
२७ वर्षअघिको तीज (ऋषि पञ्चमी) चितवनका प्रदीप खनालको जीवनमा कालो दिन बन्यो । झण्डै तीन दशकअघि राप्ती नगरपालिका–२ का प्रदीपको घरमा आमा ऋषि पञ्चमीको पूजाआजा गर्दै थिइन् । घरदेखि केही पर लाखे नाच प्रदर्शन हुँदै थियो । रमाइलो हेर्न प्रदीप घरबाट निस्किए । तर, त्यहाँ नपुग्दै उनलाई ट्रकले ठक्कर दियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल पुर्याइए पनि आठ वर्षकै कलिलो उमेरमा देब्रे खुट्टाको घुँडामुनिको भाग सधैंका लागि गुमाउनुपर्यो ।
तर, मृत्युको मुखमा पुगेर पनि उनले नयाँ जीवन पाए । त्यो क्षण प्रदीपलाई अलिअलि सम्झना छ । उपचारपछि घर फर्किँदा पनि खुट्टा गुमाएका उनलाई अब हिँड्न सक्दिनँ भन्ने लागेको थिएन । तर, उनले सोचे झैँ भएन ।
तर, अहिले सामान्य प्रकारको कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन् र उनी कुनै क्षेत्रमा कमजोर छैनन् । आफू मात्रै होइन, उनले अपाङ्गता भएका धेरै नेपालीको जीवन सुन्दर बनाउने हौसला प्रदान गरिरहेका छन् ।
अहिले प्रदीप सफल व्यवसायीदेखि अपाङ्गता क्षेत्रमा साहस प्रदान गर्ने प्रतिकको रूपमा स्थापित छन् । सामाजिक ‘प्लेटफर्म’ ‘टिकटक’मा उनी जीम गएर गरेको कठोर व्यायाम र संघर्ष खुब रूचाइएको छ । क्रिकेट खेल्ने, दौडिने, ‘जीम’ गएर ‘पुसअप’ हान्ने र ट्रेकिङ गर्नेदेखि केही काममा पनि उनको कृत्रिम खुट्टा बाधक बनेको छैन ।
अपाङ्गता भएका हरेक व्यक्तिले ‘फिजिकल एक्टिभिटी’ गर्न सक्दिनँ भनेर आफ्नो आवाज नदबाउन सबैलाई खनाल आग्रह गरिरहेका छन् । ‘संसारमा सबैभन्दा बलवान त समय रहेछ । अनि त्यो समयसँग चल्न सक्ने तत्व भनेको आँट रहेछ, आफ्नो वास्तविकता स्वीकार गर्नु पनि अर्को साहस रहेछ,’ उनी भन्छन्, ‘दुर्घटनापछि मैले मेरो वास्तविकता स्वीकारेँ । अनि अगाडि बढ्ने निधो गरेर यो अवस्थासम्म आइपुगेको छु ।’
जस्तोसुकै व्यक्तिमा पनि आत्मबल भए सफल हुन गाह्रो नहुने उनी बताउँछन् ।
विगत दश वर्षदेखि काठमाडौंको तार्केश्वर नगरपालिका–२ मा बस्दै आएका उनले विभिन्न ‘विजनेश’समेत सञ्चालन गरी दुई दर्जनभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।
‘संसारमा सबैभन्दा बलवान त समय रहेछ । अनि त्यो समयसँग चल्न सक्ने तत्व भनेको आँट रहेछ, आफ्नो वास्तविकता स्वीकार गर्नु पनि अर्को साहस रहेछ’ उनी भन्छन् ।
शुरूमा उनको अवस्था देख्ने जोकोहीले तैले सक्दैनस् कि भन्ने प्रश्नले उनलाई घोचिरहन्थ्यो। त्यसपछि उनले जीवनमा छुट्टै पहिचान बनाएरै छाड्छु भन्ने प्रण गरे र अहिले सक्षम छन् । ‘अहिलेसम्म मलाई कसैले केही कुरामा रोक्न पनि सकेको छैन,’ उनी भन्छन्, ‘म केही कुरामा रोकिएको पनि छैन । दुर्घटनापछि लाइफका हरेक च्यालेञ्ज सामना गर्दै अगाडि बढेर यहाँसम्म आइपुगेको छु ।’
केही वर्ष बैसाखी र त्यसपछि कृत्रिम खुट्टा राखेर विद्यालय गएका प्रदीपले चितवनबाटै, विद्यालय तह, प्रवीणता प्रमाणपत्र तह (आईए) र स्नातक तह (ब्याचलर)को पढाइ पूरा गरेका थिए । अहिले काठमाडौंबाट ट्राभल्स एजेन्सीसहित तीन वटा ‘विजनेश’ सञ्चालन गरिरहेका छन् ।

आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरूको आत्मबल बढाउन आफूले सामाजिक ‘प्लेटफर्म टिकटक’ भिडियोहरू पोष्ट गर्ने गरेको उनी सुनाउँछन् । प्रेरणादायी ‘कन्टेन्ट’ बनाउने उनले कहिल्यै पनि चर्चित हुनेबारे सोचेनन् । उनका पोष्टमा लाखौं भ्यूज र हजारौं लाइक-कमेन्ट आउँछ । भिडियो हेरेपछि आफूलाई दैनिक ५० भन्दा बढी म्यासेजसमेत आउने गरेको उनी बताउँछन् । आफ्नो भिडियो हेरेर कसैले साहस बढेको बताउँदा उनलाई झनै आनन्द र खुसी लाग्छ ।
फेसबुक र टिकटकमा आउने सबैजसो म्यासेजको रेस्पोन्स गर्ने गरेको उनी सुनाउँछन् । ‘मैले कुनै स्टन्टबाजीको लागि भिडियो बनाएर पोष्ट गर्ने गरेको होइन, आफूजस्तै अपाङ्गता भएका व्यक्तिको दुखाइ र पीडा कम होस् र हौसला प्रदान होस् भनेर बनाउने गर्छु । यसलाई धेरै क्षेत्रबाट प्रशंसा पनि पाएको छु । यसैमा खुसी लाग्छ,’ उनी भन्छन् ।
संघर्षको दौरानमा नयाँ–नयाँ समस्याको सामना गर्नै पर्ने र हरेक समस्याबाट सिकेर आफूलाई थप मजबुत बनाउनुको विकल्प नभएको उनी बताउँछन् । ‘जीवनले हरेक मानिसको परीक्षा लिइरहन्छ । समय–समयमा बाधा अड्चन आइरहन्छन् । संघर्षको दौरानमा नयाँ–नयाँ समस्याको सामना गर्नै पर्छ,’ उनी भन्छन्, ‘त्यसबाट सिकेर आफूलाई थप मजबुत बनाउनुको विकल्प छैन । जीवनमा हार कहिल्यै मानिनँ । म त, मृत्युलाई जितेर आएको हो । जति दु:ख पीडा भोग्नुपर्ने भोगिसकें । अहिले मलाई सानोतिनो कुराले दु:खी बनाउँदैन ।’
साधारण किसिमको कृत्रिम खुट्टा छिटो–छिटो परिवर्तन गरिरहनुपर्छ । बिस्तारै राम्रो खुट्टा हाल्न पाए हुन्थ्यो भन्ने लाग्छ । अहिले ‘रोबर्ट फिट’ भएका महंगा कृत्रिम अंगहरू विश्वबजारमा आइरहेका छन् । तर, उनलाई ठूलो रकम खर्च गरेर खुट्टा हाल्न पनि खासै चासो छैन ।
प्रदीपको संघर्ष र सफलतालाई परिवार र सबैले साथ र हौसला प्रदान गर्दै आइरहेका छन् । विद्यालय तहको अध्ययन गर्दा क्रिकेट खेलेर उनले विभिन्न उपाधिसमेत जितेको प्रमाणपत्र अहिले पनि उनीसँग सुरक्षित रहेका छन् । ‘परिस्थितिलाई आफ्नो दासी बनाउनुहोस्, तपाईं दासी बन्नुभयो भने संसारले कुल्चेर अघि बढ्नेछ । तपाईं परिस्थितिलाई जितेर अगाडि बढ्नुभयो भने, संसारको हर तागत तपाईंअघि आएर झुक्नेछ,’ उनी भन्छन्, ‘अनि तपाईंलाई सलाम ठोक्नेछ । अप्सन तपाईंकै हातमा हुन्छ । गो फर द्याट्स् ।’
अपाङ्गता बन्नु अन्त्य होइन । त्यहीँ अवस्थामा पुन: उठेर गन्तव्यतर्फ लम्किने हिम्मत हुनुपर्छ । संघर्ष गर्न छोडिएन भने जीवनमा जतिसुकै अवरोध आए पनि पार लाउन सकिन्छ । यस्तै–यस्तै सन्देश र प्रेरणा दिने अभिनयसहित उनले भिडियो पोष्ट गर्ने गरेका छन् ।
अपाङ्गताको क्षेत्रका पनि आवाजहरू उठाउँदै आएका प्रदीपले धेरैलाई स्वावलम्बी समेत बनाएका छन् । अपाङ्गता भएकालाई अवसर दिइए हरेक क्षेत्रमा काम गर्न सक्ने र उनीहरूको जीवनस्तर सहज बन्ने उनको भनाइ छ । ‘उनीहरूलाई विचरा र सक्दैन कि भन्ने दयाको भावना देखाउनुभन्दा हरेक तहमा अवसर दिनुपर्छ । यसो गरेमा अपाङ्गता भएकाले राज्यको माथिल्लो पदमा पुग्न सक्छन्, सम्मानको अनुभूति गर्न सक्छन्,’ प्रदीप भन्छन् ।