
गत भदौ २४ गते दिउँसो विराटनगरको आकाश धुवाँको कालो मुस्लोले ढाकिएको थियो । २३ गते भएको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आन्दोलनरत पक्ष तत्कालीन सरकारसँग आक्रोशित थियो । भदौ २४ गते बिहानैबाट गाउँदेखि शहरसम्म आन्दोलन हुन थाल्यो । त्यसको असर काठमाडौंको सिंहदरबारदेखि गाउँका सिंहदरबारसम्म नै पर्यो । आन्दोलनले एकै छिनमा उगरूप लियो ।
जेनजी आन्दोलनको नाममा सडकमा उत्रिएको अराजक भीड सरकारी कार्यालयहरूमा आगो झोस्दै अघि बढिरहेको थियो । कोशीको प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासनदेखि मुख्यमन्त्री तथा मन्त्रालयमा तोडफोड र आगजनी गरिएको थियो । विराटनगरको उच्च अदालतदेखि जिल्ला अदालतमा समेत आगो लगाइसकिएको थियो ।
जिन्दावाद र मुर्दावादको नारा लगाउँदै एउटा ठूलो हुल विराटनगर–७ स्थित ऐतिहासिक वीरेन्द्र सभागृहतिर सोझियो । जिल्ला प्रशासन कार्यालयमा आगो लगाएर त्यो हुल सभागृहतिर गएको थियो । विराटनगर महानगरपालिकाले करोडौं रुपैया खर्च गरेर सभागृह चिटिक्क बनाएको थियो ।
सभा गृहको मुख्य गेटको ताला फोडेर आन्दोलनकारी भित्र पस्दा उनीहरूको उद्देश्य स्पष्ट थियो— अरू संरचनाजस्तै सभागृहलाई पनि खरानी बनाउने । तर, त्यो अराजक भीड र ऐतिहासिक सम्पदाको बीचमा काँधमा नेपालको झण्डा बोकेका एक २३ वर्षीय युवक अनमोल लिम्बू उभिए । उनले त्यो उत्तेजित भिडको अगाडि चट्टानी अडान राखे र त्यसलाई जोगाए । भीड ठूलो भए पनि त्यसलाई जोगाउन उनले हिम्मत देखाए ।
विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल सोमबारदेखि नै आन्दोलनमा सक्रिय थिए । पहिलो दिन शान्तिपूर्ण रहेको प्रदर्शनमा मंगलबार अराजक समूह मिसिएपछि हिंसात्मक बन्यो । अनमोलका अनुसार, उनी र उनका साथीहरू तेजनारायण चौधरी र राहुल भिडभाडमा के भइरहेको छ भनेर हेर्दै हिँडिरहेका थिए । उनीहरू पुग्नुअघि नै अधिकांश सरकारी कार्यालय जलिसकेका थिए ।
‘हामी खासमा सबैतिर आगो लागेको छ भनेर हेर्दै गएका थियौँ,’ अनमोलले भने, ‘सीडीओ कार्यालय पनि जलिसकेपछि हामी शहीद मैदानअगाडि थियौँ । त्यतिबेलै सीडीओ कार्यालय जलाउने समूह वीरेन्द्र सभागृहतिर लागेको देखियो ।’
खन्ती र फरुवा बोकेको भिडले सभागृहको ताला फोड्न थाल्यो । त्यो देखेर सभागृह अगाडि पसल गर्ने एक स्थानीय महिला ‘बाबु हो, यो त जोगाइदिनुपर्यो’ भन्दै हारगुहार गरेकी थिइन् । तर, ती महिलाको कुरा उनीहरू सुन्ने पक्षमा थिएनन् । त्यही क्षण अनमोल र उनका साथीहरूले सभागृहलाई जसरी पनि बचाउने अठोट लिए ।
हातमा खन्ती र फरुवा बोकेको भिडको अगाडि उभिनु चानचुने कुरा थिएन । अनमोलसँग भने कुनै हातहतियार पनि थिएन । उनीहरू देशमा भइरहेको भ्रष्टारको विरोधमा मात्रै उत्रिएका थिए ।
पसिनाले निथ्रुक्क भिजेको अनुहार र काँधमा नेपालको झण्डा बोकेर अनमोलले भिडलाई सम्झाउन थाले । ‘यो हाम्रै सम्पत्ति हो । हामीलाई नै चाहिन्छ । केही पनि गर्न हुँदैन । दाइ, यस्तो केही नगर्नु न ! यो जेनजीको आन्दोलन हो, यसमा केही नगरिदिनु भनेर उनले सम्झाए । उनले सम्झाएको भिडियो सामाजिक सञ्जलामा भाइरल छ ।
उनको आग्रहपछि पनि भीड रोकिएन, अनमोलले पनि हार मानेनन् । उनले तत्कालै परिस्थितिलाई मत्थर पार्न सम्झाए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोडिसके । अब यस्ता काम छाडौँ ।’ लामो समयको अनुनय–विनयपछि अन्तत: उनको प्रयास सफल भयो । आगजनी र तोडफोडको तयारीसहित गएको समूह गेटको ताला फुटाउने तथा केही सामान्य लुटपाटबाहेक ठूलो क्षति नपुर्याई बाहिरियो । ‘हामीले बचाउन सफल भयौँ, यति राम्रो ठाउँलाई,’ सभागृह जोगिएपछि उनले राहतको सास फेर्दै भने ।
अनमोलका लागि वीरेन्द्र सभागृह एउटा भवन मात्र थिएन, उनको बाल्यकालको स्मृति पनि थियो । ‘वीरेन्द्र सभागृहसँग भावनात्मक सम्बन्ध छ । स्कुल पढ्दा त्यहाँ कार्यक्रम गरेका थियौँ । बर्सेनि नयाँ वर्षको कार्यक्रममा पनि त्यहीँ गइन्थ्यो,’ उनी भन्छन्, ‘त्यो सम्झनाले पनि जोगाउन बल मिल्यो ।’
सरकारी भवन तथा निजी सम्पत्ति जलाउने जेनजीको कुनै एजेन्डा नभएको, तर बाहिरी समूहले आन्दोलनलाई हिंसात्मक बनाएको उनको भनाइ छ । जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्ल्यू तेस्रो सेमेस्टरमा अध्ययनरत अनमोलले राज्यको सम्पत्ति जोगाउन पाउँदा सन्तोष मिलेको बताए ।
तर, घटनापछि उनी रातभर सुत्न सकेनन् । ‘रातभर मनमा चिन्ता भयो, के भयो होला भनेर निदाउनै सकिनँ,’ उनले सुनाए, ‘भोलिपल्ट बिहानै दौडेर सभागृह पुगेँ जस्ताको तस्तै देख्दा ढुक्क भएँ ।’
विसं २०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव हो, हालै करिब २३ करोड रुपैयाँ खर्चेर महानगरपालिकाले यसलाई ‘रेट्रोफिटिङ’ गरी पुन: प्रयोगमा ल्याएको थियो । यस्तो ऐतिहासिक धरोहरलाई अराजक भिडले क्षणभरमै खरानी बनाउन खोज्दा अनमोलको साहसले जोगाइदिएको छ ।
सामाजिक सञ्जालमा उनले सभागृह जोगाउँदाको भिडियो राखेपछि त्यो भाइरल भयो र उनको चौतर्फी प्रशंसा भइरहेको छ । धेरैले उनलाई ‘सच्चा जेनजी’ र ‘वीर युवक’ भन्दै सम्मान व्यक्त गरेका छन् ।
आन्दोलनको नाममा भएको विध्वंसबीच एक युवाले देखाएको रचनात्मक र साहसिक कदमले समाजमा आशाको किरण छरेको छ । अनमोल लिम्बूको यो योगदानलाई विराटनगरका स्थानीयले ‘साँच्चिकै वीरताको परिचय’ भनेर प्रशंसा गर्ने गरेका छन् ।