
एसियाका प्रमुख शेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि देखिएको छ।
जापानको मुख्य शेयर सूचकांक निक्केई २२५ ०.८ प्रतिशतले बढ्दै ४९ हजार ५९५.७२ अंकमा पुगेको छ। यो सूचकांक पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक स्तरमा पुगेको हो।
यो उछालको मुख्य कारण जापानकी सानाए टाकाइची पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीलाई मानिएको छ ।
लगानीमैत्री नीति र कम ब्याजदरको पक्षमा सरकार अघि बढ्ने उनको अपेक्षाले बजारमा सकारात्मक प्रभाव पारेको हो। यद्यपि, उनको गठबन्धन सरकारले संसदमा झिनो बहुमत मात्र हासिल गरेको छ।
यसैबीच, जापानी मुद्रा येन अमेरिकी डलरसँग तुलना गर्दा कमजोर हुँदै गएको छ। बैंक अफ जापानले ब्याजदर बढाउने सम्भावना कम देखिएसँगै मुद्रास्फीति नियन्त्रणमा चुनौती आउने अनुमान गरिएको छ।
हङकङको शेयर बजार १.७ प्रतिशतले बढेको छ भने चिनियाँ बजारमा १.२ प्रतिशतको सुधार देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचकांक ०.५ प्रतिशतले उकालो लागेको छ। अष्ट्रेलियाको प्रमुख सूचकांक पनि ०.८ प्रतिशतले बढेर नौ हजार अंक नाघेको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चाँडै हुने भेटवार्ताको सम्भावनाले विश्व बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ। दुई देशबीचको व्यापार तनाव कम हुने आशा गरिएको छ।
संयुक्त राज्य अमेरिकामा पनि शेयर बजारमा सुधार देखिएको छ। एप्पल कम्पनीको शेयर मूल्य करिब चार प्रतिशतले बढेको छ।
त्यस्तै, विश्व बजारमा फलाम उत्पादन गर्ने कम्पनी क्लिभल्याण्ड–क्लिफ्सको शेयरमा २१ प्रतिशतभन्दा बढीको उछाल आएको छ।