०१ असार २०८३, सोमबार
हराउँदै पहिचान बोकेका बाली

खेतमा आयातित बीउको बिगबिगी, हराउँदै रैथाने जातका धान

असोज १८, २०८२
बुटवल
खेतमा आयातित बीउको बिगबिगी, हराउँदै रैथाने जातका धान

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ कानपाराका किसान राजाराम यादवको खेतमा डेढ दशक अघिसम्म मनसरा, वर्यनी, बास्मती, गौरियालगायत जातका धान फल्थे । बाली भित्र्याउने बेला खेतमा मगमग बास्ना आउने कालानमक, अनदी, वर्यनी जस्ता धान अब उनको सम्झनामा मात्रै छन् । ५७ वर्षीय यादवले आफ्नो सात विघा खेतमा अहिले उन्नत र वणशंकर (हाइब्रिड) लगाउँदै आएका छन् ।

धेरै फल्ने बीउ भित्रिएपछि यादव जस्ता रूपन्देहीका प्राय: कृषकले स्वादिष्ट, बास्नादार र पौष्टिक तत्व बढी हुने रैथाने जातका धान खेती गर्न छोडेका छन् । ‘आफूलाई खान मात्र चाहिने बेलासम्म पुराना जात धान लगाउथ्यौं,’ यादव भन्छन्, ‘अहिले हाम्रोबाट रैथाने जात हराइसके । कतै औषधिको लागि चाहियोभन्दा समेत पाइने अवस्था छैन, कालानमक लुम्बिनी क्षेत्रबाट गुमनाम हुने अवस्थामा पुग्दैछ ।’

विसं २०५०/०५५ सम्म लुम्बिनी आसपासका मर्चवार, छपियालगायत ठाउँमा अनदी, वर्यनी, कालानमक, गौरिया, आपसुक्ते, रातो अनदी, थापाचिनी, स्यामजिरा धानका बालाले बहेली हाल्थे । सन् २०२३ अर्थात् १९ वैशाख २०८० मा कम्बोडियामा आयोजित अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले कालानमक धानको चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार दिएका थिए ।

बौद्धमार्गी राष्ट्रमा पवित्र अन्नका रूपमा लिइने बुद्धकालीन रैथाने कालानमक प्रजातिको धान अब लुम्बिनी क्षेत्रमा पाउनै मुस्किल हुन थालेको छ ।

झापा, मोरङ र कैलालीपछि धान उत्पादनमा चौथोमा पर्ने रुपन्देही अहिले उन्नत जातका हर्दिनाथ–६, साँवा मन्सुली, राम धान, राधा–४ र सावित्री बढी प्रयोगमा छन् । यससँगै सरकारले सूचीकृत गरेका हाइब्रिड जातका युएस–३१२, युएस–३२३, एमपी–३०, एराइज–६४४४, अराइवर्ग लगायतका धानका जात पनि उस्तै बोलवाला देखिन्छ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–६ रामगञ्जका ६५ वर्षीया किसान डुनराज शर्माले लगाउने थापाचिनी र स्यामजिरा जातका धान अहिले हराइसके । केही वर्षसम्म बीउसमेत बिक्री गर्ने उनी अहिले आफ्नो ४ बिघा खेतमा बीउ किनेर लगाउने गर्छन् । ‘हरेक दुई/तीन वर्षमा नयाँ–नयाँ बीउ रोपेर धेरै फल्ने बिउ लगाउँदा रैथाने पुराना प्रजातिको बीउसमेत मासिए,’ शर्मा भन्छन्, ‘पुराना जातभन्दा अहिले आएका बीउबाट तेब्बरभन्दा बढी फल्छ । स्थानीय जातका धान लगाउनेलाई सरकारी तर्फबाट कुनै प्रोत्साहन नभएपछि उत्पादन बढाउन हामीजस्ता सबै किसान धेरै फलाउनतर्फ लागियो ।’

कसरी हराउने अवस्थामा पुगे रैथाने धान ?

विसं २०५० को दशकपछि किसानलाई उन्नत जातका बीउ नि:शुल्क वितरण गर्ने लहर चल्यो । विभिन्न गैर सरकारी संस्था (आइएनजीओ)मार्फत् पाएको बीउ लगाउन थालेर उत्पादनसमेत बढ्दा किसान खुसी हुन थाले । अनि किसान त्यसैतर्फ ढल्के ।

धेरै फलाउने लोभमा स्वादिष्ठ र पोषण गुण बढी भएका रैथाने बाली लगाउन छाड्ने प्रवृत्ति देखिँदै गयो । बजार मूल्य र माग अनुसारको उत्पादन हुने, कम समयमा उत्पादन हुने, कृषि प्रविधि र रोग प्रतिरोधी किटनाशक औषधिको अनूकूलताले गर्दा किसानहरू रैथाने बाली छाड्दै गए । रैथाने बाली लगाउन छाड्दा बीउमा परनिर्भरता, जैविक विविधताको ह्रास, पोषणयुक्त खाद्यान्नको नाश हुँदै गएको पूराना किसान बताउँछन् । मसिनो, बास्नादार र स्वादिलो हुने जातका धान र चामल उपभोक्तामाझ अहिले पनि लोकप्रिय छन् ।

अहिले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का राधेश्याम पाठकले ३ कठ्ठामा मात्र कालनामक धान लगाउछन् । लुम्बिनीका पुराना जमिनदारसमेत रहेका पाठकले ५० को दशकसम्म दुुई विघा क्षेत्रफलमा लगाउने कालनामक अहिले थोरै जग्गामा खुम्चिएको बताए ।

उनका अनु्सार नयाँ–नयाँ बीउ र जातका बाली लगाउने लहड, कम जमिनमा पनि धेरै उत्पादन दिने लोभ, परिवर्तित खानपिन, संस्कार र बढ्दो यान्त्रिकरणको प्रयोगसँगै कृषकले परम्परागत बालीलाई चासो दिन छाडेका हुन् ।

null

बढ्दो जनसंख्या, घट्दो पशुपालन, खडेरी वृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातको धानखेतीमा लागेका छन । रूपन्देहीमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन छ । एक दशक अघिसम्म ६९ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले घटेर ६३ हजारमा झरेको छ ।

के हो रैथाने ? कति फल्छ अहिले ?

लगातार एकै ठाउँमा ३० वर्षभन्दा बढी कुनै बाली लगाइँदै आइएको छ भने त्यस्तो बालीलाई रैथाने भनेर परिभाषित गरिएको छ । धान खेती हुने क्षेत्रमध्ये रैथाने जात लगाउने क्षेत्रफल ५ प्रतिशत भन्दा पनि तल रहेको कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । अर्याल भन्छन्, ‘रैथाने जात हराइसके, उन्नत र हाइब्रिडमध्ये ६० प्रतिशतमा हामी परनिर्भर छौं । पुग/नपुग हामी कहाँ ४० प्रतिशत ‘सिड’ उत्पादन भइरहेको छ ।’ यस्ता धानका बीउबाट उत्पादन बढी हुने र छिटो फल्ने गर्छ ।

रूपन्देहीमा ७५ प्रतिशत उन्नत जातका धान खेती गरिन्छ । रैथाने जातको धान प्रति हेक्टर ३ मेट्रिक टनसम्म फल्छ भने, उन्नत जाँत ५ मेट्रिक टन र ‘हाइब्रिड’ ७ मेन्ट्रिक टनसम्म उत्पादन दिने गर्छ । ४० प्रतिशत मात्र सिचाइँ हुने रूपन्देहीमा अहिले राम्रो उत्पादन हुने वर्षमा ४ लाख २० हजार मेट्रिक टनसम्म धान फल्ने गर्छ । कूल गार्हस्थ उत्पादनमा मुख्य खाद्य बाली धानले महत्वपूर्ण प्रभाव पार्छ ।

null

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय बीउ विजन प्रयोगशाला, भैरहवाका प्रमुख तथा वरिष्ठ बाली विकास अधिकृत दीपक सापकोटा आधुनिकीकरणसँगै मानिसमा देखिएको परिवर्तित खाद्य संस्कारले रैथाने बाली जोगाउन मुस्किल हुने अवस्थामा आइपुगेको बताउँछन् । ‘रैथाने बालीको सही उत्पादन र बजारीकरण गर्न सके खाद्य संकट आउँदैन,’ सापकोटा भन्छन्, ‘अहिले यस्ता बाली किसानकै उपेक्षामा पर्न थालेका छन, २० वर्ष अघिसम्म रूपन्देहीमा आधाभन्दा बढी क्षेत्रमा पुराना जातमा खाद्य बाली लगाइन्थे ।’

उनका अनुसार यस्ता बाली परिवर्तित जलवायुमा पनि उत्पादन दिन सक्ने, खाद्य सुरक्षा, पोषणदेखि स्वस्थ जीवनयापनसम्मको महत्व भएका धान, मकै, गहुँ होस वा तरकारी हराउँदै गएका हुन् । ‘आफ्नो उत्पादनबाट किसानले बिउ राख्न छाडे, अहिले बोरामा ‘प्याक’ भएर आएको मात्र बीउ मान्ने भाष्य स्थापना भइसक्यो,’ अधिकृत सापकोटा थप्छन् ।

विदेशी कम्पनीले पठाएका बीउले एक पटकभन्दा बढी राम्रो उत्पादन नदिने भएपछि हरेक वर्ष किसान बीउ परिवर्तन गरिरहन्छन् । भैरहवाको प्रयोगशालाबाट अहिले जिल्लामा परीक्षणका आधारमा ७२४ मेट्रिक टन बीउ धानको किसानले प्रयोग गर्छन् । रूपन्देहीमा उत्पादित धान जिल्ला पहाडी जिल्ला गुल्मी, पाल्पा बाग्लुङ र म्याग्दीमा निर्यात हुन्छ । रैथाने बालीका उत्पादन बजारसम्म पुर्‍याएर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी सृर्जनाको सम्भावना पनि उत्तिकै छ ।

कृषिलाई सही दिशामा लैजान जरुरी

जस्तोसुकै हावापानी, खडेरी र बढी पानी सहन सक्ने रैथाने बालीको महत्व तीनै तहका सरकारले समाज र किसानलाई बुझाउन जरूरी छ । लोपोन्मुख खाद्य बाली र बीउ जोगाउन राज्यले लगानी गर्नुपर्ने किसान बताउँछन् ।

null

राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक)का प्रमुख डा. बालकृष्ण जोशी नेपालको पछिल्लो ४० वर्षको अध्ययनअनुसार कृषि उल्टो दिशामा हिँडिरहेको बताउँछन् । ‘नेपाल कृषिको जननी हो,’ डा. जोशी भन्छन्, ‘किसानको भान्छामा अहिले ९५ प्रतिशत विदेशी बीउले शासन गरेको देखिन्छ । नेपालका आफ्ना जातलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नुपर्ने बेलामा विदेशीको राज भयो । यसलाई सल्टाउन सकिने अवस्था अझै छ, सबै निकायले कडा निर्णय लिएर हाम्रो उत्पादनमा पौरख गर्ने गरी लाग्ने हो । घाँसको बीउदेखि अनाज सबै हाम्रो सबै गुणयुक्त छन् ।

खाने मुख र बजारको माग बढेपछि धेरै अनाज फलाउनुपर्ने बाध्यताले किसानले विकासे बीउ लगाउने गरेको देखिन्छ । मर्चवार, लुम्बिनी, सम्मरीमाई, रोहणी, शुद्धोधन, सियारी, कञ्चन र देवदह जिल्लाका धान उत्पादनका पकेट मानिन्छन् । बढ्दो तापक्रम र अनियमित वर्षाले पनि रैथाने बालीको उत्पादन पनि घटाउँदो छ ।

null

‘रैथाने बाली पुस्तौ पुस्तादेखि हाम्रो देशको भूगोल, हावापानी र प्रतिकूल अवस्थामा पनि खप्ने क्षमता भएका बाली हुन्,’ कृषिविज्ञ भोजराज सापकोटा भन्छन्, ‘यी बालीमा यस्ता गुण हुन्छन् । हामीलाई खाद्य सुरक्षाको चुनौती भयो । जनसंख्या बढ्दै गयो । जलवायु परिवर्तनले अनियमित वर्षा हुँदा त्यहीँ अनुसार उत्पादन बढाउन उन्नत र वणशंकर जात आएका हुन् ।’

रैथाने बालीका गुण

रैथाने बाली शुद्ध, पोषिलो, स्वस्थ, गुणस्तरीयर वातावरणका लागि पनि उपयोग हुने जीन बैंकका प्रमुख डा. जोशी बताउँछन् । तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख डोमलाल भुसालले रैथाले बाली प्रवर्द्धनको लागि बहस र छलफल भए पनि पालिका तहमा काम नभएको बताए । ‘अहिले त आयातित बालीले ढाक्यो,’ भुसाल भन्छन्, ‘सचेतना भएको छ तर, उत्पादन गर्ने काम भएको छैन । यस्तो बाली दुर्गम क्षेत्रमा हुने भए पनि विकसित ठाउँमा यसलाई लगाई राख्न सामान्य प्रयासबाट सम्भव देखिने अवस्था छैन ।’

लुम्बिनी प्रदेशको सबैभन्दा बढी बसाइँसराइ भएर आउने जिल्ला रुपन्देहीमा अहिले धान खेतमा धमाधम घरहरू निर्माण भइरहेका छन् । जसले खेतीयोग्य जमिनसमेत मासिँदो छ ।

जलवायु परिवर्तनका चुनौती र समाधान

कृषिका लागि जलवायु परिवर्तन चुनौतीपूर्ण बन्दै गएको छ । ‘कहिले सुख्खा हुने, कहिले खडेरी हुने, कहिले बढी पानी पर्दा हाम्रो हावापानीको क्षमता सहन सक्ने रैथाने बाली थिए,’ सापकोटा भन्छन्, ‘उन्नत र हाइब्रिड जातको तुलनामा यस्तो मौसममा हाम्रो जातको बढी उत्पादन हुन्थ्यो । राष्ट्रका सम्पति हुन्,’ उनी थप्छन्, ‘अहिले नेपालमा धेरै अनुसन्धानमा धेरै लगानी गरेर नयाँ जातहरू निकाल्ने, त्यस्ता जीनहरू निकाल्ने क्षमतामा हामी पुगिसकेका छैनौं । हाम्रो नेपालका सबै सहन सक्ने गुण भएकालाई स्वच्छ खाद्य प्रणाली दिने जात संरक्षण गरिनुपर्छ ।’

null

उनका अनुसार यस्ता जातका बीउ संरक्षणमा राज्यले लगानी गर्नुपर्छ । यसका लागि जीन बैंक, सामुदायिक बीउ बैंक छन् तर, प्रयाप्त छैनन् । यस्ता उत्पादनलाई बजारसँग जोडिनुपर्छ । यसको उचित मूल्य दिन सकेमा किसानले लगाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्