२९ जेठ २०८३, शुक्रबार

पाँच वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार

असोज १६, २०८२
रूपन्देही
पाँच वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँच वर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । 

आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । 

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/०७८ मा एक लाख ५३ हजार ५३३, २०७८/०७९ मा दुई लाख ८२ हजार २३७, २०७९/०८० मा तीन लाख २८ हजार ८४०, २०८०/०८१ मा तीन लाख २९ हजार ५११ र २०८१/०८२ मा तीन लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । 

अस्पतालको तथ्यांक अनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।     
     
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ७६१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए । 

यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सहव्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् ।

सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटी रोग (ईएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् ।

२०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।  

यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्