
नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई आफूले रोकेको जनाएको छ।
वार्षिक कामकारबाही सार्वजनिक गर्न शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले उक्त जानकारी दिएका हुन् । 'विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन र पेट्रोल लिएर आएकाहरूलाई हामीले रोक्यौं,' उनले भने, 'विमानस्थल बन्द भएको भए अन्तराष्ट्रिय स्तरमै नेपालको छवि धूमिल हुने थियो ।'
जेनजी आन्दोलनबाट सिर्जित अवस्थाका कारण ९ सय ७८ हातहतियार लुटिएको सेनाले जनाएको छ ।
लुटिएका मध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएका छन् ।
सैनिक मुख्यालयमा अनुसार १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् ।
२४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
सेनाका अनुसार ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, राजनीतिक दलका १ सय ९८ वटा कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीमा परेका छन् ।
कुल ७६ जनाको ज्यान गएकामा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको सेनाले जनाएको छ ।
जेनजी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ ।