
नेपालको लोकतान्त्रिक राजनीतिक संरचनामा महाधिवेशन एक महत्त्वपूर्ण प्रक्रिया हो, जसले पार्टीको नीति, नेतृत्व र भावी दिशा निर्धारण गर्दछ । पछिल्लो जेनजी आन्दोलन र त्यसपश्चात उठेको राजनीतिक घटनाले देशका प्रमुख राजनीतिक दलमा महाधिवेशनको चर्चा व्यापक भएको देखिन्छ । तर, नेपाली कांग्रेसमा वर्तमान राजनीतिक अवस्था र विशेष गरी जेनरेशन जेड अर्थात् जेनजीको अपेक्षा हेर्दा, विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन नै अपरिहार्य र समय सापेक्ष देखिन्छ ।
आजको पुस्ता जेनजी सन् १९९७ देखि २०१२ को बीच जन्मिएका ती युवा हुन्, जो अहिले नेपालको सामाजिक, राजनीतिक र प्राविधिक क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेका छन् । यो पुस्ता आज नेपाली कांग्रेसभित्र पनि संघर्षरत रहेको छ । पार्टीको भातृसंस्थाको रूपमा आज पनि यो पुस्ता हजारौं संख्यामा लोकतन्त्र बचाउँदै जनसमुदायमा परिणाममुखी कार्यको भोको रहेको छ ।
यी युवाहरूको सोच पारम्परिक भन्दा धेरै फरक छ । उनीहरू पारदर्शिता, जवाफदेहिता र नवीनताको पक्षमा अडिग रहेका छन् । उनीहरू हरेक संस्थागत संरचनालाई समयमै परिणाममुखी देख्न चाहन्छन् । यस्तो अवस्थामा नियमित महाधिवेशनले मात्र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्दै युवाहरूको भरोसासँगै युवा नेतृत्वलाई पार्टीसँग जोड्ने पुलको काम गर्ने गर्दछ ।
विशेष महाधिवेशन: अस्थायी समाधान
विशेष महाधिवेशन प्राय: पार्टीलाई अधिवेशनमा लग्न नसक्ने, नेतृत्व तत्काल परिवर्तन गर्नुपर्ने विषम परिस्थिति अर्थात् संकट वा आपतकालीन परिस्थितिमा आह्वान गरिन्छ- जहाँ पार्टी गम्भीर गुटबन्दी, नेतृत्व संकट वा असामान्य राजनीतिक मोडमा पुगेको हुन्छ ।
यस्तो अवस्थामा विशेष महाधिवेशनले तत्कालीक समाधान दिन सक्छ तर, दीर्घकालीन संस्थागत सुधार र रणनीतिक नीति निर्माणका लागि यो पर्याप्त हुँदैन ।
नेपाली कांग्रेसको इतिहासमा विशेष महाधिवेशन २०१४ सालमा भएको थियो । त्यस विशेष महाधिवेशन २०११ सालपछिको सशस्त्र संघर्ष असफल भएपछि पार्टीभित्र ठूलो अन्योलमा परेको थियो । आन्दोलनमा असफलतापछि पार्टीभित्र गुटबन्दी र मनोबल कमजोर थियो । महाधिवेशनले पार्टीलाई संगठित गर्ने, नीति स्पष्ट गर्ने र नेता-कार्यकर्तामा आत्मविश्वास जगाउने लक्ष्य राख्यो ।
विशेष महाधिवेशनमार्फत् नेपाली कांग्रेसले जनता र अन्तर्राष्ट्रिय समुदायलाई यो सन्देश दिन खोज्यो कि पार्टी लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध छ र त्यसका लागि अब शान्तिपूर्ण ढंगले अगाडि बढ्दै जाने छ । कांग्रेसले आधिकारिक रूपमा सशस्त्र संघर्षको बाटो त्यागेर अहिंसात्मक र लोकतान्त्रिक आन्दोलनलाई प्राथमिकता दिने निर्णय लिएको थियो ।
खासगरी अहिले उठेको विशेष आवाजको राप र तापले आजका जेनजी युवाहरू, जो परिणाममुखी सोचलाई न त समेट्न सक्छ न त अनुभूति नै दिलाउन सक्छ । जेनजीहरू अस्थायी समायोजनभन्दा संस्थागत स्थायित्व चाहन्छन् । विशेष महाधिवेशन समस्या समाधान होइन, प्राय: नियमित अधिवेशनबाट पन्छिने र समस्या लुकाउने प्रवृत्ति जस्तो देखिन थालेको छ ।
नियमित महाधिवेशन: पारदर्शिता र जवाफदेहिताको अभ्यास
संविधान र राजनीतिक दलहरूको विधानअनुसार नियमित समयको अन्तरालमा महाधिवेशन गर्नु अनिवार्य व्यवस्था हो । यस प्रक्रियाले नेतृत्व परिवर्तन, नीति पुनरावलोकन र सदस्यहरूको रायलाई समेट्न सघाउँछ । नियमित महाधिवेशनले संस्थामा शुद्धीकरणको काम गर्छ, जहाँ नेतृत्व परिवर्तन मात्र होइन, नीति निर्माणमा समेत व्यापक बहस हुने गर्दछ ।
आजका नेपाली कांग्रेसभित्रका जेनजी युवाहरू टिकाउ नेतृत्व, आधुनिक सोच र समावेशी निर्णय प्रणाली खोजिरहेका छन् । उनीहरू गुटगत भागबण्डा होइन, मेरिटोक्रेसी अर्थात् योग्यताका आधारमा नेतृत्व चयनमा विश्वास गर्छन् । नियमित महाधिवेशन भनेको यस्तो थलो हो जहाँ युवाहरूको सहभागिता सुनिश्चित गर्न सकिन्छ र नयाँ नेतृत्व उत्पादनको थालनी गर्न सकिन्छ ।
युवाहरूको राजनीतिक आकर्षण र असन्तोष
जेनजी पुस्ता सधैं सडकमा प्रदर्शन गरेर मात्रै राजनीति गर्न चाहँदैन । उनीहरू नीतिगत बहसमा समावेश हुन चाहन्छन्, नीति निर्माणमा योगदान दिन चाहन्छन् । तर, पुराना राजनीतिक संरचनामा यिनको समावेशीकरण अझै अपूरो छ ।
विशेष महाधिवेशनले यिनीहरूको आवाजलाई स्थान दिने सम्भावना नै छैन, किनभने यस्ता अधिवेशन सामान्यतया शीर्ष तहको शक्ति सन्तुलनमै केन्द्रित हुन्छ । त्यसको विपरीत, नियमित महाधिवेशनमा वडा, जिल्ला हुँदै केन्द्रसम्म युवाको प्रतिनिधित्व समावेश हुँदै पार्टीलाई नवीन कांगेस बनाउँदै जान सक्दछ ।
जेनजी अहिले डिजिटल संसारमा हुर्किएको छ । उनीहरू तथ्यमा आधारित बहस चाहन्छन्, भावनामा होइन । उनीहरूले पार्टीभित्र टुक्रामा बाँडिएको सत्ता भन्दा साझा सोच र साझा उद्देश्यको खोजी गरिरहेका छन् तर अपसोच जब राजनीतिक दलहरूले समयमै महाधिवेशन नगरी विशेष महाधिवेशनमार्फत समूह विशेषलाई सन्तुष्ट पार्न खोज्छन्, तब युवा पुस्तामा पार्टीपंक्तिप्रति थप निराशा बढ्दै गइरहेको छ ।
सुधारको थालनी: युवालाई नेतृत्वमा ल्याउने माध्यम
यदि नियमित महाधिवेशन समयमै र प्रक्रियागत रूपमा सञ्चालन गरिन्छ भने त्यो पार्टीभित्र नयाँ र ऊर्जाशील नेताहरू उत्पादन गर्ने माध्यम बन्न सक्छ । नेपाली कांग्रेस पार्टीभित्र जेनजी युवाहरू राजनीति छोड्न होइन, राजनीति रूपान्तरण गर्न संघर्षरत छन् । उनीहरूलाई विशेष महाधिवेशनको आकस्मिकता होइन, नियमित महाधिवेशनको सुनिश्चितता चाहिएको छ, जसले उनीहरूको आफ्नो विचार र दृष्टिकोण समेट्ने छ ।
नेपालजस्तो देशमा जहाँ युवा जनसंख्या उच्च छ, त्यहाँ राजनीतिक दलहरूले यदि युवा पुस्तालाई बेवास्ता गरे तिनीहरू आफ्नो वैधता गुमाउने जोखिममा पर्दै जानेछ । जसअनुरूप जेनजी पुस्ताले अब नेतृत्वको प्रतीक्षा होइन, नेतृत्वमा दाबी गर्न थाल्ने छन्, जसलाई नियमित महाधिवेशनजस्तो लोकतान्त्रिक प्रक्रियालाई नियमित बनाउनु नेपाली कांग्रेसको अहिलेको प्रमुख आवश्यकता हो ।
अन्ततः: विशेष महाधिवेशन नेपाली कांग्रेसका लागि आपतकालीन औषधि हुन सक्छ । तर, दीर्घकालीन रोगको उपचार भने होइन । यसपटक उठेको विशेष महाधिवेशनले आपतकालीन औषधि त बन्ला तर यस समय दीर्घकालीन उपचार गर्ने अर्थात् नियमित महाधिवेशनकै समय हुनाले युवाहरूको मनोभावनाअनुरूप पार्टीमा लोकतन्त्रलाई सबल बनाउने, पार्टीहरूलाई आन्तरिक रूपमा लोकतान्त्रिक बनाउने र युवाहरूलाई राजनीतिको मूल धारमा ल्याउने माध्यम भनेको नियमित महाधिवेशन नै हो ।
वर्तमान जेनजीले यही चाहना राखेका छन्; संविधानसम्मत प्रक्रिया, जवाफदेही नेतृत्व र समावेशी सहभागिता । त्यसैले, आजको सन्दर्भमा विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन नै अपरिहार्य भएको स्पष्ट देखिन्छ ।
लेखक नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्य हुन् ।