२४ असार २०८३, बुधबार

लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका अध्यक्ष पक्राउ

असोज २५, २०८२
काठमाडौं
लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका अध्यक्ष पक्राउ

लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले जारी गरेको आयात सिफारिस पत्र कीर्ते गरी अवैध औषधि आयात गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको हो ।

पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिले दिएको निर्णयअनुसार कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई पशुपंक्षीका फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन बाइन्डर आयात गर्न सिफारिस गरिएको थियो ।

तर, उक्त सिफारिस पत्र कीर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू- Flocure १० प्रतिशत, Florlutin ४५ प्रतिशत, Binodox, Levoflox BH, Piperazine लगायतका वस्तुहरूको विवरण राखी विभिन्न भन्सार कार्यालयमा पेस गरी भन्सार शुल्क छल्दै अवैध रूपमा आयात गरिएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको सीआईबीको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३१, शंखमुलस्थित निवासबाट सुवेदीलाई पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाटमा राखिएको ब्यूरोका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्