०७ साउन २०८३, बिहीबार
पुस्तान्तरणतर्फ कांग्रेस

देउवाको प्रस्ट सन्देश– मेरो युग सकियो, नेतृत्व अब नयाँ पुस्तामा

असोज २८, २०८२
काठमाडौं
देउवाको प्रस्ट सन्देश– मेरो युग सकियो, नेतृत्व अब नयाँ पुस्तामा

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शीर्ष नेतामाथि नेतृत्व छाड्न दबाब परिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वका आकांक्षीका लागि फ्लोर ओपन गरिदिएका छन् । निवासमै कुटपिटबाट घाइते भएको ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवाले नेतृत्वका लागि फ्लोर ओपन गरिदिएका हुन् ।

जेनजी आन्दोलनपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)मा पनि नेतृत्व छाड्न आन्तरिक रूपमा तीव्र दबाब छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी भंग गर्दै आफूलाई महाधिवेशनका लागि आयोजक कमिटीको संयोजक तोकेका छन् ।

एमालेको सचिवालय बैठकबाट अध्यक्ष केपी ओलीले मंसिरभित्र ११ औं महाधिवेशन गर्ने घोषणा गरेका छन् । यी दुवै नेताले आफूलाई अझै केन्द्रमा राख्दै महाधिवेशनमा जाने रणनीति बनाउँदा देउवा अलग देखिए । समकालीन शीर्ष नेतामध्ये देउवाले प्रस्ट भाषामा आफ्नो सक्रिय राजनीतिको युग सकिएको घोषणा गरेका हुन् ।

भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीको आक्रमणबाट घाइते भएपछि गर्धनमा १२ टाँका लगाएका देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । आन्दोलनकारीले जलाएको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकमा देउवाले लामो लिखित सम्बोधन गरे ।

देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक दिए । आन्तरिकरूपमा बढेको दबाबलाई सम्मान गर्दै देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेका छन् । कुनै तिथि–मिति र समयावधि नतोकी देउवाले गरेको घोषणाले कांग्रेस अब खड्काको नेतृत्वमा १५ औं महाधिवेशनमा जाने प्रस्टै देखिएको छ ।

‘मेरो स्वास्थ्यका कारण मैले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले लिखित मन्तव्यको अन्तिममा भनेका छन्, ‘उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

‘मेरो स्वास्थ्यका कारण मैले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले लिखित मन्तव्यको अन्तिममा भनेका छन्, ‘उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

खड्काले पार्टीको वृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गर्दै देउवाले अब फेरि सक्रिय राजनीतिमा नरहने संकेत दिएका छन् । पार्टी नेतृत्व हस्तान्तरणको दबाबबारे पनि देउवाले खुलेर कुरा राखेका छन् । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले तत्काल नेतृत्व छाड्न देउवामाथि दबाब बढाउँदै आएका थिए ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकैजना मूली रहँदैन । पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन,’ सम्बोधनमा उनले भनेका छन्, ‘जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’

२०७२ को तेह्रौं महाधिवेशनमा सभापति चुनिएयता देउवा १० वर्ष (दुई कार्यकाल) पार्टीको नेतृत्वमा रहे । दोस्रो कार्यकालको उत्तरार्द्धमा देउवाले प्रस्ट भाषामा पुस्तान्तरणको संकेत गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा देउवा र उनकी पत्नी आरजु राणा आक्रमणमा परेका थिए । त्यसक्रममा उनको गर्धनमा १२ वटा टाँका लगाइएको थियो । नेपाली सेनाको निगरानीमा १५ दिन बढी उपचार गरेपछि देउवा स्वस्थ हुने क्रममा छन् ।

null

स्वास्थ्यलाभ गरेर फर्किएपछि मंगलबार देउवाको पहिलो सार्वजनिक सम्बोधन थियो । तर, उनले उठाएका सवाल र परिस्थितिको मूल्यांकनले उनी बिदाइ भाषण गर्दैछन् भन्ने प्रस्टै देखिएको थियो । राजनीतिक जीवनको उत्तरार्द्धमा सेनाको बलियो घेरामा पनि देउवा दम्पती सुरक्षित रहन सकेनन् । ८० वर्ष पुग्न लागेको वृद्ध शरीरमाथि जेनजीका नाममा अमानवीय हमला भयो ।

बिदाइ सम्बोधनको आशय झल्किने लिखित भाषणमा देउवाले आफूलाई किशोरावस्थादेखि राष्ट्रियता, लोकतन्त्र र विधिको शासनका लागि लडेको नेताको रूपमा अर्थ्याउने प्रयास गरे ।

‘म लोकतन्त्रका निमित्त राजनीतिमा होमिँदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दु:ख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो– राष्ट्र, राष्ट्रियता र लोकतन्त्र,’ देउवाले भनेका छन्, ‘मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ । मैले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको छु । देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु । अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु । मैले सदैव साथीहरूबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु । साथीहरूका प्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ ।’

आफूले नेपाली कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेको उनको भनाइ छ । ‘चाहे पार्टीभित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरूमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियान नै चलाएँ । म यस काममा गर्व पनि गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।

धेरैपटक प्रधानमन्त्री बनेको र राजनीतिमा विकृति भित्र्याएको आरोपबारे पनि देउवाले व्यावहारिक हिसाबले जवाफ दिन खोजे । पाँच वर्षमा एक कार्यकाल जति पनि प्रधानमन्त्री नभएको उनको प्रस्टोक्ति थियो ।

‘मैले छोटो–छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो,’ देउवाले भनेका छन्, ‘त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ । तर, पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईंहरूलाई अवगत नै छ ।’

null

भ्रष्टाचारका निवारण र सामाजिक रुपान्तरणको लागि काम गरेको भन्दै उनले केही उदाहरण पनि पेश गरे ।

'सामाजिक कुरीतिको रूपमा रहेको कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको शुरूआत गर्न पाउँदा मलाई गर्व महसुस भएको छ । नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ जारी गरेको हुँ,' देउवाले भने, 'नेपालमा भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागु गरेको हुँ । यसैका जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।'

जेनजी आन्दोलनमा एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक रूपमा पहिलो निशानामा परेका थिए । ओलीले राजनीतिक हिसाबले जेनजी आन्दोलनको घटनाबारे अहिलेसम्म प्रस्ट भाषामा बोलेका छैनन् । अहिलेसम्मका विकृतिका लागि प्रश्न उठ्दा ओली सिधै खारेज गर्ने नेतामा पर्छन् । तर, पहिलोपटक सार्वजनिक हुँदा देउवाले प्रधानमन्त्री र सभापतिको रूपमा काम गर्दा कमजोरी भएको कुरालाई पनि स्वीकारेका छन् ।

'प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा काम गर्दा केही कमी कमजोरी पनि भए होला, तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरें । केन्द्रीय कार्यसमितिका निर्णयहरू सबै सर्वसम्मत भएका छन्,' देउवाले भनेका छन्, 'सरकारमा हुँदा भएका पदीय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन् । सकभर सबै साथीहरूलाई पार्टीको निर्णय प्रक्रियामा सहभागी गराएको छु ।'

यस क्रममा देउवाले आफ्नो परिवारमाथि ज्यानै लिने गरी सांघातिक हमला भएको पनि बताउन भुलेनन् ।

'गत भाद्र २४ गते सिङ्गो मुलुक जलेका बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे । सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,' देउवाले भनेका छन्, 'म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्‍यो, तपाईंहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटो प्रचार गरियो ।'

आफूलाई आक्रमणकारीबाट बचाउने सुरक्षाकर्मी र शुभचिन्तकलाई देउवाले धन्यवाद ज्ञापन गरेका छन् । व्यक्तिगत जस्तो लागे पनि आक्रमण देश, पार्टी र पद्धतिमाथि भएको देउवाको भनाइ छ ।

'घटनाक्रम झट्ट हेर्दा म र मजस्तै हाम्रा तथा अन्य राजनीतिक दलका अनगिन्ती साथीहरूमाथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ,' देउवाले भनेका छन् ।

पार्टीमा उठेको नियमित र विशेष महाधिवेशनको विषयमा देउवाले खुलेर कुनै टिप्पणी गरेनन् । बरु एकताबद्ध भएर कांग्रेसले चुनौतीको सामना गर्नुपर्ने बताए ।

'नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई पन्छाएर, देशलाई साक्षी मानेर एकताबद्ध हुनुपर्दछ,' देउवाले भनेका छन्

'राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपर्ने छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधानअनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ,' देउवाले भनेका छन्, 'देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी निकासका लागि आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग पनि वार्ता र संवाद गर्नुपर्छ ।'

विगत ८० वर्षमा कांग्रेस नै सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र मेरुदण्डको रूपमा रहेको उनले बताएका छन् । लोकतन्त्रका लागि कसैसँग सम्झौता नगरेकाले कांग्रेसको निर्णयलाई विश्वले कुरेको देउवाको भनाइ छ ।

'लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आन्दोलन होस्, नेपाली कांग्रेसले ठीक राष्ट्रिय एजेन्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्‍याएको छ,' देउवाले भनेका छन्, 'अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरि फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु । त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ ।' यस्तै व्यवहारिक निर्णयले इतिहासमा आर्जित विश्वसनीयता पुष्टि गर्ने उनको भनाइ छ ।

यसैले द्वन्द्वको सट्टा एकताबद्ध भएर कांग्रेस निर्णयमा पुग्नुपर्ने उल्लेख गरेका छन् ।

'नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई पन्छाएर, देशलाई साक्षी मानेर एकताबद्ध हुनुपर्दछ,' देउवाले भनेका छन्, 'अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभहानीका सबै विषय गौण हुन् । म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु– विषयवस्तुमा व्यापक छलफल गरौं, एकमतका साथ निर्णयमा पुगौं र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौं ।'

मृतक जेनजीप्रति श्रद्धाञ्जली,चुनावप्रति संशय

'गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो । निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ,' देउवाले भनेका छन्, 'यसले पक्कै पनि हामी सबैलाई स्तब्ध बनाएको छ । म सबैभन्दा पहिले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनुहुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ भन्ने मत राखेको देउवाले बताएका छन् । फागुन २१ गतेका लागि घोषित चुनावका लागि भने सरकारले वातावरण नबनाएको देउवाको भनाइ छ ।

null

'सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्व सर्तका रूपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्,' देउवाले भनेका छन्, 'तसर्थ, निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वःस्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।'

पढ्नुहोस्, यो पनि :

नेताहरूलाई फोन गर्दै देउवाले भन्न थाले– अब म सभापति हुँदिनँ, तपाईंहरू मिल्नुस्

राजनीतिक हिसाबले देउवाले चुनावको विरोध पार्टीले नगरेको सन्देश सम्बोधनमा दिएका छन् । यसका लागि वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

'बहुदलीय लोकतान्त्रिक व्यवस्थाको बाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ,' देउवाले भनेका छन्, 'मुलुकमा संकट आएका बेला त्यसको निकासका लागि पनि हामी आफ्नो विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं ।'

कमेन्ट गर्नुहोस्