२० असार २०८३, शनिबार
जेनजी विद्रोह

विश्वव्यापी बन्दै नेपालबाट सल्किएको आगो– मोरक्को, मडागास्करदेखि पेरुसम्म !

असोज ३०, २०८२
काठमाडौं
विश्वव्यापी बन्दै नेपालबाट सल्किएको आगो– मोरक्को, मडागास्करदेखि पेरुसम्म !
Photo: AP

नयाँ पुस्ताको असन्तुष्टि र विद्रोहको लहर विश्वभर फैलिएको छ । सरकारप्रतिको आक्रोश र भविष्यप्रतिको निराशाले युवाहरूलाई सडकमा उत्रिन प्रेरित गरेको हो ।

यो हप्ताको शुरूवातमा मडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना सैनिक विद्रोहपछि पद र देश दुबै त्याग्न बाध्य भए । 'जेन जेड मडागास्कर' नाम दिएका युवाहरूको हप्तौं लामो आन्दोलनको परिणामस्वरूप सत्तापलट भएको हो ।

हिन्द महासागरको यो टापु मुलुकमा देखिएको राजनीतिक अस्थिरता नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरोक्कोजस्ता देशमा हालै देखिएका आन्दोलनसँग मिल्दोजुल्दो छ ।

यी आन्दोलनहरू तत्कालीन असन्तोषबाट शुरू भए पनि यसको जरो असमानता, आर्थिक संकट, भ्रष्टाचार र नातावादजस्ता दीर्घकालीन समस्यामा छ ।

यी सबै आन्दोलनमा एउटै समानता देखिन्छ— यी नेताविहीन छन् र मुख्य रूपमा सन् १९९६ देखि २०१० बीच जन्मेका युवाहरूले नेतृत्व गरेका छन्, जसले आफूलाई 'जेन जेड' भन्छन् । उनीहरू इन्टरनेट युगमै हुर्किएका पहिलो पुस्ता हुन् ।

बेलायतस्थित ‘सोसियल चेन्ज ल्याब’का निर्देशक स्याम नेडलका अनुसार, 'यी युवाको नेतृत्व भएका आन्दोलनहरूको साझा भावना भनेको पुराना राजनीतिक प्रणालीहरूले उनीहरूको मुद्दा सुनेका छैनन् भन्ने हो । जब संस्थागत बाटोहरू बन्द देखिन्छन्, सडक नै अन्तिम उपाय बन्छ ।'

विभिन्न देशका आन्दोलन,एउटै असन्तोष

यी आन्दोलनहरूका माग फरक–फरक छन्, तर प्रायः सरकारले गरेका अत्यधिक हस्तक्षेप र बेवास्ताबाट शुरू भएका हुन् । कतिपय ठाउँमा युवाहरूले कठोर दमन र हिंसात्मक प्रतिकार पनि भोग्नुपरेको छ ।

मोरोक्कोमा 'जेन जेड २१२' नामक समूहले स्वास्थ्य र शिक्षामा लगानी बढाउन र सार्वजनिक सेवामा सुधार गर्न माग गर्दै प्रदर्शन गरिरहेको छ ।

पेरुमा पेन्सनसम्बन्धी कानुनविरुद्ध शुरू भएको आन्दोलनले व्यापक भ्रष्टाचार र असुरक्षाविरुद्धको स्वर पनि उठाएको छ ।

इन्डोनेसियामा सांसदहरूको विशेष सुविधा र महंगीविरुद्ध शुरू भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रपतिले अर्थ र सुरक्षा मन्त्रालयका प्रमुखहरू फेर्नुपर्‍यो ।

नेपालको जेन जेड आन्दोलन : प्रेरणाको स्रोत

विश्वभर चर्चित ‘जेन जेड आन्दोलन’मध्ये सबैभन्दा प्रभावशाली विद्रोह नेपालमा भयो । यही आन्दोलनपछि सेप्टेम्बर (भदौ) मा प्रधानमन्त्री (केपी शर्मा ओली)ले राजीनामा दिए ।

नेपाली युवाहरू दक्षिण एसियाका श्रीलंका (२०२२) र बंगलादेश (२०२४) का आन्दोलनबाट प्रेरित थिए, जसले त्यहाँका सरकारहरूलाई सत्ताच्युत गराएका थिए ।

मडागास्करका प्रदर्शनकारीहरूले पनि आफूहरू नेपाल र श्रीलंकाको आन्दोलनबाट प्रेरित भएको बताएका छन् ।

त्यहाँ शुरूमा पानी र बिजुलीको अभावविरुद्ध प्रदर्शन भएको थियो, तर त्यो चाँडै सरकारविरुद्धको व्यापक असन्तोषमा परिणत भयो । अन्ततः बुधबार, सैनिक नेताले आफूलाई 'राष्ट्रपति' घोषणा गरे ।

वन पिस’को झण्डामुनि एकता

यी आन्दोलनहरूमा एउटा साझा प्रतीक देखा परेको छ— कालो झण्डा, जसमा टोपी लगाएको मुस्कुराइरहेको खोपडी छ । यो जापानी मंगा र एनिमे सिरिज 'वन पिस'बाट लिइएको प्रतीक हो, जसमा समुद्री डाकूहरूले भ्रष्ट सरकारविरुद्ध लड्छन् ।

नेपालमा प्रदर्शनकारीहरूले यही झण्डा सिंहदरबार र विभिन्न मन्त्रालयमा झुण्ड्याएका थिए, तीमध्ये केही ठाउँमा आगजनीसमेत भयो । यही झण्डा इन्डोनेसिया, फिलिपिन्स, मोरोक्को र मडागास्करमा पनि देखिएको छ ।

पेरुको राजधानी लिमाका २७ वर्षीय बिजुली प्राविधिक डेभिड टाफुर पनि यही झण्डा बोकेर प्रदर्शनमा उभिए ।

'हामी सबै एउटै लडाइँ लडिरहेका छौं— भ्रष्ट र जनविरोधी नेताहरूविरुद्ध,' उनले भने ।

उनका अनुसार, राष्ट्रपति डिना बोलुआर्टेको सरकार २०२२ देखि ५० भन्दा बढी नागरिकको मृत्यु र सयौं प्रदर्शनपछि पनि सत्तामा टिकेको छ ।

'म भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध आक्रोशित छु,' उनले थपे ।

बोलुआर्टे घुसखोरीदेखि २०२२ को आन्दोलनमा भएको हिंसात्मक दमनसम्मका मुद्दामा अनुसन्धानमा थिइन् । उनलाई गत हप्तामात्र अन्तरिम राष्ट्रपति जोसे जेरीले प्रतिस्थापन गरे । तर, टाफुरका अनुसार यो पर्याप्त थिएन ।

'राष्ट्रपति संसदको सहयोगी हुन् । उनलाई पनि जानैपर्छ,' उनले भने ।

सामाजिक सञ्जालको शक्ति

२०१० को दशकका ‘अरब स्प्रिङ’, ‘अक्युपाई वाल स्ट्रिट’ र ‘अम्ब्रेला रिभोल्युसन’ जस्ता आन्दोलनहरू पनि युवाहरूले नै नेतृत्व गरेका थिए । तर, अहिलेको 'जेन जेड' आन्दोलनले डिजिटल मञ्चहरूको प्रयोगलाई नयाँ स्तरमा पुर्‍याएको छ ।

'डिजिटल प्लेटफर्महरूले सूचनाको आदान–प्रदान र एकता निर्माणमा असाधारण भूमिका खेलेका छन्, तर, सफल आन्दोलनहरूले अनलाइन अभियानसँगै सडकको उपस्थिति पनि जोड्छन्,' नेडलले भने ।

नेपालमा आन्दोलन शुरू हुनुभन्दा केही दिनअघि सरकारले धेरै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । धेरै युवाले यसलाई आवाज दबाउने प्रयासका रूपमा व्याख्या गरे र ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) प्रयोग गरेर ती साइटहरूमा पहुँच राखे ।

त्यसपछि उनीहरूले टिकटक, इन्स्टाग्राम र एक्समार्फत नेताका परिवारका विलासी जीवनशैली र आम जनताको कठिनाइबीचको अन्तर देखाउँदै सभा र्‍यालीका जानकारी प्रसारित गरे । पछि उनीहरूले डिस्कोर्ड अन्तरिम नेताको नाम सिफारिस गर्न पनि प्रयोग गरे ।

आन्दोलनकारी युवन राजभण्डारीका अनुसार, 'भ्रष्टाचार र अन्यायविरुद्धको आवाज अहिले डिजिटल मिडियामार्फत फैलिन्छ । नेपालमा पनि यही भयो । नेपालको जेन जेड आन्दोलनले अन्य देशका युवालाई पनि प्रेरित गर्‍यो ।'

उनले थपे, 'नेपालको आन्दोलनले केवल युवालाई होइन, पुराना पुस्तालाई पनि जागृत बनायो । हामी सबै डिजिटल रूपमा जोडिएका विश्व नागरिक हौं भन्ने कुरा यसले देखायो ।'

– एपीबाट

salt training

कमेन्ट गर्नुहोस्