०२ असार २०८३, मंगलबार

भेपमार्फत सुन तस्करी : संगठित चिनियाँ गिरोहसँग जोडिएका महरा फेरि पक्राउ

असोज २६, २०८२
काठमाडौं
भेपमार्फत सुन तस्करी : संगठित चिनियाँ गिरोहसँग जोडिएका महरा फेरि पक्राउ

चिनियाँ संगठित गिरोहसँग मिलेर भेपमार्फत सुन तस्करी गरेको आरोपमा माओवादी नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पुन: पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका महरालाई अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खुमलटारबाट पुन: पक्राउ गरेको हो ।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा उनी २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक आडमा उनीविरुद्ध मुद्दा चलेको थिएन । दोस्रोपटक महरा २०८० चैत ५ मा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

पक्राउलगत्तै उनलाई काठमाडौंस्थित सीआईबीमा ल्याएर अनुसन्धान शुरू गरिएको थियो । चर, चैत ९ मा सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई मुद्दा नै नचलाइ हाजिरी जमानीमा छाडिदियो । यही घटनालाई लिएर सीआईबीले महरालाई पुन: पक्राउ गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि सीआईबी पुगेर राजनीतिक आडमा रोकिएका आपराधिक घटनाको पुन: अनुसन्धान हुने बताएका थिए ।

चिनियाँ नागरिक दावाजिन वाङसँग मिलेर अवैध सुन तस्करी गरेको आरोपमा २०७९ मा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

तर, सीआईबीले त्यतिबेला उनको संलग्नता पुष्टि नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी र महराका छोरा राहुललाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो  ।

हाल महरा पक्राउ परेको घटना चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन तस्करी भएको सम्बन्धी हो ।

भेप स्टोरमा थन्क्याएर भन्सारका नायब सुब्बा रेवन्त खड्कासहितको मिलेमतोमा सुन बिक्री गरेको आरोप छ ।

सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार आपराधिक समूह बनाएर संगठित रूपमा आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको आरोपमा महरालाई नियन्त्रणमा लिइएको हो ।

भन्सारमा अड्किएको भेप छुटाउन महरा र उनका छोरा राहुलसँगै भन्सारमा कार्यरत कर्मचारी र बिचौलिया सक्रिय रहेका थिए ।

त्यतिबेला महराको तस्कर र बिचौलीयासँग भएको फोन संवाद समेत बाहिरिएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पनि भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य–प्रमाणले उनलाई कसुरदार होइन भन्न नसकिने भन्दै पुन: अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

सुन लुकाएर ल्याइएको भेप छुटाउमा महरा बाबुछोराले मात्रै भन्सारका कर्मचारीसहितसँग २ सय ५६ पटक फोन/मोबाइलमा कुराकानी गरेको तथ्य ३ वर्षअघि नै बाहिरिएको थियो ।

त्यसक्रममा दावाजिन वाङले मात्रै महरासँग ११ पटक र उनका छोरा राहुलसँग २८ पटक कुराकानी गरेको विवरण सार्वजनिक भएको थियो ।

एआईजी केसीले भने, ‘भेपमा सुन लुकाएर ल्याएको र भन्सारका कर्मचारीको मिलेमतोमा सुन बिक्री गरेको घटनामा महरा जोडिएले थप अनुसन्धान गर्नुपर्ने हुँदा पक्राउ गरिएको हो, अब हामी विस्तृत ढंगले अनुसन्धान गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्