११ साउन २०८३, सोमबार
आईसीसी टी-२० विश्वकप छनोट

कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

असोज २२, २०८२
काठमाडौं
कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
तस्वीर : क्यान ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बुधबार नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

कुवेतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, अहिले राति २०:४५ बजे शुरू हुनेछ ।

सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि यो अन्तिम चरणको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिता हो । अन्तिम चरणको छनोट प्रतियोगितामा नौ वटा टोली सहभागी छन् । आगामी विश्वकपमा स्थान बनाउन आतुर नौ वटै टोलीका लागि यो अन्तिम खुड्किलो हो ।

यसपटक एसियाली क्षेत्रको विश्वकप छनोटमा केही परिवर्तन गरिएको छ । यसअघि, एसिया र प्रशान्त क्षेत्रको छुट्टाछुट्टै छनोट प्रतियोगिता हुन्थ्यो । तर, यसपटक एसिया र प्रशान्त क्षेत्रलाई गाभेर एउटै बनाइएको छ । त्यसैले यो प्रतियोगिताबाट तीनवटा टोली विश्वकपमा छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त जापान र कुवेत छन् । तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा भने मलेसिया, कतार र यूएई रहेका छन् । समूह ‘सी’ मा आयोजक ओमान, पपुवा न्यूगिनी (पीएनजी) र सामोआ छन् ।​ समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् ।

‘सुपर–६’ चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन् । एउटै समूहबाट आएका दुई टोलीबीच भने ‘सुपर–६’ चरणमा भिडन्त हुनेछैन । त्यसपछि ‘सुपर–६’ चरणको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने तीनवटा टोली सन् २०२६ मा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।

‘सुपर–६’ चरणको अंक तालिकामा चौथोदेखि छैटौं स्थानसम्म आउने टोलीको भने विश्वकप खेल्ने सपना समाप्त हुनेछ । अन्तिम चरणको विश्वकप छनोटमा सहभागी नौ टोलीमध्ये पछिल्लो आईसीसी वरीयतामा यूएई सबैभन्दा अगाडि छ ।

आईसीसी वरीयतामा यूएई १५ औं स्थानमा रहेको छ । नेपाल वरीयताको १८ औं स्थानमा छ । आयोजक ओमान २० औं वरीयतामा छ । पीएनजी २१ औं वरीयता र कुवेत २३ औं वरीयतामा रहेका छन् । मलेसिया २५ औं, कतार ३० औं, जापान ४४ औं र सामोआ ६९औं वरीयतामा छन् ।​

salt training

कमेन्ट गर्नुहोस्