११ साउन २०८३, सोमबार
जीवनदर्शन

वशिष्ठ र वामदेवबीचको विवाद

असोज २५, २०८२
काठमाडौं
वशिष्ठ र वामदेवबीचको विवाद

वरुणपुत्र वशिष्ठ र नारदबीच शुरूदेखि नै मतैक्य थिएन । नातामा उनीहरू सौतेनी दाजुभाइ पर्दथे । बाबु एउटै थिए आमा दुई । शायद त्यसैले होला वशिष्ठ जे भन्थे नारद त्यसको ठीक विपरीत उभिन्थे । देवजातिका याजक वशिष्ठ ऋग्वेदी हुन् । ऋग्वेद शैशिरीय शाकलशाखा (हाल प्रचलित)को सातौँ मण्डलका सूक्तकार उनै हुन् । यसो त नारद पनि ऋग्वेदी नै हुन् । सोही शाखाको चौथो मण्डलका सूक्तकार उनै मानिएका छन्, जसलाई वामदेव्यमण्डल भन्ने गरिएको छ । वामविधिका पक्षपाती भएकाले उनलाई वामदेव पनि भनिन्थ्यो । यसैको कारण उक्त मण्डललाई वामदेव्य मण्डल भन्ने गरिएको हो ।

वशिष्ठको लाइन सिधा थियो । देवजातिको घरमा कर्मकाण्ड गरी जीवन निर्वाह गर्थे तर, नारदको स्वाभाव भने बेढङ्गीको थियो । गफाडीको त मानो शिरोमणि नै मानिन्थे । एउटाको कुरा अर्कोलाई लगाएर झगडा बल्झाउनु उनको विशेषता थियो । शायद त्यसैले होला अहिले पनि बढी कुरौटेको तुलना गर्नुपर्‍यो भने उनको नाम लिने गरिएको पाइन्छ ।

शुरूका दिनमा ऋषिमण्डलीमा उनको खासै भाउ थिएन । वशिष्टको विधि देवजातिमा प्रचलित थियो उनको विधि असुरजातिमा । यसमा सघाउने काम भने वरुणपुत्र भृगुले गरेका थिए । किनभने भृगुको ससुरालीकुल असुरजाति थियो । उनले हिरण्यकशिपुपुत्री दिव्या र पुलोमापुत्री पौलोमीसित विवाह गरेका थिए । यस्तो अवस्थामा उनको झुकाव असुरहरूप्रति हुनु स्वभाविकै थियो । पछि गएर उनका पुत्र शुक्राचार्य त असुरजातिको कुलगुरु नै बन्न पुगेका थिए ।

देवजाति र असुरजातिको झगडा पुस्तौनी भए पनि नारदले देवसम्राट् इन्द्रको प्रशस्तीगानमा यति बढी सूक्त रचना गरिदिए कि यसैको कारण इन्द्र उनको मित्र हुन पुगेका थिए । यद्यपि, देवजातिलाई नारदसँग आफ्ना सम्राट्को मित्रता मन परेको थिएन तर, इन्द्र यति बढी शक्तिशाली र चतुर थिए कि उनको अगाडि उनीहरू मुख खोल्नसम्म सक्दैनथे । जब इन्द्रको साथ पाए तब नारद यति बढी खुलेर वामविधिपरक सूक्त रचना गर्न लागे कि एउटा मण्डल नै तयार हुन पुगेको थियो । त्यति मात्र होइन इन्द्रकै कारण उनका सूक्तहरूले एउटा सिङ्गै मण्डलमा स्थान पाएको थियो भने ऋषिमण्डली नारदलाई आफ्नो समकक्षमा लिन बाध्य भएका थिए ।

अब आयो देवसम्राट् इन्द्रको थिए र कसरी यति बढी शक्तिशाली भए भन्ने कुरा । यसका लागि भने छ्रैटौँ चाक्षुष मन्वन्तरको अन्त्यमा भएको जलप्रलय लगत्तैको घटनातिर ध्यान दिनुपर्ने हुन्छ । करिब ई. पू. ३२ सय वर्षतिर पर्शियनक्षेत्रमा भयानक जलप्रलय भएको थियो, जतिबेला १२ भाइ आदित्यमध्ये जेठा वरुणले आदित्यहरूको परिवारको उद्धार गरेका थिए । त्यतिबेला उनीहरूलाई जुन स्थानमा राखिएको थियो त्यस स्थानलाई आर्यवीर्यान् भनिन्थ्यो । काश्यपसागरको दक्षिण तटीयक्षेत्रमा अवस्थित ककेशस पर्वतशृङ्खलामा पर्ने सो स्थान हालको राजनीतिक भूगोलअनुसार जर्जिया र अजरवैजान क्षेत्रमा पर्दछ ।  

महर्षि अत्रिको तपस्थली रहेकाले यस क्षेत्रलाई अत्रिपत्तन पनि भनिन्थ्यो । शायद आर्यवीर्यान् त्यसैको अपभ्रंशरूप हुनुपर्दछ, जसलाई हाल एट्टोपेट्टन भन्ने गरिएको पाइन्छ । यसै स्थानलाई देमावन्द पनि भन्ने गरिएको पाइन्छ । शायद देवस्थान यसैको अपभ्रंश हुनुपर्दछ । अत्रिको तपस्थली भएकाले होला यस स्थानलाई त्यतिबेला तपोवन वा तपस्थली पनि भन्ने गरिन्थ्यो । भनिन्छ, वैकुण्ठलोक वा सत्य लोक पनि यसैको आसपासमा थियो ।  

अघि कुनै बेला सोही तपोभूमिको निकट कुनै कौशिक गोत्रीय ग्रामाध्यक्षको निवास थियो । एक समयमा उनले गाउँकै कुनै कन्याकुमारी गर्भवती बनाइदिए छन् तर लोकलाजका कारण उनीहरू दुवैले उनको गर्भबाट जन्मेका बच्चालाई स्वीकार्न भने सकेनन् । उनीहरूको चाहना त बच्चालाई मारी नै दिने थियो तर, किन हो कुन्नि मार्न भने सकेनछन् त्यतै कतै छाडिदिएछन्, जुन कुरा बालकले ठूलो भएपछि थाहा पाएछ र ग्रामाध्यक्षलाई मारेर आफैँ ग्रामाध्यक्ष बन्न पुगेछन् । उनी जति चतुर थिए त्यति नै पराक्रमी पनि थिए । उनी आफ्नो वाक्चातुर्यका कारण जेष्ठ आदित्य वरुण (विष्णु)लाई रिझाएर आफैँ आदित्यहरूको नेता बन्न पुगेका थिए । त्यसपछि उनले पश्चिमतर्फका छिमेकी उरप्रदेश (इराक) र बेविलोनियनहरूसित मित्रता गरी आफूलाई पनि देव घोषित गरे । किनभने त्यतिबेला बेविलोलियनहरू आफूलाई देव भन्ने गर्दथे ।

विस्तारै उनकै जोडबलका कारण पूरा आदित्यहरू देवजातिमा गनिन थाले तर आदित्यहरूसँगको पुरानो वैरभावका कारण उत्तरतर्फका छिमेकी असुरहरू (दैत्य–दानव)हरूलाई भने मित्रताको गाँठो कस्न सकेनन् । त्यसैले वरुण (विष्णु)लाई उचालेर हिरण्यकशिपुको हत्या गराएका थिए । यद्यपि, हिरण्यकशिपुपुत्र प्रह्लादले अपमानको विष पिएर भए पनि देवासुरबीच स्थायी शान्तिको प्रयास नगरेका होइनन् तर, त्यो टिकाउन हुन भने सकेनन । किनभने चाँडै नै अर्को देवासुरसङ्ग्रामको स्थिति निम्तिएको थियो, जसलाई इतिहासमा तारकामय युद्ध भन्ने गरिएको छ ।

यद्यपि, यो युद्ध अत्रिपुत्र चन्द्रमा र देवगुरु बृहस्पतिकी पत्नी ताराको गोप्य मिलनको कारण भएको थियो तर चन्द्रमाको सम्बन्ध असुरकुलसित र बृहस्पतिको सम्बन्ध देवकुलसित भएकाले देवासुर दुवै पक्ष यस युद्धमा होमिएका थिए । भनिन्छ इतिहासमा देवासुरबीच यस्ता युद्ध १४ पटकसम्म भएको थियो, जहाँ ३०० वर्षभन्दा बढी समय बितेको थियो ।

जेहोस् देवसम्राट् इन्द्रका कारण इतिहासमा केही नराम्रा काम भए पनि धेरै राम्रा काम  भएका देखिन्छन् । तिनमा सर्वाधिक महत्वको काममा वैदिक सूक्त र संस्कृतिको समन्वयलाई लिन सकिन्छ । किनभने उनकै कारण वैदिकसूक्तलाई लिएर ऋषिमण्डली विभाजित हुन पाएन । अन्यथा वैदिकसूक्तहरूमा समेत दक्षिणपन्थी र वामपन्थी धार देखिने पक्कापक्की थियो ।

salt training

कमेन्ट गर्नुहोस्