
भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार बुधबार प्रदान गरेको छ ।
गुठीले राजधानीमा एक कार्यक्रम गरी अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन अलग-अलग स्रष्टाहरूलाई प्रदान गरेको हो ।
जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो ।
त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ।
साथै ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिएको छ ।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा जानकारी गराउँदै साहित्यकारहरू नरनाथ लुइँटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू खगेन्द्र संग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ले अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्वितीय प्रतिभा भएको बताए ।
पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताए ।
सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२ औं कृति ‘पुरस्कार लुड्याउने’ को लोकार्पण गरिएको थियो ।
गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो ।
गुठीको आजै सम्पन्न साधारणसभाले वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।