
नेपाली कांग्रेसका संस्थापन निकटका केन्द्रीय सदस्यहरू नै महाधिवेशनको सवालमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाको लाइनमा देखिएका छन् । लामो समयदेखि संस्थापन निकटमा रहेर सहयोग गर्दै आएका नेताहरू छिटो महाधिवेशनको विषयमा नयाँ लाइनमा उभिएका हुन् ।
संस्थापन निकटकी पुष्पा भुसालले विशेष महाधिवेशनको विपक्षमा नरहेको बताइन् । ‘हामी विशेष महाधिवेशनको विपक्षमा छैनौं, हामीले हस्ताक्षर गरेको छैन भन्दैमा जिल्लामा निषेध गर्न मिल्दैन,’ भुसालले भनिन्, ‘मंसिरभित्रै नियमित महाधिवेशन गरौं पार्टी एकताबद्ध हुने गरी कार्यतालिका ल्याउनुपर्छ ।’
संस्थापन निकटकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल र डा. डिला संग्रौलाले पनि नियमित महाधिवेशन छिटो हुनुपर्ने बताएका छन् । समयमा महाधिवेशन गरेर जेनजी पुस्तालाई समेट्दै निर्वाचनमा जानुपर्ने उनीहरूको मत छ ।
संस्थापन निकटका भरतकुमार साहले ५४ प्रतिशतले माग गरेको विशेष महाधिवेशनको विषयलाई अन्यथा नलिन आग्रह गरे । ‘समयमा महाधिवेशन होस्, तर ५४ प्रतिशतले हस्ताक्षर गरेपछि विशेष महाधिवेशनको माग गर्नेलाई अन्यथा लिनुहुन्न,’ साहले भने, ‘छिटो महाधिवेशन गरेर चुनावमा जानुपर्छ ।’
नेता अर्जुन जोशीले नेताहरूले बारम्बार गल्ती गर्दै आएकाले पनि छिटो महाधिवेशन गर्ने कुरामा अलमलिन नहुने बताए । ‘नेताहरूले ब्रम्हलुट गर्दा आजको स्थिति आएको हो, यसैले कसैको मुख नहेरौं, पार्टीको हित हेरौं,’ बैठकमा उनले भने, ‘सानेपामा बसेर गरेको निर्णय जनताले सधैं स्वीकार्छन् भन्ने हुँदैन, पटक-पटक राम्रा निर्णय गर्ने तर कार्यान्वयन नहुने स्थिति आयो । शक्तिशाली जनतालाई हाम्रो सोच र व्यवहार मन परेन, यसमा हाम्रो दोष छ, सभापतिको मन्तव्यले राम्रो सन्देश दिएको छ, तोडमोड नगरी महाधिवेशनमा जाऊँ ।’
मैकुलाल वाल्मीकिले विशेष महाधिवेशनको हस्ताक्षर गर्नेलाई सम्मान गर्नुपर्ने बताए ।
संस्थापन निकटका जिपछिरङ लामाले पनि ५४ प्रतिशतभन्दा बढीको हस्ताक्षरलाई पार्टीले बेवास्ता गर्न नहुने बताए । ‘विशेष महाधिवेशनको माग गर्ने अरू होइनन् हाम्रै पार्टीका हुन्, तर यसको भावनामा टेकेर निर्वाचनलाई प्रभाव नपर्ने गरी महाधिवेशन गरौं,’ उनले भने, ‘मेरो धार र गुट छैन, कांग्रेस नै मेरो गुट हो ।’
सभापतिले कार्यवाहक दिएर महाधिवेशन गर्ने जिम्मा दिएपछि अब ढिलाइ गर्न नहुने उनको भनाइ थियो । जेनजीको रापताप रहेको भन्दै उनले महाधिवेशनपछि हुने निर्वाचनमा ४० वर्ष मुनिका ५० प्रतिशतलाई उम्मेदवार बनाउनुपर्ने बताए ।
संस्थापन निकटकी सुशीला थिङले नियमित महाधिवेशनमा जोड दिइन् । तर उनले संसद् पुनःस्थापनाको विषयलाई जोड दिइन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई कारबाही किन नगर्ने भन्दै उनले प्रश्न उठाएकी थिइन् ।
सरस्वती बजिमयले अनलाइनबाट सदस्यता बाँड्ने कुराका विरोध गरिन् ।
ललितजंग शाहले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्छ, नत्र चुनावमा क्षति हुन्छ,’ उनले भने, ‘गर्नलाई नियमित महाधिवेशन गर्ने, तर मंसिरमा सकिँदैन, सभापतिको भनाइको पनि सम्मान गर्नुपर्छ ।’
सुदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायरले शेरबहादुरले बिगारे भन्नेलाई आज उनको समर्थन गर्ने अधिकार नभएको बताए । ‘हिजो देउवाले पार्टी बिगारे भन्नेलाई आज देउवाको समर्थन गर्ने अधिकार छैन,’ उनले भने, ‘अहिले नि सामाजिक सञ्जालमा बहस गर्न छोडिएको छैन, म्याद गुज्रिएका महाधिवेशन प्रतिनिधिलाई समेटेर विशेष महाधिवेशनमा जानु भनेको पछाडि फर्किनु हो, हाम्रो प्राथमिकता चुनाव हो कि महाधिवेशन ?’
यी मध्ये बलायरले नियमित महाधिवेशन गराउनुपर्ने महामन्त्री थापा नै विशेष महाधिवेशन चक्करमा लागेको भन्दै प्रश्न उठाए ।
केन्द्रीय सदस्य मानबहादुर नेपालीले विशेष महाधिवेशनको नाटक नगर्न चेतावनी दिए । ‘निर्वाचन समयमा नहुन सक्छ, तर विशेष महाधिवेशन नाटक नगरौं,’ नेपालीले भने, ‘गगनको सभापति हुने बेला भएको छैन, बैठकबाट निर्वाचनमा जाने निर्णय गरौं, नियमित महाधिवेशन माग्ने मात्रै क्रान्तिकारी अरू अराष्ट्रिय तत्व हुने भन्ने गलत भाष्य हो, वादविवाद नगरी चुनावपछि महाधिवेशन गरौं ।’
संस्थापन निकटका रमेश रिजाल र बजिमयले चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीले क्षति बेहोर्नुपर्ने मत राखे । ‘यतिखेरको हाम्रो प्राथमिकता चुनाव हो कि ? महाधिवेशन हो ?,’ बैठकमा संस्थापन निकटका रिजालले भने, ‘नियमित महाधिवेशन गर्ने कुरालाई पार्टीका सबै नेताले अझै २०८३ को मंसिरसम्म गर्न सकिन्छ भनेर यसअघि नै स्वीकार्नु भएको थियो । तर अहिले चुनाव र महाधिवेशनको मिति जुधाउने कुरा आएको छ, यसले पार्टीलाई क्षति हुन्छ, चुनावपछि महाधिवेशनमा जाँदा उचित हुन्छ ।’
महेन्द्रकुमारी लिम्बूले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेको टाउको गन्न आग्रह गरिन् ।
दिनेश कोइरालाले हिजो चुनावमा गरिएको गठबन्धन गल्ती थियो भनेर निर्णय लिनुपर्ने बताए । ‘हामीले यो निर्णय गर्नुपर्छ कि हिजोको गठबन्धन गल्ती थियो, सबैले स्वीकारे मात्रै हामी सहजै अगाडि बढ्न सक्छौं,’ उनले भने, ‘छिटो महाधिवेशन गर्नुपर्छ ।’
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मंसिरमा नियमित १५ औं महाधिवेशन गर्नुपर्ने बताए । फागुनमा चुनाव हुन नसक्ने भएकाले सार्नका लागि पार्टीले प्रस्ताव गर्नुपर्ने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले जेनजीका भावनाअनुसार अगाडि बढ्नुपर्ने भन्दै नियमित महाधिवेशनमा जोड दिए ।
चन्द्रमोहन यादवले १५ औं महाधिवेशन समयमै गर्न सुझाव दिए ।
दिलेन्द्रप्रसाद बडूले सभापतिको सन्देश नै विधानले दिएको समयमा महाधिवेशन गर्नु रहेको बताए । यसैले मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने नभए विशेष महाधिवेशन स्वीकार्न दबाब परेको छ । तेस्रो दिन पनि जारी केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यले नियमित महाधिवेशन मंसिरभित्रै गर्न दबाब दिएका छन् । अन्यथा ५३ प्रतिशत बढीले माग गरेको विशेष महाधिवेशनमा जान दबाब बढाएका हुन् ।
यस्तो छ महामन्त्री ल्याएको कार्यतालिका
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्न प्रस्ताव गरेका छन् । पार्टीमा नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने गरी सदस्यहरूले दबाब बढाएपछि थापाले तयार गरेको नियमित महाधिवेशनको कार्यतालिका बाहिरिएको हो ।
उनले कार्यसम्पादन समितिको बैठकमै नियमित महाधिवेशन मंसिर मसान्तसम्मै गर्न सकिने गरी कार्यतालिका प्रस्तुत गरेका थिए ।
सो कार्यतालिका अनुसार कात्तिक २१ गतेसम्म क्रियाशील सदस्यता इन्ट्री, कात्तिक मसान्तसम्म सदस्यता टुंग्याउन प्रस्ताव गरिएको छ । मंसिर ७ गतेसम्म क्रियाशील सदस्यताको नामावली केन्द्रीय समितिलाई बुझाउने र मंसिर १२ र १३ गते वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ ।
मंसिर २१ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रस्ताव गरिएको छ ।
यसको एक सातामा मंसिरको २७, २८ र २९ गते महाधिवेशन गर्नुपर्ने प्रस्ताव थापाले अगाडि सारेका छन् ।