
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल पुगेका छन् ।
राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा उपस्थित छन्। त्यहाँ उनीहरूले हमासद्वारा दुई वर्ष कैदपछि रिहा गरिएका इजरायली बन्धकहरूलाई भेटेको समाचारमा उल्लेख छ ।
भान्सले इजरायलमा विशेष दूत विटकफ, कुशनर र युद्धविरामको निगरानी गरिरहेका अमेरिकी सैन्य अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उनी बुधबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरूसँग पनि छलफल गर्नेछन् ।
इजरायलले आइतबार हमासले दुई सैनिकको हत्या गरेको र बन्धकहरूको शव हस्तान्तरण रोक्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमणको लहर जारी राख्दै आफूले ‘नयाँ प्रवर्तन नीति’ लागू गरेको जनाएको थियो ।