
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित ३ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार कायस्थका साथै नगरपालिकाका लेखापाल रामबलमप्रसाद यादव, रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि र त्यसका सञ्चालक अजितकुमार कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूले बोलपत्र र आशयको सूचना प्रकाशन नगरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा २ लाख ५७ हजार ९७० रुपैयाँ अनियमितता गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
सार्वजनिक खरिद ऐन बमोजिम बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर उनीहरूले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित नगरी अनियमितता गरेको आयोगको दाबी छ ।
तीनै जनाले झुट्टा विवरणसहित सीमित प्रतिमा मात्र सूचना प्रकाशित गरी नगरपालिकाको अभिलेखमा राखेको र उक्त आधारमा २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ ।
आयोगले उनीहरूलाई कैद तथा जरिवानाको सजायको मागदाबी गरेको छ ।