
ग्रान्डी इन्टरनेसनल हस्पिटलले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
\अस्पताललाई हालै विश्व स्ट्रोक संगठनले ‘एड्भान्स्ड स्ट्रोक सेन्टर’ को मान्यता प्रदान गरेको हो । यो मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि रहनेछ ।
विश्व स्ट्रोक संगठनले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अस्पतालको सेवा प्रणाली, दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि, बिरामी मैत्री वातावरण र स्वास्थ्य व्यवस्थापनको मूल्यांकन गरी यो मान्यता दिएको हो ।
यसले नेपालमा स्ट्रोक उपचार सेवा विश्वस्तरमा पुगेको प्रमाणित गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले यो उपलब्धिलाई देशकै स्वास्थ्य क्षेत्रको गौरवपूर्ण सफलता भएको बताए ।
उनले भने, 'यो मान्यता हाम्रो टोलीको मेहनत, समर्पण र बिरामीप्रतिको जिम्मेवारीको प्रतिफल हो । ग्रान्डी अस्पतालले बिरामीलाई समयमै उपचार उपलब्ध गराउने, गुणस्तरमा सम्झौता नगर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।'
कन्सल्टेन्ट न्युरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा. राजु पौडेलले यस मान्यतासँगै नेपाली जनतालाई विश्वस्तरको स्ट्रोक उपचार सेवामा पहुँच दिलाउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।
उनले भने, 'नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई स्ट्रोक हुने तथ्यलाई ध्यानमा राख्दै हाम्रो टोलीले तीव्र, समग्र र प्रमाणित उपचार सेवा उपलब्ध गराउने प्रण गरेको छ ।'
विश्व स्ट्रोक संगठनका तर्फबाट डा. डेड्रे डी सिल्भा, डा. रूपल सेडानी र डा. शिला मार्टिन्स नेतृत्वको टोलीले अस्पतालको पूर्वाधार, जनशक्ति, उपचार प्रणाली र सेवाको गुणस्तरको मूल्यांकनपछि ग्रान्डी अस्पताललाई यो प्रतिष्ठित मान्यता प्रदान गरेको हो ।
स्ट्रोक उपचारसँगै अस्पतालले जनचेतना अभिवृद्धि, पुन:स्थापना सेवा र अनुसन्धानमा पनि निरन्तर योगदान पुर्याउँदै आएको छ ।
यो मान्यतासँगै ग्रान्डी इन्टरनेसनल हस्पिटल नेपालमा स्ट्रोक उपचारको नयाँ मापदण्ड स्थापित गर्ने अग्रणी स्वास्थ्य संस्था बनेको छ ।