्बौंको लगानी रहेको टेलिकम कम्पनी एनसेलको मुख्य कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । 

अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ । सीतापाइलास्थित गोल्छाको घर तोडफोड तथा आगजनीमा परेको हो । 

अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

अटो व्यवसायी तथा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको घर र गाडीको शेरूममा आगजनी तथा तोडफोड भएको छ । पोखरामा रहेको थापाको घरमा आगजनी गर्दा घर पूर्ण रूपमा नष्ट भएको छ । यसका साथै उनको गाडीको शेरुममा पनि आगजनी र तोडफोड भएको छ। 

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क, तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्स र विभिन्न स्थानमा रहेका ठूला व्यापारिक संरचनामा आगजनी र लुटपाटका घटना भएका छन् । जहाँ अर्बौंको क्षति भएको आकलन गरिएको छ । 

जेनजी आन्दोलनले नेपालको अर्थतन्त्रलाई दशक पछाडि धकेलेको अर्थशास्त्री डा. जितेन्द्र उपाध्याय बताउँछन् । अपेक्षित सुधार नभएपनि उठ्न खोजिरहेको अर्थतन्त्रलाई दशकौं पछाडि धकेल्ने काम भएको उनको विश्लेषण छ । 

‘आन्दोलनबाट भएको क्षतिले नेपालको निजी क्षेत्रलाई १० वर्षपछि धकेलेको छ । अर्थतन्त्रमा व्यापक सुधार नभएको होला तर, सुस्ताएको अर्थतन्त्र अलिक चलायमान र उठ्न खोजिरहेको थियो । त्यसैमा यो आन्दोलनले पुन: उठ्न नसक्नेगरी दबाइदिएको छ’, डा. उपाध्यायले भने, ‘बाहिर आउन लागेको निजी क्षेत्र पुन: खस्किएको छ । यो भन्दैमा उठ्नै नसक्ने भन्ने होइन । उठ्न सकिन्छ तर समय लाग्छ ।’

वैदेशिक लगानीमा निर्माण भएका उद्योगहरूमा समेत आक्रमण हुँदा नेपालमा लगानी गर्ने वातावरण सुरक्षित नरहेको सन्देश गएको उनको भनाइ छ ।

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति 

आन्दोलनले देशभरका दुई दर्जन होटलमा करिब २५ अर्ब बढीको क्षति भएको आकलन गरिएको छ । होटल संघ नेपालले झन्डै २ दर्जन होटलमा ठूलो क्षति पुगेको बताएको छ। 

यसका साथै यी होटलबाट करिब दुई हजारभन्दा बढी कामदार, कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको जनाएको छ । संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड चेनमा खुलेका होटलमा तोडफोड, आगजनी, लुटपाटबाट करिब २५ अर्ब बढीको क्षति भएको संकलित प्रारम्भिक अनुमान गरिएको छ । 

होटलहरूले बेहोर्नुपर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा बुझाउन असमर्थ रहने देखिएको समेत संघको भनाइ छ । 

अझै उठ्ने व्यवसायीहरूको आशा 

उद्योगी तथा व्यवसायीका घर र व्यवसाय आगजनी, तोडफोड तथा लुटपाट भए पनि निजी क्षेत्र पुन: उठ्ने व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन् । आन्दोलनबाट प्रभावित भएका व्यवसायीहरूले थप सशक्त भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् । 

व्यवसायी मीनबहादुर गुरुङले देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याएको भाटभटेनी सुपर मार्केटले पुन: उठ्ने विश्वास व्यक्त गरेको छ । भाटभटेनी सुपरमार्केटले सामाजिक सञ्जालमार्फत् दु:खद् क्षणबाट गुज्रिए पनि अझै आशा नहराएको उल्लेख गरेको छ । विभिन्न ब्रान्चहरू ध्वस्त भए पनि सबैको साथले अझ माथि उठ्ने भाटभटेनीले जनाएको छ । 

‘दु:खद् क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं’, भाटभटेनीले भनेको छ । 

व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भए पनि निराश वा विचलित नभएको बताएका छन् । गोल्छाले अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।

‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, गोल्छाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

अटोमोबाइल्स क्षेत्रका व्यवसायी तथा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको घर र गाडीको शोरूममा ध्वस्त हुँदा पनि पहिलेभन्दा अझै सशक्त भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उद्यमशीलतालाई ध्वस्त पार्ने गतिविधिले देशलाई फाइदा नगर्ने उनको टिप्पणी छ ।

salt training

कमेन्ट गर्नुहोस्