२४ जेठ २०८३, आइतबार
जेनजी आन्दोलनपछिको सकस

लुटिएका हतियार आपराधिक गिरोहको हातमा पुग्ने जोखिम, खोजबिनका लागि छुट्टै संयन्त्र

कात्तिक ४, २०८२
काठमाडौं
लुटिएका हतियार आपराधिक गिरोहको हातमा पुग्ने जोखिम, खोजबिनका लागि छुट्टै संयन्त्र

जेनजी आन्दोलनमा प्रहरी युनिटबाट १२ सय बढी थान हतियार (पेस्तोल, राइफल) र झण्डै एक लाख राउन्ड गोलीहरू लुटियो । केही हतियार प्रहरीले बरामद गरे पनि अझै अधिकांश हतियार फेला परेका छैनन् ।

भदौ २४ को आन्दोलनमा प्रहरीका कार्यालय तोडफोड र आगजनीसँगै हतियार समेत लुटपाट भएको थियो । सबैभन्दा धेरै हतियार रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट लुटपाट भएको थियो ।

त्यहाँबाट साना र ठूला गरी २५ भन्दा बढी हतियार र चार हजारभन्दा बढी राउन्ड गोली लुटपाट भएको थियो । 

सैनिक मुख्यालयले जनाएअनुसार प्रहरीका लुटिएका ९ सय ७८ थान हतियारमध्ये ५ सय ८६ थान हतियार सेनाले बरामद गरेको छ ।

बरामदमध्ये केही मात्रै प्रहरीलाई बुझाएको र यो तथ्यांक अझै अद्यावधिक हुने चरणमा रहेको सेनाले जनाएको छ ।

प्रहरी विश्लेषणअनुसार धेरै हतियारहरू काठमाडौंमै रहेको अनुमान प्रहरीको छ । केही भने भारतीय सीमा जोडिएका सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशमा पुगेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा कैलालीबाट दुई थान हतियार र २८ राउन्ड गोली बरामद गरिसकेको छ ।

अनुसन्धान कार्यालयले हालसम्म १५ नाल हतियार र ६ सय राउन्ड गोली बरामद गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले लुटिएका हतियार र समान फेला पारेमा प्रहरी कन्ट्रोल १०० वा ट्रोल फ्री नम्बर १६६००१४१५१६ वा प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९४५९ मा सम्पर्क गरेर बुझाउन अपिल गरेको छ । गृह मन्त्रालयले पनि यथाशीघ्र हतियार बुझाउन अपिल गरेको छ ।

प्रहरी मुख्यालयले लुटिएका हतियार बरामद गर्न सम्बन्धित प्रहरी कार्यालयलाई नजिकको सीसीटभीभीको फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोलाई आधार मानेर खोजीकार्यमा संवेदनशील भएर लाग्न परिपत्र गरेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार प्रहरीकै एउटा संयन्त्रले लुटिएका हतियार खोज्ने काम गरिरहेको छ । उनका अनुसार अहिले दैनिकजसो एउटा/दुईवटा हतियारहरू बरामद भइरहेका छन् ।

‘प्रहरीका लुटिएका हतियारबाट अन्य अपराध नहोस् भन्ने हाम्रो चिन्ता हो,’ डीआईजी घिमिरेले लोकान्तरसँग भने, ‘प्रहरीमा सिधै आएर बुझाए भने हामी बुझाउनेलाई धन्यवाद दिन्छौं । प्रहरीले आफ्नै संयन्त्रमार्फत कोहीबाट बरामद गर्‍यो भने उसलाई कानूनअनुसार दण्डित गर्छौं ।’

प्रहरीका अनुसार साना हतियार लुकाउन सजिलो भएकाले कतिपय प्रदर्शनकारीले काठमाडौं उपत्यकामै लुकाएर राखेको आशंका छ ।

नेपाल प्रहरीबाट लुटिएको हतियार आपराधिक गिरोह वा कारोबारीको हातमा पुग्ने जोखिम रहेको मुख्यालयकै एक उच्च अधिकृत बताउँछन् ।

‘यतिका दिनसम्म केही बाहेक अन्यले लुटेका हतियार बुझाउन नल्याउनु भनेकै कि प्रदर्शनकारीसँगै छ, कि देश बाहिर पुगिसके,’ ती अधिकृतले भने, ‘जेलबाट छुटेका र आपराधिक पृष्ठभूमिका व्यक्तिका हातमा हतियार पुग्यो भने त्यसले समस्या ल्याउने देखिन्छ ।’

प्रहरी उच्च स्रोतका अनुसार बानेश्वर वृत्तले केही होस्टेलबाट हतियार बरामद गरेको थियो । तर, मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंबाट चलेको छ ।

स्रोतले भन्यो, ‘आन्दोलनमा आएका व्यक्तिहरू स्क्रिनिङ गर्दा केही युवा होस्टेलमा बसेर पढ्ने गरेको देखियो । खोज्दै जाँदा बुद्धनगर आसपासमा रहेको एक होस्टेलबाट ग्यास गन र एक नाल हतियार बरामद गरियो ।’

पूर्व प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका अनुसार प्रहरी मुख्यालयले अरू सामान्य काम छाडेर भए पनि हतियार बरामद गर्न सादा पोशाकमा छ्यापछ्याप्ती प्रहरी परिचालन गर्नुपर्ने देखिन्छ ।

‘प्रहरीका हतियार नै लुटिनु संवेदनशील विषय हो, यसको दुरुपयोग हुने सम्भावना देखिन्छ, त्यही भएर अरू काम छाडेर भए पनि लुटिएका प्रहरी हतियार बरामद गर्न छुट्टै संयन्त्र परिचालन गर्नुपर्छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘भदौ २४ को आन्दोलनमा हतियार बोकेर हिँडेका व्यक्तिको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्, ती भिडियो केलाएर हतियार बरामद गर्नुपर्छ ।’

त्यसो त गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रहरीका लुटिएका हतियार र सार्वजनिक सम्पत्तिमा आगजनी एवं लुटपाट गर्नेलाई कानूनी दायरामा ल्याउन प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताइसकेका छन् ।

तर, प्रहरीले प्रमाणसहित पक्राउ गरेकालाई गृहमन्त्रीको निर्देशनमा छाड्दा अहिले प्रहरीले पुन: सास्ती भोग्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्