
जेनजी प्रदर्शनका क्रममा सिंहदरबारको मूल गेटमा प्रहरीबाट लुटिएको सेल्फ लोडिङ राइफल (एसएलआर) प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुसुन्ती घर भएका सम्राट भनेर चिनिने राजु परियारलाई पक्राउ गरेको हो । परियारले जेनजी आन्दोलनमा प्रहरीको राइफल लिँदै उच्छृङ्खल गतिविधि गरेको भिडिओ र तस्वीर भाइरल बनेको थियो ।
राइफल बोकेर पोजिशन लिएको तस्वीर भाइरल भएपछि प्रहरीले खोजीकार्य तीव्रता दिएको थियो ।
एक महिनापछि अनुसन्धान कार्यालयको ललितपुर शाखाले सुनाकोठीबाट परियारलाई पक्राउ गरेको हो ।
प्रहरीले परियारलाई पक्राउ गरेपछि भिडियो र फोटो देखाएको थियो । उनले भिडियो र फोटोमा भएको व्यक्ति आफू रहेको स्वीकार गरेपछि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए ।
परियारलाई आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।
प्रारम्भिक बयानका क्रममा परियारले उक्त राइफल सेनालाई बुझाएको बताएका छन् । तर, सेनाबाट उक्त हतियार प्रहरीलाई प्राप्त नभएको स्रोत बताउँछ ।
प्रहरीले क्राइम रेकर्ड सिष्टम (सीआरएस) हेर्दा परियारविरुद्ध यसअघि ८ वटा मुद्दा चलेको भेटिएको छ ।
काठमाडौं परिसरले उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । गंगामाया देउलाले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । ललितपुर परिसरबाट समेत परियारविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको सीआरएस रेकर्डमा देखिएको छ ।
दुई वटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध प्रहरी वृत्त बानेश्वरमा ठगी, महाराजगन्ज वृत्तमा बैंकिङ कसुर, ललितपुर परिसरमै ठगी, स्वयम्भू वृत्तमा ठगी, काठमाडौं परिसरमा अभद्र व्यवहार र बानेश्वर वृत्तमा अभद्र व्यवहारमा मुद्दा चलेको सीआरएसमा देखिएको छ ।
प्रहरी अनुसन्धान अनुसार परियार सवारी अनुमति पत्र (लाइसेन्स) को बिचौलियाको काम गर्दै आएका थिए । उनले लाइसेन्स बनाइदिन्छु भनेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।