
‘सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म जलाउँदा सुरक्षाकर्मी के हेरेर बसे ? धन्न त्यस दिन ज्यानचाहिँ जोगियो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भदौ २४ गतेको घटना सम्झिँदै भने, ‘यति सजिलै प्रदर्शनकारीहरू कुन सामर्थ्यका आधारमा प्रमुख प्रशासनिक केन्द्रमा छिरेर आगो झोसे ? त्यो इतिहासले बताउला ।’
गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा पहिलाको मन्त्रालयको भवन सबै जलाइएपछि अहिले परराष्ट्र मन्त्रालयको एउटा भवनमा गृह मन्त्रालय सरेको छ ।
त्यही भवनमा गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका हुन् ।
बुधबार लोकान्तरकर्मी मन्त्रालय पुग्दा गृहमन्त्री र गृहसचिव बाहेक अरू कर्मचारी (सहसचिवदेखि शाखा अधिकृतसम्म)को ढोकामा 'नेम प्लेट' टाँसिएको थिएन ।
सहसचिवलाई बस्ने कुर्सी, टेबल र एक सेट सोफा दिइएको छ । कर्मचारीहरूमा त्यति हार्दिकता देखिएन । नागरिकको शान्ति सुरक्षा र अमनचयनको मुख्य जिम्मेवारी पाएको गृह मन्त्रालयका कर्मचारीहरू आफैं निराश देखिए ।

‘हाम्रो त सबै जलाइदिए । खरानी बनाइदिए । अहिले कुर्सी र टेबुल दिएका छन् । कसरी काम गर्ने हो, धेरै अलमलमा छौं,’ गृह मन्त्रालयका एक सहसचिवले निराश हुँदै लोकान्तरसँग भने, ‘पुराना गोप्य र ऐतिहासिक सम्झौताका कागजात पनि जलेका छन् ।’
उनका अनुसार कर्मचारीमा निराशा छ । गृहमन्त्री अर्यालले प्रथम चरणमा उपल्लो तहका कर्मचारीसँग परिचयात्मक कार्यक्रम राखे पनि काम तोकेर विशेष निर्देशन अहिलेसम्म केही दिएका छैनन् ।
बुधबार कर्मचारीहरू सेतो बोरामा सामान ल्याउँदै तह लगाउनमा व्यस्त देखिन्थे । एकजना कार्यालय सहयोगीले भनिन्, ‘चिया पकाउने भाँडा, आगो बाल्ने ग्यास र चुल्हो समेत खरानी बनाएछन्, कोही पाहुना आउँदा चिया पिलाउने व्यवस्था पनि राम्रोसँग गर्न सकिएको छैन ।’
उनका अनुसार भदौ २४ मा प्रदर्शनकारी मन्त्रालय छिरेर ‘गोली चलाउन आदेश दिने गृहमन्त्री खै ? त्यसलाई बाहिर निकाल, जलाउनुपर्छ,’ भन्दै आक्रोशित बनेका थिए ।
‘म महिला भएकाले पनि प्रदर्शनकारीहरूले केही गरेनन् कि जस्तो लाग्छ । मन्त्रालयको प्रांगणमा राखिएका गाडीमा आगो झोस्न थालेपछि म त मुख छोपेर भागें,’ उनी भन्छिन्, ‘त्यो दिन जेनजीबाट यस्तो कार्य भएको होला भन्ने मलाई लागेन ।’
पुराना फाइल मात्रै होइन, डायरी समेत प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले खरिद गरेर बाँडिरहेको छ । आन्तरिक व्यवस्थापन महाशाखाका एक शाखा अधिकृतले लोकान्तरसँग भने, ‘केही बाँकी छैन । चम्चादेखि दराजसम्म नयाँ खरिद गर्नुपरेको छ । माग र आवश्यकताअनुसार खरिद गरेर दिँदै आएका छौं ।’
उनका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकसँग आक्रोशित बनेका प्रदर्शनकारीले गृह मन्त्रालयलाई नै बढी टार्गेट गरेर क्षति पुर्याएको देखिन्छ ।
परिवर्तन ल्याउने नाममा संरचना जलाएर झन् खर्च बढाउने काम गरेको उनी बताउँछन् ।
मन्त्रालयका केही कर्मचारी भने सरुवा, बढुवा र नियुक्तिमा विगतमा हाकाहाकी पैसाको बार्गेनिङ हुँदै आएकोमा अब कम हुनेमा आशावादी देखिन्थे ।

विगतमा प्रहरी नेतृत्वले ऐन र नियमावलीअनुसार चल्दा पनि अड्को थाप्ने प्रवृत्ति अब रोकिनेमा कर्मचारीहरू आशावादी देखिए ।
‘विगतमा भन्ने बेला तपाईंहरू आफ्नो जिम्मेवारी पूरा गर्न स्वतन्त्र हुनुहुन्छ भनेर बाहिर भन्दै आए पनि मन्त्री र सचिवले कुनै पनि निर्णय आफूहरूलाई जानकारी नदिई नगर्नू भन्ने आदेश दिन्थे,’ मन्त्रालयका एक सहसचिवले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘छानीछानी सीडीओ पठाउँथे, जिल्लामा सीडीओ पठाउन सचिव र मन्त्रीको हानथाप हुन्थ्यो, अब रोकिएला कि !’
मन्त्रालयले व्यवस्थापकीय पाटोलाई विस्तारै सुदृढ बनाउँदै गएको सहायक प्रवक्ता समेत रहेका उपसचिव रविन्द्र आचार्यले बताए ।
‘तपाईंले हेर्नुभयो होला, पुरानो भवनको केही बाँकी छैन । अहिले अर्को भवनमा सरेर आवश्यक सामग्री ल्याउँदै काम चलाइरहेका छौं,’ आचार्यले लोकान्तरसँग भने, ‘मन्त्रालयबाट हुने काममा कुनै व्यवधान छैन । हामी फूल स्पीरिटमै चलिरहेका छौं ।’
