२३ असार २०८३, मंगलबार

पूर्वसभामुख महराको ६ घण्टादेखि काठमाडौं जिल्ला अदालतमा बयान जारी

असोज २८, २०८२
काठमाडौं
पूर्वसभामुख महराको ६ घण्टादेखि काठमाडौं जिल्ला अदालतमा बयान जारी

भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान भइरहेको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार बिहान १० बजेदेखि बयान भइरहेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । 

‘बिहान १० बजे नै उहाँलाई अदालतमा उपस्थित गराइएको थियो, बयान अहिले सवा ४ बजेसम्म पनि जारी नै छ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘मिसिल हेर्न समय लागेको छ, बयानको काम पनि जारी नै छ, अहिलेसम्म थुनछेक बहस शुरू हुन सकेको छैन ।’

आज बहस नसकिए भोलि मात्र आदेश आउनसक्ने उनले बताए ।

संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुर अन्तर्गत उनीविरुद्ध पूरक अभियोगसहित मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने वा धरौटी वा साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ । 

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत आइतबार महरालाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्