
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटी विघटन गर्दै विशेष महाधिवेशन होमिने निर्णय गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा २ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कमिटी विघटन गर्दै महाधिवेशन आयोजक कमिटीमा बदल्ने निर्णय गरेको छ । ‘केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा बदल्ने र पहिलेका पदाधिकारी सबै सो कमिटीको सदस्यका रूपमा रहने निर्णय भएको छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीहरूसँग भने ।
महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ आयोजक कमिटीको संयोजक रहने र अरू सबै पदाधिकारी सदस्यका रूपमा मात्र रहने निर्णय भएको उनले बताए । दैनन्दिन कामका लागि पहिलेका पदाधिकारीहरूलाई समेटेर एउटा सचिवालय बनाउने निर्णय पनि भएको उनले जानकारी दिए ।
बैठकले पार्टीका नेताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा अरू पार्टीभन्दा छिट्टै बहस र सुधारको थालनी गरेको माओवादी छलफलका क्रममा भने प्रचण्डकै वरिपरि केन्द्रित भएको थियो ।
प्रवक्ता सापकोटाले सबै समूहका अधिकांशले अध्यक्षको प्रस्तावमा समर्थन गरेको बताए । तर, पनि सम्पत्ति सार्वजनिक गर्ने र महाधिवेशनमा होमिने निर्णय गरेर माओवादीले परम्परागत दलमाथि उठेको प्रश्नमा आफू सिरियस रहेको सन्देश दिन सफल भएको छ ।
एमाले र कांग्रेसमा जेनजीको आन्दोलनपछि समीक्षा बैठक समेत राख्ने तयारी नहुँदा प्रचण्डले सघन छलफलको ‘फ्लोर’ ओपन गरेका छन् ।

विशेष महाधिवेशनमा होमिने निर्णय गराए पनि प्रचण्डले आफू नेतृत्वमा नदोहोरिने वाचा भने गरेका छैनन् । बरु घुमाउरो पाराले माओवादीमा अझै आफू जिम्मेवारीबाट मुक्त हुने दिन आइनसकेको बताएका छन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधीनताका निम्ति, देश र जनताका निम्ति, विचार–विममर्श र संघर्षका निम्ति मेरो सान्दर्भिकता अझै सकिएको छैन भन्ने आशय अध्यक्षको छ,’ माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘लामो कालखण्डको नेतृत्वबाट हठात हट्ने, जिम्मेवारीबाट अलग हुने र पलायन हुने कुरा आफ्नो शब्दकोषमै नरहेको सन्देश उहाँले प्रवाह गर्नुभएको छ ।’
फेरि अर्कातिर, नेतृत्व परिवर्तनका लागि दबाब दिन खोज्नेहरूको अपेक्षालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरूलाई मिल्ने भाषा बोलेका छन् ।
‘हामीले एउटा निश्चित विधि बनाएर प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ र यसका निम्ति तयारीमा लाग्नुपर्छ भन्नेमा छौं भनेर प्रचण्डले आश्वस्त पार्न खोज्नुभएको छ,’ माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘फेरि म अध्यक्ष हुँदा मात्रै नेतृत्व हुने, अध्यक्ष नभएपछि नेतृत्व नहुने हुँदैन भनेर पछिसम्म प्रभाव पार्ने संकेत पनि गर्नुभएको छ ।’
यसअघिदेखि नेतृत्वमाथि प्रश्न उठाउँदै आएका उपमहासचिव जनार्दन शर्माका अलावा यसपटक वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताले प्रचण्डमाथि दबाब बढाएका छन् । तर, उनले छाड्न हुँदैन भन्ने युवा र पुराना नेता दुवैको बाहुल्यता देखिएको छ ।
जनार्दनले खुलेरै एकाध व्यक्तिको हातमा वर्षौंसम्म नेतृत्व रहेपछि जेनजीको नाममा आक्रोश विस्फोट भएको टिप्पणी गरेका छन् ।
‘जेनजी विद्रोहले उठाएका दुई प्रमुख एजेन्डाहरू छन्, जसले सिंगो देश, समाज र विश्वको ध्यानाकर्षण गरेको छ । यो बैठकमा हामीले पनि ती मुख्य दुई एजेन्डाभन्दा बाहिरका विषयहरूमा मात्र छलफल गर्नुको कुनै अर्थ छैन,’ शर्माले आफ्नो प्रस्तावमा भनेका छन्, ‘जेनजी विद्रोहबाट अझ मुखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादकै कारणले देश अघि बढ्न नसकेको भन्ने एउटा निष्कर्ष हो भने दोस्रो विषय, राजनीति दशकौंसम्म निश्चित व्यक्तिको हातमा रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो ।’

अब विधि बनाएर २० औं र ३० औं वर्षदेखि नेतृत्व गरेकाहरू बिदा हुनुपर्ने उनको मत छ
‘हाम्रो पार्टीको महाधिवेशनको घोषणा गर्ने प्रक्रियासँगै अध्यक्ष प्रचण्ड लगायत २०औं, ३०औं वर्षदेखि एउटै पदमा रहँदै आएका हामी सबै पदाधिकारीले एकसाथ राजीनामा दिऔं र आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यसै बैठकबाट गरौं,’ उनले भनेका थिए, ‘पार्टीको सैद्धान्तिक, राजनीतिक एवं वैचारिक पृष्ठपोषणका लागि नयाँ पुस्तालाई सहयोग गर्ने प्रतिबद्धतासहित हालका अध्यक्ष तथा सबै पदाधिकारीहरूको एक ‘निर्देशक कमिटी’का रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्ने अन्तरिम विधान बनाएर अगाडि बढौं ।’
यसअघि औपचारिक फोरममा अध्यक्ष प्रचण्डको बचाउ गर्दै आएका नारायणकाजी श्रेष्ठले यसपटक बोली फेरेका छन् ।
यसअघि जस्तो प्रचण्डको बचाउमा नलागी श्रेष्ठले पार्टीका सबै कमिटी भंग गरेर महाधिवेशनमा जानुपर्ने माग गरेका थिए । ‘अब हामीलाई परम्परागत ढर्रा र ढंगले चल्ने छुट छैन । कार्यवाहक अध्यक्ष तोकेर विशेष महाधिवेशनमा जानुपर्छ,’ श्रेष्ठले भनेका थिए, ‘यसरी अगाडि बढ्दा पार्टीका सबै कमिटी भंग गरेर जाँदा हामीले सन्देश राम्रो दिन सक्छौं ।’
श्रेष्ठले एमसीसी अनुमोदन गर्नु, रवि लामिछानेलाई गृहमन्त्री बनाउनु, कांग्रेससँग समीकरण तोडेर एमालेसँग मिल्नु, भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग गलत सम्झौता गर्नुलाई पार्टीको कमजोरीको रूपमा अर्थ्याएका छन् ।
यसपटक पार्टीलाई सुधार्ने गरी प्रारम्भिक बहस चलाएको माओवादीमा प्रचण्डको विकल्प छैन भन्नेहरू हावी भएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा २ दिनसम्म चलेको बैठकमा प्रचण्डको विपक्षमा थोरै मत मात्रै देखिएको छ ।
प्रचण्डको पक्षमा वर्षमान पुन, नन्दबहादुर पुनसहितका नेताहरू खुलेर उभिएका छन् । प्रचण्डविना माओवादीको परिकल्पना गर्नै नसकिने उनीहरूको भनाइ छ ।
उपाध्यक्ष नन्दबहादुर पुनले त प्रचण्डको विकल्प प्रचण्डभन्दा अरू नभएको प्रस्टै बताए । देश अप्ठ्यारो अवस्थामा रहेकाले प्रचण्डको विकल्प सोच्न नहुने उनको भनाइ छ ।
प्रचण्डका विश्वासपात्र नेता वर्षमान पुनको भनाइ पनि नन्दबहादुरको भन्दा अलग छैन ।
‘अध्यक्षले क्रमभंग गर्छु । शुरूआत हामी पदाधिकारीबाटै गरौं भनिसक्नुभयो । तर, कतै हामी पदाधिकारीले नै लोभ गरिरहेका होइनौं ?’ पुनले प्रश्न उठाउँदै भने, ‘तयार छौं भने बीचमै आन्दोलन छाडेर हिँड्ने कि विधिमा प्रवेश गर्ने ? राजनीति, विचार र नेतृत्वमा क्रमभंग हुनुपर्छ भनेर अध्यक्षले गरेको प्रस्ताव ठीक छ । महाधिवेशनबाट बहस गरेर निष्कर्ष निकाल्नुपर्छ ।’
प्रचण्डनिकटका अर्का नेता हरिबोल गजुरेलले सडकबाट उठेको आवाजका आधारमा नेतृत्वमाथि प्रश्न उठाउने कुरा अनुचित भएको बताए ।
‘सडकबाट उठेको मागले सरकार मात्रै परिवर्तन हुने हो, पार्टी नेतृत्व परिवर्तन हुँदैन,’ गजुरेलले भने, ‘विधि, बहस र छलफलबाट महाधिवेशनको फोरममा नेतृत्वबारे निर्णय लिने हो । यद्यपि, हामी विचार र कार्यदिशामा प्रस्ट हुनुपर्छ ।’
१० वटा समूहले नेतृत्व सच्चिने भन्दा प्रचण्ड मात्रै नभएर पार्टी नै सच्चिुपर्नेमा जोड दिएका छन् । पार्टीका सबै कमिटी भंग गरेर विशेष महाधिवेशनमा जानुपर्ने र यसैले पार्टीका चुनौतीलाई चिर्ने उनीहरूको भनाइ थियो ।
प्रचण्डकै पक्षमा माहोल देखिएपछि विशेष महाधिवेशनका लागि अरु नेताको नेतृत्वमा आयोजक कमिटी बनाउने विकल्प माओवादीमा बलियो देखिएन । सोही कारण प्रचण्डकै संयोजकत्वमा महाधिवेशनमा होमिने निर्णय भएको नेताहरू बताउँछन् ।