२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा पुस्तान्तरणको बहस

शेखर–गगन संवाद : गुनासोबाट शुरू भएर आशंकामा टुंगियो !

असोज ९, २०८२
काठमाडौं
शेखर–गगन संवाद : गुनासोबाट शुरू भएर आशंकामा टुंगियो !

१४ औं महाधिवेशनमा एउटै टीममा रहे पनि लामो समयदेखि टाढिएका कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच बुधबार लामो संवाद भयो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिमा २ नेताले आपसमा कुराकानी गरेका हुन् । महाराजगञ्जमा भएको भेटमा अब कसरी अगाडि बढ्ने भन्ने सहितका विषयमा कुराकानी भएको थियो ।

सामयिक राजनीतिबारे खुलेर कुराकानी भए पनि शुरूआत भने शेखरले गुनासोबाट गरेका थिए । एउटै टीमबाट लडे पनि किन लामो संवाद हुन सकेन भन्ने उनको गुनासो थियो ।

‘यस्तो गम्भीर अवस्था आइसक्यो । अब अरू विकल्प नै छैन, हामी सँगै जानुपर्छ । हामीले नियमित रूपमा महाधिवेशन गर्ने वा विशेष महाधिवेशनमा जानेभन्दा अरू विकल्प छैन । दाइ पनि यो लाइनमा आउनुपर्‍यो,’ गगनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभापतिले नमाने पनि अब विशेष महाधिवेशनमा जानुपर्छ । संघर्ष गर्नुपर्छ भन्ने उहाँको कुरा थियो ।’

गगनले अब सभापतिसँग केही पनि आश नगरी अगाडि बढ्नुपर्ने अडानकै अपेक्षा शेखरबाट खोजेका थिए । शेखरले सभापति शेरबहादुर देउवालाई चिढ्याउने भन्दा उनलाई ‘कन्भिन्स’ गरेर जानुपर्ने बताए ।

‘शेरबहादुरजीलाई समेत कन्भिन्स गरी केन्द्रीय समितिबाट निर्णय गराएर महाधिवेशनमा जानुपर्छ भन्ने शेखर दाइको कुरा छ,’ स्रोतले भन्यो, ‘लामो समयपछि भएको भेट सकारात्मक नै भएको छ । दुवैले अब पनि देउवाको नेतृत्वमा चुनावमा जाने हो भने पार्टीलाई गाह्रो पर्छ भन्ने साझा धारणा बनाउनुभएको छ ।’

null

तर, जेनजीको आन्दोलनपछि महामन्त्रीद्वयले निरन्तर गर्दै आएको महाधिवेशनको बहस र पुस्तान्तरणको दबाबसँग शेखर केही झस्किएका छन् ।  

‘विशेष महाधिवेशनको माग गगन र विश्वले गरे । यसैले माहोल उनीहरूको लाइनमा देखियो । मसँग सल्लाह गरेर यी कुरा अगाडि बढाएको भए हुन्थ्यो भन्ने आशय शेखर दाइको रहेको बुझेका छौं,’ स्रोतले भन्यो, ‘जेनजीको माग पहिलो र दोस्रो पुस्ताका नेताको बहिर्गमन पनि भएकाले पार्टीमा गगन र विश्व (विश्वप्रकाश शर्मा)का मुद्दामा जाँदा आफूलाई पनि गाह्रो हुने बुझाइ उहाँको रहेको पाएका छौं ।’

गगनले खुलेरै अब पनि लोकतन्त्रको रक्षाका निम्ति पुस्तान्तरण नगर्ने हो भने कांग्रेसलाई कठिन पर्ने बताएका थिए । ‘हामी लोकतन्त्र भन्छौं, तर हामीलाई यसपटक जेनजीले दिएको सन्देश धेरै ठूलो छ । अब जे भए पनि लड्न छाड्न हुँदैन । म त जसरी पनि लड्ने हो । यो भनेको कुनै पदका लागि मरिहत्ते गरेको भन्ने होइन,’ थापाले शेखरसँग भनेका छन्, ‘हिजो हामी एकै ठाउँमा थियौं । एउटै मुद्दा भएकाले अब दाइले सहयोग गर्नुपर्छ ।’

गगन पक्षले शेखरले आफूहरूसँग कुराकानी गर्ने र उता देउवासँग पनि संवादलाई निरन्तरता दिने दोहोरो भूमिका खेलेको आशंका गरेको छ ।

‘आफू र गगन एकै ठाउँमा उभिँदा देउवा टीमको जो आए पनि हराउन कठिन नभएको बुझाइ शेखरको नभएको होइन । तर, सँगै हुँदा गगनले अब नेतृत्वमा दाबी छाड्दैनन् भन्ने पनि उहाँले बुझाइ देखिन्छ,’ स्रोत भन्छ, ‘यसैले गगन र विश्व बलियो हुँदा म पछाडि पर्छु भन्ने उहाँलाई लागेको छ । सोहीकारण उहाँले दुवैतिर संवाद गर्न खोजेपछि गगन पक्ष झस्किएको छ ।’

‘गगन र विश्व सभापतिप्रति आक्रामक हुँदा सभापतिसँग नरम बन्दाको फाइदा आफूलाई हुन्छ कि भन्नेमा शेखर दाइ देखिनुभएको छ । एक नेता भन्छन्, ‘देउवा यति रणनीतिक छन् कि गगन र विश्वले अति नै गरे भनेर शेखरलाई अब तिमी अघि बढ भन्दिन पनि सक्छन् । शेखरले देउवाबाट यही अपेक्षा गरेर पनि केही नरम अभिव्यक्ति दिएको र नेताहरू परिचालन गरेको आशंका हामीलाई छ ।’

२४ भदौमा आन्दोलनकारीबाट अपमानितरूपमा लखेटिँदा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका थिए ।

लामो समय उपचार गराएका देउवा अझै सार्वजनिक भएका छैनन् । जेनजीको आन्दोलनपछि गगन र विश्वले प्रस्ट मत राख्दै अब देउवाबाट पार्टी नचल्ने संकेत गरिसकेका छन् ।

१२ टाँका लगाएका देउवा नफर्किँदै गगन र विश्वले सभापतिमाथि मनोवैज्ञानिक दबाब बढाइसकेका छन् । सभापतिको स्वास्थ्यप्रति दुवै महामन्त्रीले संवेदनशील बन्दै अपडेट लिने र स्वास्थ्यलाभको कामना नगरेका होइनन्, तर जेनजीको आन्दोलनपछिको राजनीतिक संकटका सामु अब नलत्रिने संकल्प गरेका छन् ।

गगनले त खुलेरै मनाउने, फकाउने नभए अघि बढ्ने पटक–पटक बताइसकेका छन् ।

‘हामी सभापतिसँग सोधेर अनि सल्लाह गरेर नै अगाडि बढ्न चाहन्छौं । उहाँलाई मनाउने हो, फकाउने हो । मान्नुभएन भने अगाडि बढ्ने हो । त्योभन्दा अर्को बाटो छैन,’ भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘पुनर्गठनका लागि जस्तोसुकै कदम चाल्न तयार छु । पार्टीको भुइँमा बस्न तयार छु । नौजवानले आगो बालेको परिवर्तनका लागि हो । अब पुरानै ढर्रा र पाराले अनाहकमा ज्यान गुमाएकाप्रति न्याय हुँदैन ।’

थापा र शर्माको पटक–पटकको यो उद्घोषको राजनीतिक फाइदा लिने दाउ पनि शेखरले हेरेको नेताहरू बताउँछन् । ‘गगन र विश्व सभापतिप्रति आक्रामक हुँदा सभापतिसँग नरम बन्दाको फाइदा आफूलाई हुन्छ कि भन्नेमा शेखर दाइ देखिनुभएको छ । एक नेता भन्छन्, ‘देउवा यति रणनीतिक छन् कि गगन र विश्वले अति नै गरे भनेर शेखरलाई अब तिमी अघि बढ भन्दिन पनि सक्छन् । शेखरले देउवाबाट यही अपेक्षा गरेर पनि केही नरम अभिव्यक्ति दिएको र नेताहरू परिचालन गरेको आशंका हामीलाई छ ।’

कांग्रेस नेता गुरु घिमिरे जेनजीको आन्दोलनपछि अशक्त नेतृत्व लिएर पार्टी काममा फर्किन सक्ने अवस्था नभएकाले विशेष महाधिवेशन आवश्यक भएको बताउँछन् ।

‘चार वर्ष पुग्न लाग्यो । तर, जेनजीको आन्दोलनपछि पनि अहिलेकै अशक्त नेतृत्व लिएर पार्टी काममा फर्किन सक्ने स्थिति छैन । सभापति नै घाइते भएपछि हामी कसरी अगाडि बढ्न सक्छौं ? विवादास्पद नेतृत्वलाई लिएर अब फर्केर फेरि कांग्रेस सम्हाल्ने अवस्था छैन,’ घिमिरे भन्छन्, ‘एउटा थला पर्दा अर्कोले चलाउन नसक्ने भन्ने हुँदैन । यो कम्युनिस्ट जस्तो पार्टी होइन । यसैले केन्द्रीय समितिले मात्रै छलफल गरेर हुँदैन । नेतृत्व पनि बनाउने, आन्तरिक छलफल गर्ने, विधानमा आवश्यक संशोधन गर्ने भनेर विशेष महाधिवेशनको व्यवस्था हामीले गरेका छौं । यसको विकल्प छैन ।’

नेतृत्वमा पुग्ने आकांक्षा सबैको हुने भन्दै एक अर्काप्रति आशंका नगरी जनताबीच उभिन सक्ने पार्टी बनाउनुपर्ने उनी बताउँछन् ।

‘अहिले त सबै पार्टीका नेतामाथि प्रश्न उठेको छ । नेतृत्व र भ्रष्टाचारमा जति प्रश्न छन्, तिनीहरूको निरुपण गर्नुपर्छ । पार्टीलाई सर्भिसिङ गर्नुपर्छ । एक अर्काप्रति शंका–आशंका गर्ने समय होइन । जनताको बीचमा उभिने पार्टी बनाउने बेला हो । पार्टीको अनुहारमा लागेको दागलाई कसरी मेटाउने भन्नेमा नेताहरू लाग्नुपर्छ । अन्यथा परम्परागत पार्टीहरू सुध्रिँदैनन् भन्ने भाष्य बन्ने छ ।’

शेखरले देउवालाई ‘ब्यालेन्स’मा राख्न खोजे पनि उनका लागि डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठदेखि विजयकुमार गच्छदारसम्म चुनौती बन्न सक्छन्, किनकि शेखरले भन्दा अगाडि नै यी नेताले युवा नेतालाई रोक्न सबै विकल्पमा जाने निर्णय लिएका छन् ।

सभापति घाइते भएको मानवीय संवेदनालाई ख्याल नगरी महामन्त्रीहरू बोलेको भन्दै उनीहरूले देउवालाई हामी छौं भनिसकेका छन् । आरजुले समेत विशेष महाधिवेशन हुँदैन, तपाईंहरू नै हो भनेको नेताहरू बताउँछन् ।

अर्कोतिर, उपसभापति पूर्णबहादुर खड्काले अप्ठ्यारो स्थिति भए पनि केन्द्रीय समितिबाट आवश्यक निर्णय लिने बताउँदै आएका छन् । भावना र उत्तेजनामा नआई व्यावहारिक निर्णय गरेर जानुपर्ने उनको भनाइ छ ।

‘हामीले उत्तेजना ल्याउने कुरा गर्नुहुँदैन, संयमता र धैर्यता अपनाउन जरुरी छ । संविधान बनाउने दलका नेताको जिम्मेवारी छ । हामीले भड्किने कुरा गर्न हुँदैन,’ खड्काले सुर्खेत पुगेर बिहीबार भने, ‘ध्वंश गर्ने तत्त्व र षड्यन्त्रकारी पत्ता लगाउन राजनीतिक दल एक भएर लाग्नुपर्छ । कुन डिजाइनले भयो ? पत्ता लगाउने जिम्मा नेपाली कांग्रेस र जेनजीको सही नेतृत्वले लिनुपर्छ ।’

सरकार चलाउँदा कहाँ कमजोरी भए भन्नेबारे कांग्रेसले बैठकमै समीक्षा गर्ने उनले बताए । ‘अहिले पार्टी सभापति घाइते हुनुभएकाले संयोजनको जिम्मा मैले पाएको छु । अरू नेताले जस्तै बोल्ने छुट छैन,’ उनले भनेका छन्, ‘मेरो व्यक्तिगत विचार केन्द्रीय समिति बैठकमा राख्छु ।’

गगन र विश्वले विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि गुरुराज घिमिरे, देवराज चालिसेसहितका नेताहरूले गगन–विश्वकै लाइनमा हस्ताक्षर अभियान चलाएका छन् ।

अनामनगरस्थित कार्यालयबाट नेताहरू घिमिरे, चालिसे लगायतले विशेष महाधिवेशन लगायतका हस्ताक्षर अभियान थालेका थिए, जसमा १०९ जना बढीले गरेको हस्ताक्षर सार्वजनिक गरिएको थियो । गगन र विश्वको समेत समर्थन गरेको अभियान शुरूआतमा जस्तो निरन्तर अगाडि बढेन ।

विशेष महाधिवेशनका लागि आधार तयार हुँदै गए पनि नेता शेखर कोइरालाले दोहोरो चरित्र देखाएको आरोप गगन–विश्व पक्षले लगाएको छ ।

अनामनगरबाट हस्ताक्षर अभियान चलाउने तर, मुख्य सम्पर्क कार्यालय विशालनगरबाट शेखर पक्षले सभापति शेरबहादुर देउवासँग ‘म तपाईंसँगै छु, तपाईंले भनेअनुसार नै गर्छु,’ भन्ने आश्वासन दिएको दाबी स्रोतको छ ।

शेखरले विशेष महाधिवेशनको अभियान पनि आफू नभई गगन र विश्वको पोल्टामा हालिदिएको गगन पक्षको दाबी छ । तर, हस्ताक्षर अभियानमा खुल्ने नेतामा शेखर पक्षका बढी छन् । केही शेखर पक्षकै नेताहरू गगनको पक्षमा खुलेर लागेका छन् । जेनजीको आन्दोलनपछि शेखर पक्षकै नेताहरू अब गगनलाई नेता मानेर जानुपर्ने गरी खुलेका हुन् । कतिपयलाई शेखरले इंगेज गरिरहेका छन् ।

null

सहजै छाड्न तयार छैनन् देउवा

शेखर, गगन र देउवा पक्षकै केही नेताले अगाडि बढाएको हस्ताक्षर अभियान सुस्त भएको छ । यही बेला बुधबार देउवानिकट (सुदूरपश्चिमका) २३ नेताले विशेष महाधिवेशनले पार्टीलाई झन् संकटमा धकेल्ने भन्दै विज्ञप्ति जारी गरे । जेनजीको आन्दोलनपछि पार्टीबाट हठात् हटाइएको सन्देश नजाओस् भन्नेमा देउवा सचेत रहेको उनीनिकट स्रोत बताउँछ ।

मंसिरमा चार वर्षे कार्यकाल सकिएपछि एक वर्ष थप गर्ने तयारीमा देउवा छन् । अब आफू सभापतिमा उठ्न नमिल्ने भन्दै एक वर्ष थप्ने र आफू अनुकूलको नेतृत्व ल्याउने इच्छा देउवाको देखिन्छ ।

गगन थापा पार्टी असामान्य परिस्थितिमा रहेकाले जेनजीको मागअनुरूप नेतृत्व बदल्न लागिपर्ने रणनीतिमा छन् । त्यसमा उनको तर्क छ– ‘अहिले १४औं महाधिवेशनपछिको चार वर्षे कार्यकाल सकिन लागेको छ । र, त्यसले छ महिना/एक वर्षको म्याद थपेर नियमित महाधिवेशन गर्ने तयारी थियो । तर, फागुनमा आमनिर्वाचन घोषणा भइसकेको र परिवर्तित सन्दर्भमा सहज निकासका लागि विशेष महाधिवेशन डाकेर महाधिवेशन प्रतिनिधिको बीचबाट छलफल गरेर पार्टीले नयाँ बाटो तय गर्नुपर्छ भन्ने उनको मत छ ।

गगन थापा पार्टी असामान्य परिस्थितिमा रहेकाले जेनजीको मागअनुरूप नेतृत्व बदल्न लागिपर्ने रणनीतिमा छन् ।

यदि उनले देउवाको नेतृत्व बदल्ने मात्रै रणनीति भएको भए उनले २५ प्रतिशत हस्ताक्षर संकलन गरेर सोझै पार्टी सभापतिलाई अविश्वास प्रस्ताव राख्ने बाटो रोज्न सक्थे । तर, पार्टीभित्र वृहत्तर छलफल होस्, कार्यकर्ता पंक्तिबाटै निकासको नयाँ प्रस्ताव आओस् भनेर विशेष महाधिवेशनका लागि आह्वान गरेको निकटस्थहरू बताउँछन् ।

देउवा खेमाले सुदूरपश्चिमबाट विशेष महाधिवेशनले पार्टी फुटाउने, प्रतिगामी हुने भन्दै हस्ताक्षर अभियान नै चलाएको छ । त्यही भएर विशेष महाधिवेशनप्रति नकारात्मक प्रचार समेत शुरू भएको देखिन्छ । विशेष महाधिवेशनबाट छलफल गरौं, आवश्यक परे नयाँ नेतृत्व पनि चयन गरौं भन्ने उनको मत छ । त्यसका लागि उनी आफू नेतृत्व त्याग्न समेत तयार छन् ।

विशेष महाधिवेशनको समय एक वर्ष मात्रै हो । यसले केन्द्रमा सभापति मात्र चयन गर्नेछ । कांग्रेस २००७ सालको क्रान्तिका बेला मातृकाप्रसाद कोइरालालाई डिक्टेटर करार गरेर क्रान्तिमा होमिएको थियो । अहिले पनि नेपाली कांग्रेसको अस्तित्वमा संकट आएकाले कांग्रेसले विशेष निर्णय गर्नुपर्ने तर्क कतिपयले गरिरहेका छन् ।

विशेष महाधिवेशनको विरोध गरेर नियमित महाधिवेशन पनि रोक्न खोजिएको गगन पक्षको आशंका छ ।

‘कांग्रेसको नियमित महाधिवेशनको गतिविधि रोक्ने भ्रातृ संस्थाहरूलाई बन्धक बनाएर राख्ने कुरा जस्तो होइन । पार्टीको मूल नेतृत्व जेनजीको आह्वान मुताबिक उनीहरूको बलिदानी संगत रूपमा बदलिएको छ भन्ने सन्देश दिएर आम निर्वाचनमा जानु नेपाली कांग्रेसको दायित्व हुन आएको छ,’ गगन निकटका एक नेता भन्छन्, ‘तर, गगनसँग वार्ता गरेको जस्तो गर्ने उतातिर देउवालाई रिझाएर जेन्जीको आन्दोलनको स्पिरिट अन्देखा गर्दै देउवाको आशीर्वाद लिन खोजेको जस्तो देखिएको छ ।’

विशालनगर र अनामनगरको सम्पर्क कार्यालयबाट दोहोरो चरित्र देखाउने गरी नेताहरू लागेको ती नेता बताउँछन् । विशालनगर कार्यालयबाट सिन्धुपाल्चोकका पूर्व पार्टी सभापति भूपेन्द्र थापाले पार्टी सभापतिहरूलाई फोन गरेर हस्ताक्षर अभियानमा सहभागी नहुन भनिरहेको दाबी गगन पक्षको छ । तर, अनामनगर कार्यालयबाट गुरुराज घिमिरेहरू हस्ताक्षर संकलनलाई  अगाडि बढाउने तयारीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्