२० असार २०८३, शनिबार

सिंहदरबार अगाडि प्रहरीको राइफल लुटेर प्रदर्शन गर्ने पक्राउ

ज्यान मार्ने उद्योगसहित ८ वटा मुद्दामा यसअघि नै अनुसन्धान
असोज २९, २०८२
काठमाडौं
सिंहदरबार अगाडि प्रहरीको राइफल लुटेर प्रदर्शन गर्ने पक्राउ

जेनजी प्रदर्शनका क्रममा सिंहदरबारको मूल गेटमा प्रहरीबाट लुटिएको सेल्फ लोडिङ राइफल (एसएलआर)  प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुसुन्ती घर भएका सम्राट भनेर चिनिने राजु परियारलाई पक्राउ गरेको हो । परियारले जेनजी आन्दोलनमा प्रहरीको राइफल लिँदै उच्छृङ्खल गतिविधि गरेको भिडिओ र तस्वीर भाइरल बनेको थियो ।

राइफल बोकेर पोजिशन लिएको तस्वीर भाइरल भएपछि प्रहरीले खोजीकार्य तीव्रता दिएको थियो ।

एक महिनापछि अनुसन्धान कार्यालयको ललितपुर शाखाले सुनाकोठीबाट परियारलाई पक्राउ गरेको हो ।

प्रहरीले परियारलाई पक्राउ गरेपछि भिडियो र फोटो देखाएको थियो । उनले भिडियो र फोटोमा भएको व्यक्ति आफू रहेको स्वीकार गरेपछि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए ।

परियारलाई  आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।

प्रारम्भिक बयानका क्रममा परियारले उक्त राइफल सेनालाई बुझाएको बताएका छन् । तर, सेनाबाट उक्त हतियार प्रहरीलाई प्राप्त नभएको स्रोत बताउँछ ।

प्रहरीले क्राइम रेकर्ड सिष्टम (सीआरएस) हेर्दा परियारविरुद्ध यसअघि ८ वटा मुद्दा चलेको भेटिएको छ ।

काठमाडौं परिसरले उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । गंगामाया देउलाले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । ललितपुर परिसरबाट समेत परियारविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको सीआरएस रेकर्डमा देखिएको छ ।

दुई वटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध प्रहरी वृत्त बानेश्वरमा ठगी, महाराजगन्ज वृत्तमा बैंकिङ कसुर, ललितपुर परिसरमै ठगी, स्वयम्भू वृत्तमा ठगी, काठमाडौं परिसरमा अभद्र व्यवहार र बानेश्वर वृत्तमा अभद्र व्यवहारमा मुद्दा चलेको सीआरएसमा देखिएको छ ।

प्रहरी अनुसन्धान अनुसार परियार सवारी अनुमति पत्र (लाइसेन्स) को बिचौलियाको काम गर्दै आएका थिए । उनले लाइसेन्स बनाइदिन्छु भनेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्