१० साउन २०८३, आइतबार

बिक्री हुँदैछ आईपीएल क्लब रोयल च्यालेन्जर्स बेंगलुरु !

कात्तिक १, २०८२
काठमाडौं
बिक्री हुँदैछ आईपीएल क्लब रोयल च्यालेन्जर्स बेंगलुरु !

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्ये एक हो, इन्डियन प्रिमियर लिग (आईपीएल) । आईपीएलको आगामी संस्करणअघि एउटा क्लबको स्वामित्व परिवर्तन हुन सक्ने सम्भावना बढेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, आईपीएल क्लब रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को स्वामित्व परिवर्तन अन्तिम चरणमा पुगेको छ । आरसीबी इन्डियन प्रिमियर लिगको साविक विजेता पनि हो ।

प्रभावशाली ब्याट्सम्यान विराट कोहली यही क्लबबाट खेल्छन् । गत अक्टोबरमा सेरम इन्स्टिच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावाला आरसीबी खरिद गर्न तयार रहेको समाचार बाहिर आएको थियो ।

क्रिकबजका अनुसार, अहिले आरसीबी खरिद गर्न इच्छुक उद्योगपतिहरूको संख्या निरन्तर बढिरहेको छ । त्यसमध्ये पनि ६ जना उद्योगपतिसँग निरन्तर छलफल भइरहेको बताइएको छ ।

आरसीबी खरिद गर्न चाहने उद्योगतिको सूचीमा जिन्दल साउथ वेस्ट समूहका मालिक पार्थ जिन्दलको नाम सबैभन्दा अगाडि छ । जिन्दलले विभिन्न चरणमा छलफल गरिरहेको समाचार बाहिरिएको छ ।

पार्थ जिन्दल अर्को आईपीएल क्लब दिल्ली क्यापिटल्सका सह–मालिक पनि हुन् । दिल्ली क्यापिटल्सको अर्को सह–मालिक मालिक भने ग्रान्धी मल्लिकार्जुन राव समूह हो ।

यसैगरी, अडानी समूह पनि आरसीबी खरिद गर्न इच्छुक देखिएको छ । अहिले आरसीबीको स्वामित्व ब्रिटिश कम्पनी डियाजियो पीएलसीसँग छ । तर, डियाजियो पीएलसी आरसीबी बिक्री गर्ने तयारी छ ।

अडानी समूहले सन् २०२१ मा गुजरात टाइटन्स खरिद गर्ने तयारी अगाडि बढाएको थियो । तर, त्यतिबेला दुबै पक्ष सहमतिमा पुग्न सकेनन् । अडानी समूह महिला प्रिमियर लिग क्लब गुजरात टाइटन्सको मालिक पनि हो ।

आरसीबी आईपीएलको इतिहासकै सबैभन्दा लोकप्रिय टोलीमध्ये एक हो । यो क्लबको विश्वभर करोडौँ समर्थक छन् । सामाजिक सञ्जालमा पनि अन्य आईपीएल क्लबको तुलनामा आरसीबीका समर्थक निकै बढी छन् ।

आरसीबीको वर्तमान मालिक कम्पनी डियाजियो पीएलसीले यसको मूल्य १७ हजार आठ सय ५९ करोड भारतीय रुपैयाँ निर्धारण गरेको छ । तर, खरिदकर्ताहरूले भने यो रकम निकै बढी भएको भन्दै मोलतोल गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्