
जेनजी आन्दोलनको मुख्य निशानामा परेका नेपाली कांग्रेस र नेकपा एमालेका मूल नेतृत्वमाथि पद छाड्न दबाब परिरहेको छ ।
विध्वंशात्मक आन्दोलनको आँधीबेहरीबीच सत्ता र शक्तिबाट हठात् हट्नु परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई अब पहिलेजस्तो अनेक कार्ड फालेर राजनीतिमा टिक्ने अवस्था देखिएको छैन । पार्टीभित्र र बाहिर मात्रै होइन, नागरिक समाजका अगुवाले समेत प्रमुख पार्टीका नेताले जेनजी आन्दोलनपछिको स्थितिप्रति माफी माग्दै राजीनामा दिन दबाब बढाएका छन् ।
पाँचपटकका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको निशानामा परे । बलियो सुरक्षा व्यवस्थाका बीच पनि अपमानपूर्वक देउवा र उनकी पत्नी आरजुमाथि सांघातिक हमला हुन पुग्यो । घण्टौं लगाएर देउवा दम्पतीलाई उद्धार गरी नेपाली सेनाको निगरानीमा उपचार गरियो । गर्धनमा १२ वटा टाँका लगाएको घाउ पुरिएपछि देउवा पुन: नेताहरूसँग छलफल र संवादमा जुट्न थालेका छन् ।
तर, अब जुनसुकै हालतमा पनि पद छाड्नुपर्ने आन्तरिक एवं बाह्य दबाबको सामना देउवाले गरेका छन् । यसैले आफू निकटस्थसँग देउवाले राजनीतिक उत्तरार्द्धलाई सौहार्द बनाउन सकिने विकल्पको खोजी गर्न लागेका छन् । आफूलाई हटाउने हिसाबले विशेष महाधिवेशन गर्न महाधिवेशन प्रतिनिधिको हस्ताक्षर नै संकलन भएपछि देउवा पछिल्ला दिनमा यस्ता विकल्पको छलफलमा जुटेको नेताहरू बताउँछन् ।
देउवाको एउटै चाहना छैटौंपटक प्रधानमन्त्री बन्ने थियो । तर, जेनजी आन्दोलनको उथलपुथलले राजनीतिक परिदृश्य नै बदलिदियो । अर्कोतिर, कांग्रेसको विधानअनुसार पनि देउवा अब तेस्रोपटक सभापतिमा उम्मेदवार बन्न पाउँदैनन् । ७९ वर्षका देउवालाई उमेरले पनि साथ दिएको छैन ।
देउवासँग निकट रहेका नेताहरूका अनुसार मुख्यगरी उनलाई चारवटा विकल्प सुझाइएको छ ।
नियमित चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ । चार वर्षे कार्यकाल सकिने र विधानले पनि अब सक्रिय हुन नदिने स्थिति छ । यस्तोमा विगतको बदनामीलाई छोप्न पनि खुला आह्वान गर्दै पार्टीलाई पुस्तान्तरणमा लाने घोषणा गर्दै पद छाड्ने एउटा विकल्प छ ।
केही नेताको यस्तो अपेक्षा भए पनि देउवाले यसलाई स्वीकार्ने सम्भावना न्यून रहेको उनी निकटकै एक केन्द्रीय सदस्य बताउँछन् । यद्यपि, पार्टीमा निरन्तर युवा नेताहरूले गरेको माग र जेनजीको आन्दोलनमा सहेको अपमानलाई ‘काउन्टर’ दिन पनि देउवालाई यो विकल्पमा जान सुझाउनेहरू छन् ।
छिट्टै आफ्नै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने विषयलाई दोस्रो विकल्पको रूपमा अगाडि सारिएको छ । विशेष महाधिवेशन फेस गर्नुभन्दा २६ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकबाटै कार्यतालिका ल्याउने र मंसिरभित्रै महाधिवेशन गर्ने प्रतिबद्धता गर्नुपर्ने विकल्प सुझाइएको हो ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिने विषयलाई तेस्रो विकल्पका रूपमा सुझाइएको छ । पार्टीका सबै समिति भंग गरेर कुनै नेताको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठनलाई चौथो विकल्प भनेर देउवालाई सुझाव आएको नेताहरू बताउँछन् ।
कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि पनि अब उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर अगाडि बढ्नु उपयुक्त हुने बताउँछन् ।
‘पछिल्लो घटनाक्रमपछि पार्टीसामु धेरै चुनौती देखिएका छन् । यस्तोमा सभापतिको स्वास्थ्य र उमेरले पनि साथ नदिएको हो भने फरक ढंगले पनि अगाडि बढ्नुपर्छ,’ निधिले लोकान्तरसँग भने, ‘त्यसैले पूर्णजीलाई कार्यवाहक सभापति दिएर अब छिटो पार्टीका गतिविधि अगाडि बढाउनुपर्छ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाले आफू नहुने स्थितिमा पार्टीमा सहमति चाहेको बताउँछन् । ‘उहाँ अब सभापति हुन मिल्दैन । म सभापति हुँदिनँ भनेर नेताहरूलाई फोन गरिरहनुभएको छ,’ विश्वकर्माले भने, ‘तपाईंहरू मिल्नुस्, सहमति गर्नुस् र नेतृत्वका लागि तयार हुनुस् भन्नुभएको छ । यस्तोमा हतार गरेर विशेष महाधिवेशनको माग गर्नै पर्दैन । उहाँले छाड्ने प्रस्ट भइसकेपछि अरू नेताले पनि उहाँलाई अब यो उत्तरार्द्धमा जबर्जस्ती गर्दैनन् भन्नेमा छौं । केन्द्रीय कमिटीले एकमतले निर्णय गर्छ ।’
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल अब प्रधानमन्त्री बन्ने सम्भावना नहुनु र विधान बाधक हुनु देउवाका लागि ग्रेसफूल ‘एक्जिट’को बाटो भएको बताउँछन् ।
‘अब देउवाजीको अर्कोपटक प्रधानमन्त्री हुने सम्भावना रहेन । अर्कोतिर, तेस्रोपटक सभापति लड्न विधानले दिँदैन,’ दाहाल भन्छन्, ‘यस्तो बेला साँच्चै कांग्रेसलाई परिवर्तन गर्ने हो भने खुला घोषणा गरेर छाड्ने, कार्यवाहक सभापति दिने र महाधिवेशन आयोजक समिति बनाएर आफू सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गर्ने कुरा उहाँका निम्ति ग्रेसफूल एक्जिट हुन सक्छ ।’
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पार्टीले नै ठूलो क्षति बेहोरेका बेला सुझबुझपूर्ण निर्णय लिनुपर्ने बताउँछन् ।
‘अहिले पनि सभापतिले राजीनामा दिनुपर्यो । परिवर्तन हुनुपर्यो भन्ने मत छन् । तर, २८ घण्टामा भयानक तुफान कसरी मच्चियो भनेर अनुसन्धान गर्नुपर्ने स्थिति छ । कांग्रेस र एमालेविरुद्ध भएको भयानक विनाशको समीक्षातिर ध्यान कम पुगेको देखिन्छ । देशका बलिया शक्ति कांग्रेस र एमाले हुन् र यिनलाई नसकाएसम्म आफ्नो हित हुँदैन भन्ने पक्षमा पनि छन्,’ दाहालले भने, ‘यस्तो भनेर पार्टीहरू शुद्धीकरणमा जान हुँदैन भन्ने होइन । तर, लामो शृंखला, अनेक मान्छेको योगदान, रगत पसिनाले बनेको पार्टी भएकाले यो बिलाउँदा पनि फुत्त बिलाउँदैन । अप्ठ्यारामा विवेकसम्मत कदम चाल्दा कांग्रेसले फेरि लय समात्न सक्छ ।’

यसअघि हिजोजस्तो बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाको समयमा पनि पार्टीले अप्ठ्यारो झेलेको भन्दै उनी यसपटक पनि समाधान निकाल्नुपर्ने बताउँछन् ।
‘पहिले बीपीले किसुनजीलाई, किसुनजीले गिरिजालाई र गिरिजाले रामचन्द्र पौडेललाई कार्यवाहक दिएर पार्टी चलाएको इतिहास छ । यसपटक पनि गम्भीर समस्या आएकाले नियमानुसार उपसभापतिलाई देउवाले कार्यवाहक दिन सक्छन्,’ दाहालले भने, ‘तर, देउवाले कार्यवाहक दिँदा पनि पार्टीभित्रका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कोर ग्रुपका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइरालाहरू अटाउने गरी स्पेसल टास्क दिएर पार्टीमा सबैलाई न्याय गर्नुपर्छ ।’
प्रवृत्ति र कार्यशैली उस्तै भए एकथान शेरबहादुर हटेर अर्को बहादुर वा प्रसाद आउँदैमा केही फरक नहुने दाहाल बताउँछन् । ‘फेरि पहिले जस्तै भए पार्टी कहाँ पुग्ला ? एकथरिलाई शेरबहादुर हट्दा पहाड पल्टन्छ, जादु हुन्छ भन्ने भ्रम छ । अर्कोथरिलाई अमूकले पार्टी सत्ता लिए जुरुक्क पार्टी माथि उठ्छ भन्ने पनि छ । तर, एउटा पुरानो इतिहास र परम्परा भएको पार्टी जरामै झरेर सम्हाल्नुपर्छ ।’
संविधान उल्लंघन गरेर सरकार बनेको, संसद् विघटन भएकाले चुनावमा सहभागिताको विषयलाई हेर्ने पार्टी दृष्टिकोणमा समेत कांग्रेसले उचित निर्णय लिनुपर्ने उनी बताउँछन् ।
‘सरकार बन्नु र प्रतिनिधिसभा सभा विघटनलाई दलहरूले असंवैधानिक भनेका छन् । पार्टीमा त्यस्तै गरी बिग्रेको र भत्केको छ । त्यसलाई टाल्ने विकल्प पनि हेर्नुपर्छ,’ दाहाल भन्छन्, ‘निर्वाचन आइसक्यो । अस्वीकार गर्ने हो भने यसको राजनीतिक असर के पर्छ ? कांग्रेस र एमाले दुवैले कस्तो धारणा बनाउँछन् ? यी समग्र विषयमा कांग्रेस एकाग्र हुनुपर्छ ।’
कांग्रेस सहमहामन्त्री महेन्द्र यादव पार्टीको सबै शक्ति फागुन २१ गतेको चुनावमा केन्द्रित गर्नुपर्ने बताउँछन् । ‘विशेष महाधिवेशनमा शक्ति खर्च गर्दा पार्टीमा झगडा मात्रै हुन्छ । यसैले फागुन २१ गतेको चुनावमा पार्टीको सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ यादव भन्छन्, ‘सर्वसम्मत उम्मेदवार चयन र टिकट बाँडेर कांग्रेस जित्नुपर्छ । कांग्रेस जितेन भने हाम्रो नेतृत्वमा बनेको संविधान पनि बाँच्दैन ।’
केन्द्रीय समितिको बैठकले एकजुट भएर चुनावमा जाने निर्णय गर्ने दाबी उनले गरे । पार्टीमा एकले अर्कोलाई तल देखाउने परिपाटी अनुचित भएको उनी बताउँछन् ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर कार्यकाल सकिन लागेकाले विशेष महाधिवेशन भन्दा तीन महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धता देउवाका लागि सुखद् बहिर्गमन हुने बताउँछन् ।
‘समय सकिन लाग्दा बोलाइने विशेष महाधिवेशनको प्रक्रिया जटिल हुन सक्छन् । सभापतिले भेरिभाइको बहानामा एक महिना लम्ब्याइदिए के गर्ने ? विधानको व्यवस्था भए पनि विशेष महाधिवेशनको प्रक्रियाबारे व्याख्या केही छैन । यसैको झमेलामा प्रश्न उठ्छ,’ महरले भने, ‘यसैले समय सकिन लागेकाले सभापतिले तीन महिनाभित्रै महाधिवेशन गराउँछु भनेर प्रतिबद्धता जनाउनुभयो भने त्यसले पार्टीमा तनावको स्थिति निम्त्याउँदैन । महाधिवेशनपछि हामी नयाँ नेतृत्वमा चुनावमा जान सक्छौं ।’
अप्ठ्यारो स्थिति भएकाले छिटो नियमित महाधिवेशन, केन्द्रीय समिति भंग र कार्यवाहक दिएर जाने विकल्पका निम्ति पनि सभापति तयार हुनुपर्ने उनी बताउँछन् ।
भिड्ने स्थितिमा यी हुन् अन्य विकल्प
पार्टीभित्रै कतिपय नेताले सभापतिमाथि आक्रमण हुँदा पार्टी नेतृत्वको बचाउमा जानुपर्ने पनि बताइरहेका छन् । नियमित चार वर्षमा महाधिवेशन नहुने भएपछि एक वर्ष थप गर्ने र महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव पनि दिएका छन् । तर, पछिल्लो परिस्थितिपछि यस्तो विकल्पमा जाँदा पार्टीलाई धेरै असर पर्ने चिन्ता पनि छ । फागुनमा चुनाव भए देउवाकै अनुहार लिएर जाँदा पार्टीले ठूलो क्षति बेहोर्ने स्थिति छ । निकटका केही नेताले यो विकल्प सुझाए पनि देउवा टीममा समान मत छैन ।
पार्टीमा अझै पनि देउवाको बलियो पकड रहेकाले विशेष महाधिवेशनका लागि ४० प्रतिशतको हस्ताक्षर नपुग्ने दाबी पनि एक पक्षले गरेको छ । २६ गते बैठक बस्नुपूर्व ४० प्रतिशतको हस्ताक्षर नपुगे शेखर कोइराला र गगन थापा निकटका नेतालाई विश्वासका लिन पनि कतिपयले सुझाएका छन् ।
लामो संवादहीनतापछि शेखर र गगनबीच संवाद हुन थालेको छ । तर, आशंका मेटिइसकेको छैन । यस्तोमा दुवैतिर संवाद गर्ने र एउटा पक्षलाई आफ्नोतिर तान्ने रणनीति पनि देउवालाई सुझाउनेहरू छन् । गगन र विश्वलाई विश्वासमा लिने वा शेखरलाई मपछि तिमी हो भनेर ‘इन्गेज’ गर्ने कार्ड पनि देउवाले फाल्न सक्ने नेताहरू बताउँछन् ।
‘घाइते भएर फर्किएपछि म अझै पनि प्रभाव देखाउँछु भन्ने उहाँलाई कता–कता लागेको छ । पार्टीमा पनि डा. प्रकाशशरण महतसहितका नेताले यस्तै कार्डका लागि प्रेरित गरेका छन्,’ एक नेता भन्छन्, ‘हिजोकै जस्तै सत्ता र शक्तिको कार्ड खेल्दा संगठन र प्रभावको राजनीति तत्काल नियन्त्रण होला । तर, यो प्रभावकारी विकल्प होइन । सभापतिले खुला हृदयले अब छाडें भन्नुभयो भने त्यसले कांग्रेसको हित गर्छ ।’