२९ जेठ २०८३, शुक्रबार

नेपाल टेलिकमले ल्यायो दशैं-तिहार-छठ अफर, यस्ता छन् विशेषता

असोज ६, २०८२
काठमाडौं
नेपाल टेलिकमले ल्यायो दशैं-तिहार-छठ अफर, यस्ता छन् विशेषता

नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा दशैं-तिहार-छठ अफर २०८२ सार्वजनिक गरेको छ ।​ ​

एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू यही असोज ६ गतेदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।

जसअन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क ५०० रुपैयाँ मिनाहा गरिएको छ ।

यसैगरी दशैं-तिहार-छठ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​​​

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन एफयूपीमा तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

साथै २५० रुपैयाँमा  १००० मिनेट अलनेट भ्वाइस सुविधासहितको जोयफूल मिनेट र ९९ रुपैयाँमा १००० अननेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि असोज २० गतेसम्म र कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ ।

आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा 'नेपाल टेलिकम एप' प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

विभिन्न पर्वका अवसरमा उपलब्ध गराइने यस प्रकारका अफरले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरूको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको छ ।

कमेन्ट गर्नुहोस्