२४ असार २०८३, बुधबार

प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

असोज २२, २०८२
सर्लाही
प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरी चौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । 

वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार गत शुक्रबार साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७, सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका–५ बस्ने अनिलराय यादवलगायतले कुटपिट गरेका थिए ।  

उक्त घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि कारिल यादव पक्षका वडाध्यक्ष दाससहितका केही व्यक्तिले प्रहरी चौकीमाथि ढुङ्गामुडा तथा बाँसको फराठा प्रहार गरेका हुन् । 

घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

ढुङ्गाले लागेर उनको अगाडिको दुई वटा दाँत भाँच्चिनुका साथै चौकीमा कार्यरत अन्य पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासलाई कुटपिट अङ्भङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको डीएसपी राईले बताए ।

सोही मुद्दामा सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष दासलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ । 

पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्