
जेनजी आन्दोलनका क्रममा मोरङमा भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२५ जनाको पहिचान गरेको छ ।
यद्यपि, उनीहरूलाई कुन मुद्दा लगाउने भन्नेमा प्रहरी अन्योलमा परेको एक अधिकारीले बताएका छन् । सरकारको निर्णयको पर्खाइमा रहेकोले हालसम्म कुनै कारबाही अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा मोरङमा ठूलो भौतिक क्षति भएको छ । प्राप्त विवरण अनुसार, जिल्लाका १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ ।
जसमा संघीय सरकारका २१, प्रदेश सरकारका १४ र स्थानीय तहका १० वटा कार्यालय रहेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, जिल्ला अदालत र विभिन्न मन्त्रालयका भवनमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए ।
विशेषगरी मोरङ जिल्ला अदालतमा रहेका करिब १ लाख ४५ हजार मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । उच्च अदालत, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभा जस्ता भवनमा पनि क्षति पुगेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व सम्हाल्न आएका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जिल्लाको शान्ति सुरक्षा सुदृढ पार्दै प्रहरीको खस्किएको मनोबललाई उच्च बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले कानूनको प्रभावकारी कार्यान्वयन र नागरिकमैत्री प्रहरी सेवामार्फत् ‘सुरक्षित मोरङ’को अवधारणालाई साकार पार्ने एसपी कटवालले प्रतिबद्धता व्यक्त गरे ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिइएको बताउँदै एसपी कटवालले दोषीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्रता दिइएको जानकारी दिए ।
उनले भने, ‘जो कोहीसँग ती घटनाका फोटो वा भिडियोहरू छन् भने हामीलाई उपलब्ध गराइदिनुहुन हामीले अनुरोध गरेका थियौं । सोहीअनुरूप हामीले थुप्रै महत्त्वपूर्ण भिडियो र तस्वीर प्राप्त गरेका छौं, जसको प्राविधिक विश्लेषण तीव्र गतिमा भइरहेको छ ।’
आन्दोलनका क्रममा प्रहरीका गाडी तोडफोड भएको, आगजनी भएको, प्रहरीको युनिफर्म जलाइएको र केही स्थानमा हातहतियारसमेत लुटिएको स्मरण गर्दै एसपी कटवालले यस्ता घटनाले मैदानमा खटिने प्रहरी कर्मचारीको मनोबलमा असर पारेको स्वीकार गरेका छन् ।
उनले भने, ‘यी सबै चुनौतीहरूबाट हामी उठ्नुपर्छ । हामी नागरिकको सेवा र सुरक्षाका लागि राज्यले दिएको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध छौं ।’
सीमा क्षेत्रमा हुने तस्करीदेखि सहरमा हुने जुवातास र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न निर्मम रूपमा प्रस्तुत हुने एसपी कटवालको भनाइ छ ।