२३ असार २०८३, मंगलबार

आईसीसी महिला विश्वकपमा भारत पराजित

असोज २४, २०८२
काठमाडौं
आईसीसी महिला विश्वकपमा भारत पराजित

भारतले आईसीसी महिला विश्वकप क्रिकेटको लिग चरणमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजय ब्यहोरेको छ। बिहीबार विशाखापट्टनममा सम्पन्न खेलमा रिचा घोषको उत्कृष्ट ९४ रनको इन्निङ्स पनि भारतलाई जित दिलाउन पर्याप्त साबित भएन।

टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। भारतीय टोली निर्धारित ५० ओभर पूरा गर्न नसकी ४९.५ ओभरमा २५१ रनमै अलआउट भयो। भारतका लागि रिचा घोषले ७७ बलमा ९४ रन बनाइन्। उनीबाहेक प्रतिका रावलले ३७ रन र स्नेह राणाले ३३ रनको योगदान दिइन्।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाले ४८.५ ओभरमा सात विकेट गुमाउँदै २५२ रनको लक्ष्य पूरा गर्‍यो। अफ्रिकाका नदीन डी क्लर्कले सर्वाधिक ८४ रन बनाइन् भने कप्तान लौरा वोल्वार्ड्टले ७० रन जोडेकी थिइन्।

भारतका लागि स्नेह राणा र क्रान्ति गौडले दुई-दुई विकेट लिएका थिए। अमनजोत कौर, दीप्ति शर्मा र नल्लपुरेड्डी श्री चरणीले एक–एक विकेट हात पारे।

यो हारसँगै भारतले विश्वकपमा पहिलो पराजय व्यहोरेको छ। यसअघि उसले श्रीलंका र पाकिस्तानलाई पराजित गर्दै लगातार दुई खेलमा जित हासिल गरेको थियो। अंक तालिकामा भारत अहिले तेस्रो स्थानमा रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्