२३ जेठ २०८३, शनिबार
जेनजी आन्दोलन

भागेकामध्ये आधाभन्दा बढी कैदीबन्दी अझै बाहिर, ६४९ विदेशी पनि फर्किएनन् !

असोज २४, २०८२
काठमाडौं
भागेकामध्ये आधाभन्दा बढी कैदीबन्दी अझै बाहिर, ६४९ विदेशी पनि फर्किएनन् !

जेनजीका नाममा भएको भदौ २४ गतेको प्रदर्शनको फाइदा उठाएर भागेकामध्ये आधा कैदीबन्दी पनि फिर्ता नभएको पाइएको छ ।

देशभरका २८ वटा कारागारबाट १३ हजार ५ सय ९४ जना कैदीबन्दी फरार भएकोमा पक्राउ पर्ने र स्वेच्छाले फिर्ता हुनेको संख्या त्यसको आधा पनि नरहेको पाइएको हो । बिहीबारसम्म ५ हजार ८ सय २८ जना मात्रै सम्पर्कमा आएका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार विदेशीमात्रै ७ सय ८३ जना फरार भएका थिए । फरार विदेशीमध्ये १५८ जना मात्रै फिर्ता भएका छन् । बाँकी ६४९ जना अझै सम्पर्कविहीन छन् ।

विभागका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी र पूर्व सचिव टेकनारायण पाण्डे केन्द्रीय कारागारको सम्पर्कमा आएका छन् ।

एउटै प्रकरणमा पुर्पक्षमा रहेका बेचन झा पनि कारागारको सम्पर्कमा आए भने सन्देश शर्मालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो ।

भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ता र ज्यान मार्ने उद्योग मुद्दाका दीपक मनाङे भने जेलबाट भागेनन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षमा डिल्लीबजार कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुरूमै जेलबाट निस्किए पनि चौतर्फी आलोचना भएपछि आफैं सम्पर्कमा आएका थिए ।

७७ वटा कारागारमध्ये २८ वटा कारागारबाट कैदीबन्दी भागेका थिए । ७७ वटै कारागारमा २८ हजार ९०३ जना थिए, जसमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका आठ हजार ३९ जना, लागूऔषध मुद्दाका सात हजार एक सय ३९ जना, कर्तव्य ज्यान/ज्यान मार्ने उद्योग मुद्दाका पाँच हजार तीनसय ८३ जना, चोरी/डाँका/ठगी मुद्दाका तीन हजार ३६ जना अभियुक्तहरूले कैद भुक्तान गरिरहेको विभागले जनाएको छ ।

यी अभियोगपछि सवारी ज्यान/अंगभंग मुद्दाका एक हजार ३२ जना, जिउ मास्ने बेच्ने/सबै बेचबिखन मुद्दाका पाँच सय ८१ जना र अन्य विभिन्न प्रकारका मुद्दाका तीन हजार ६ सय ९३ जना अभियुक्तहरू कैद भुक्तान गरिरहेका थिए ।

विभागका अनुसार आन्तरिक रूपमा क्षतिको मूल्यांकन गर्दा झण्डै ६ करोड ३८ लाख रुपैयाँको भौतिक क्षति भएको छ । सबैभन्दा धेरै ललितपुरस्थित नख्खु कारागारमा भएको छ । नख्खुमा मात्रै अनुमानित दुई करोड ३७ लाख ५२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

बन्दीहरूले मूलगेटदेखि लिएर भेटघाट कक्ष, बस, पिकअप, मोटरसाइकल, प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा बेस भवन, सीसी क्यामेरा, कम्प्युटर र पानी ट्याङ्कीलगायत सबै सामाग्री जलाएर ध्वस्त पारेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।

भदौ २४ मा नख्खुमा कूल एक हजार दुई सय ८१ जना कैदीबन्दीमध्ये एक हजार दुई सय ७८ जना भागेका थिए । पछि ६ सय ६० जना फिर्ता आएको विभागले जनाएको छ ।

नख्खुपछि मकवानपुर कारागारमा धेरै क्षति पुगेको छ । त्यहाँ बन्दीहरूले तोडफोड र आगजनी गरेर एक करोड १५ लाख ७४ हजार रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएका थिए ।

उक्त कारागारमा कूल एक हजार ६६ जना कैदीबन्दीमध्ये चार सय ४० जना भागेका थिए । हालसम्म दुई सय ५० जना फिर्ता भएका छन् ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा बन्दीहरूले तोडफोड गरेर ३९ लाख १५ हजार बराबरको अनुमानित क्षति पुर्‍याएको विभागले जनाएको छ ।

बन्दीहरूले तीनवटा गेट तोडफोड मात्रै गरेनन्, ६ वटा सीसीटीभी, तीन वटा कम्प्युटर चोरेर लगेका थिए ।

बन्दीहरूले कुर्सी र बेञ्च गरी ५२ वटा तोडफोड गरेका थिए । जगन्नाथदेवलबाट भदौ २४ गते तीन हजार एक सय १७ जना भागेका थिए । हालसम्म एक हजार चार सय ८५ जना फिर्ता भएका छन् ।

सुनसरीको झुम्का, सप्तरी, महोत्तरी, सिन्धुली, नख्खु, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, कास्की, कपिलवस्तु, नवलपरासी, तुलसीपुर, बाँके, कैलाली, दार्चुला, डडेल्धुरा र कञ्चनपुरबाट विदेशी कैदीबन्दीहरू भागेका थिए । भागेका विदेशी कैदीबन्दीहरूमध्ये अधिकांश भारतीय रहेको विभागले जनाएको छ ।

‘भागेका कैदीबन्दीलाई सम्पर्कमा ल्याउने क्रम जारी छ । सबै जिल्लाका सहायक सीडीओको संयोजकत्वमा एउटा टाक्सफोर्स बनेको छ,’ विभागका महानिर्देशक शर्माले लोकान्तरसँग भने, ‘उहाँले प्रहरी, स्थानीय तह, सीमा नाका, ७७ वटै इलाका प्रशासन कार्यालय लगायतसँग समन्वय गरेर फरारलाई पक्राउ गर्ने काम गरिरहनुभएको छ ।’

विभागले अध्यागमन, वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयमा पत्राचार गरेर जेलबाट भागेका बन्दीलाई कुनै पनि प्रकारको सेवा नदिन र सेवा लिन आए तुरुन्तै नियन्त्रणमा लिएर नजिकको प्रहरीलाई जिम्मा लगाउन अनुरोध गरेको छ । ‘भागेका कैदीबन्दीहरूको तीनपुस्ते खुलाएर हामीले सम्भावित सबै ठाउँमा परिपत्र गरेका छौं,’ शर्माले भने,‘ विशेषगरी सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरू चनाखो हुनुपर्ने देखिन्छ ।’

बन्दीमध्ये १० जनाको मृत्यु भएको विभागले जनाएको छ । पाँच जनाको बाँकेको नौबस्ता बालगृह, तीन जनाको धादिङ र दुई जनाको रामेछाप कारागारका बन्दीको मृत्यु भएको विभागले जनाएको छ ।

कुन कारागारबाट कति भागे, फिर्ता कति आए ?

कारागार – भागेका बन्दी– फिर्ता

झुम्का – १७९६ – ११०२

सोलुखुम्बु– ८२  – ८०

सप्तरी– २०५   – ११९

महोत्तरी– ५७३  – २७६

रौतहट– २७०   – १३०

सिन्धुली– ४७६  – ३३०

नख्खु– १२७८   – ६६०

जगन्नाथदेवल– ३५१७ – १४८५

डिल्लीबजार –२०–५

मकवानपुर– ४४०–२५०

रसुवा– ९७     – ९५

चितवन– ७४२  –५८५

तनहुँ– ३२७     – २२०

कास्की– ७७३   –४८९

पर्वत– १९ –१२

म्याग्दी– ७६     – ७१

कपिलवस्तु– ४३०     –२९०

दाङ, तुल्सीपुर– २५३– १५५

बाँके, नौबस्ता– १४७ –३२

रुकुम पश्चिम– ८८– ६९

नवलपरासी पश्चिम– ५४६–३१७

जुम्ला– ३६–२६

बझाङ– ६५–५३

कैलाली– ६६५–३७०

दार्चुला– ७१–६१

बैतडी– ५९–५७

डडेल्धुरा– ८५–८०

कञ्चनपुर– ४५७– ३४७

salt training

कमेन्ट गर्नुहोस्