२९ जेठ २०८३, शुक्रबार
तोरी र सयपत्री

तोरी झुलेको बारी र सयपत्री फुलेको डिल

कात्तिक ५, २०८२
काठमाडौं
तोरी झुलेको बारी र सयपत्री फुलेको डिल

आँगनको पर्खालमा मौन उभिएर मनभरि रमाएँ । नरमाउनु पनि किन, नीलो आकाशमा कताकति सेता थेग्लाले नवयौवनाको नयाँ पछ्यौरीले मेरो प्रकृतिलाई छहारी दिइरहेका छन् । पूर्वी आकाशबाट उषाको जन्म भई लामा–लामा कलिला हात प्रकृतिसम्म फैलाउँदैछिन् । पश्चिमी नभ पवित्र उषालाई कतिखेर स्वगत गरौं भनी अधीर छ ।

छेवैको भोगटे–निबुवा रूखका हाँगाभरि स–साना चराहरू तलमाथि–तलमाथिको नाच गरिरहेका छन्, शायद आमाहरू सन्तानलाई अर्नी लिन जङ्गलतिर हानिएकाले खुशीमा विचरा बचेराहरू नाचेका होलान् । अघिल्तिर बारीको पाटाभरि लहलह तोरी पँहेलिएको छ र बारीको डिलमा सयपत्री र ठूलोथुँगे फुलेका छन्, मानौं प्रकृति रूपी आमा ठूलो तोरीबुटे फरियामा सयपत्रीको पटुकी बाँधेर सन्तानलाई वक्षस्थलमा लपेटिरहेकी छन् ।

प्रकृतिको पवित्रतामा यसरी प्रकृतिमय बन्दा मेरो मन शून्य आनन्दमा हराउन पुग्यो । शरदीय आनन्दमा मनहरू आफैं के–के न गरौंमा रमिन्छन् ।

हो, शरद सफा हुन्छ । वर्षा जस्तो हिलो र शिशिरजस्तो जाडो हुन्थ्यो भने किन शरद हुन्थ्यो ? कञ्चन आकाश, न जाडो, न गर्मी मौसम; सयपत्री र तोरीसँग शरद आफैँमा रमेको छ । शरद दोस्रो वसन्त हो, यतिबेला रूखका पातहरू नै फूल बनिदिन्छन् । वसन्तको बासना होइन, शरदीय कमनीयताले शरद स्नीग्ध छ । वसन्त बतासिन्छ । अल्लारे राग आलाप्छ । कुरकुरे बैंसमा उत्ताउलिन्छ । शरद परिपक्वताको पराग हो, शालीन सौन्दर्य हो । शरद लयबद्ध छ । तोरी र सयपत्रीले उत्सवलाई डोलाएको छ ।

लहलह लर्केका तोरी र फक्रक्क फक्रेका सयपत्रीलाई स्वागतमा फुर्सद छैन । शरद आफैँ उत्सव बनेर प्रकृति सजाउँछ । थकान र आलस्यलाई पन्छाएर उत्सवले आराम गर्छ । तर, यो आरामी उदासी होइन, मनमनै रमाएको सौन्दर्य हो । प्रथमपटक रजस्वलापछि नुहाएर स्वानन्द र लाजमा रमाएकी यौवना हो । परिपक्वताले प्रकृतिलाई त्यत्तिकै वैंशालु बनाएको छ । आँखाहरू प्रकृतिमा लीन हुन्छन्, मन प्रकृतिसँगै नाच्छन् । मन र प्रकृति एकाकारमा रमाउन पुग्छन् ।

अब त वर्षा धमिल्याएका रोशी, कोशी, तिमाल र महाभारत श्रृङ्खलाको पटुकी बनेर अनवरत यात्रामा हानिएका छन् । अब उनीहरू स्वच्छ छन् । रौद्ररूपमा व्यक्ति र बस्तीलाई हान्दैनन्, बाटोलाई बिगार्दैनन् । माकल र धार्सिङ्खोला र अरू ठाडा खोल्साहरू झरना बनेर छङ्छङाएका छन् । खोलाहरूको स्वाँऽऽऽ सुस्केरा र झरनाको झङ्कारले प्रकृतिलाई सङ्गीतमय बनाएको छ । पहाडबाट मैदान लाग्दा खोलाहरू आफैँ माझिएका छन्, कस्मलताको लेस छैन । स्वच्छ र सुन्दर हुनु स्वीकार्य हुनु हो । नदी, खोला, खोल्सा शरदीय स्वीकार्यतामा छन्, र जीवन बिताइरहेका छन् ।

मेरो मन त्यत्तिकै रमिएको छ– दुई महिनाअघि उत्ताउलिएका खहरे र मडारिएका खोला चोला बदलेर कति सुन्दर र स्वच्छतामा छन् । सोचेँ– जीवनको स्वभाव पनि यही हो । हामीहरू यही रफ्तार र शृंखलामा छौ । सधैँ रौद्रमताइमा रहेर सिर्जना कसले रच्न सक्छ र ? प्रकृति पनि जीवन हो, मानिस पनि प्रकृति हो ।

कुहिरो नभनीकन मसँग शत्रुता गर्छ । म प्रकृतिसँग रमाएको उसलाई कत्ति पनि मन परेको छैन । यो पहाड, रमणीयता र मोहक ऊ उसकै बनाउन चाहन्छ । पहाड छोप्न मधुरो मायालु कुहिरोको हुल क्षण–क्षणमा हानिएको छ । क्षण–क्षणमा प्रकृतिले लुकाएको हलुका गलाबी पहाडी सौन्दर्य उघ्रिन्छ । हावाको मसिना झोक्का कुहिरोसँग प्रतिस्पर्धामा छ । कुहिरोसँग मात्र होइन, मलाई पनि आरिस गर्दैछ । हावाका पातला झोक्काले मेरो ओठ चुम्दै मनसम्म शितलताले स्पर्श दिन्छ ।

शिशिरको होइन, शरदको पवन झोक्का मेरा लागि झापड होइन, स्पर्श हो; प्रहार होइन, सुमसुम्याइ हो । लालुपाते र तोरीबारीको मितेरी छ । सूर्यमुखी र ठूलो थुङ्गेको प्रतिस्पर्धा छ । काँस र अरथुङ्गेको सहकार्य छ । खर र बाबियो पनि पसाएका छन् । बयर र अकबरे रातो भएर फूलकै रङ्ग चोरेका छन् ।

अजम्बरी र अपराजिताको आफ्नै ताल छ । चौर, खर्कमा पनि गुलाबी छर्किएको गलैँचा बनेका छन् । बटवृक्ष नै फूलमय बनेको छ । शरदीय सौर्न्यको कति बयान गरुँ !

तोरीका कलिला काण्डहरू सौन्दर्यको ओजमा थर्थरिएका छन् । रसमा झुम्मिएका स्वार्थी मौरी र फूलकिराहरू झुत्ति खेलिरहेका छन् । प्रतिस्पर्धा भनौं कि सहकार्य, माया ममताको खेल भनौं कि सह–अस्तित्वको दैनिकी ! मेला भर्न आएका घाँसे, गोठाला, दाउरे र बटुवाहरू आफ्नै ध्याउन्नमा छन् । ठूली र बाटुलीको शिरमा लालुपाते र सयपत्री छन् ।

सुन्दर भएर साजएका हुन् कि आफू सुन्दर बन्न सजिएका हुन्, सबै आ–आफ्नै ताल र सुरमा रमाएका छन् । प्रकृतिले सबैलाई केही दिएको छ । सबले प्रकृतिलाई केही दिएका छन् । उनीहरू नएभएको भए जति नै सुन्दर भएपनि त्यसको मजा कसले लिने ? रसपान गर्ने नभए रस सौन्दर्यको के अर्थ ? म भने मौन छु । मौन हुनु पनि आनन्दको अर्को स्वाद हो । मेरो मन प्रकृति र पुरुषको मायावी लुकामारीको एक्लो अवलोकन गरिरहेछ ।

शरदी मोहकताका वनपाखाले छुट्टै स्वाद र सौन्दर्य दिइरहेको छ । वयस्कताले फूल बनेका पातहरू र कत्ला फेर्दै गरेका हाँगाबिँगा छिचोल्दै उषा किरण पातलको परिवेशभरि पोखिँदा परिवेश नै रङ्गरङ्गमा रङ्गमङ्गिएको छ । कुन रङ्ग आँखाले छुट्याउन सक्दैन, मनको अनुभूतले बताउँदैन । इन्द्रेणीमा त सात रङ्ग छुट्टिन्छन्, यहाँ सबै रङ्ग यौगिक घोलाइमा छन् । लाग्छ, थाहा नभएको विख्यात रोकमान्टिक चित्रकारले सकी–नसकी रङ्ग खन्याएको क्यान्भास हो । कति मोहक दृश्य, कति मीठो स्वाद ! यसमाथि पोखिएको चिरिबिरी चर्चरावट स्वर र खोला–छहराको धूनले सम्पूर्णता भर्छ । फेरि रूखका पात मादल र खैँजेडी भर्न पुग्छन् । हो, प्रकृति त चित्रकार पनि रहेछ, सङ्गीतकार पनि । आफैँ मञ्चन पनि गर्दोरहेछ । उषा किरण मिसिएका रङ्गीन लामा रेखाहरूसँग सङ्घर्ष गर्दै रङ्ग छर्दै गरेको कोणिक दृश्यले मेरो मन भने फूलापाती भञ्ज्याङ, स्वाँराको पातल र माहाभारतको वनसम्म क्यान्भास बन्न पुगेको छ । सिड्नीको ओपेरा र भारतको अक्षरधामको सन्ध्याकालीन मोहकतालाई यसले कता हो कता माथ गरिदिन्छ ।

यो शरदीय सुन्दरतामा हावा छ, हुण्डरी छैन । घाम छ, पोलाई छैन । निलो समुद्र झैँ कञ्चन आकाश धर्तीलाई पछ्यौरे स्वच्छताको संरक्षणमा छ । बुवा–हजुरबुवाहरूका पसिनाले बनेका खेतबारीका गर्‍हाहरू महान कालीगरका शिल्पशैलीले कुँदे–सजाएका मनका पाटाहरू हुन्, जुन वैजनी फूलबारी बनेर लमतन्न छन् । शरदीय सुन्दरताले मेरो मन लफ्रक्क भिजेको छ । शरदीय कमनीयताको कसरी बयान गरुँ ? मेरो मन त केवल अवलोकनमै लपेटिएको छ । अरूहरू पनि शरदीय कमनीयतामा हराउँदा हुन् !

आँखाहरू लमो दृष्टिमा रोशीतिर झरे । बेसीका फाँट र फेदीका रुम्टीहरूमा पहेँलिएका धानका बालाले माथितिरका तोरी र सयपत्रीलाई म तिमीभन्दा के कम भनिरहेका छन् । म कसरी छुट्याऊँ– पाक्नै लागेका धानका बालाको स्वाद मीठो कि तोरीको बयेली र सयपत्रीका थुँगाको सुगन्ध मीठो ? शरदीय प्रकृति विविधताको सौन्दय हो, तुलनाको चीज होइन रहेछ । शाश्वत सुन्दरता न तुलना हो, न अनुकरणको चीज ! सबै आफ्नोपनको सौन्दर्य ! सयपत्री र लालुपातेको तुलना किन गर्ने ? ठूलोथुँगे र अर्थुङ्गेलाई किन दाँज्ने ? जे छन्, आफैँमा पूर्ण र नैसर्गिक निजत्वमा छन् ।

गाउँको पहेँलिएको तोरी र बेसीको बयेलिएको धान दुवै नैसर्गिकतामा पूर्ण छन् । न मेरा आँखाले दुई दृश्यलाई पृथक धारमा हेरेर दृश्य प्रतिस्पर्धा नै गरेका छ । प्रकृति आफैँ पूर्ण हो । प्रकृतिले प्रोत्सहान गर्छ र परिपूरकता खोज्छ । एकको अभावमा अर्कोको सौन्दर्य आंशिक लाग्छ ।

प्रतिशोध र प्रतिस्पर्धा प्रकृतिको प्रवृत्ति नै होइन । शरद एउटा पृष्ठभूमि हो, जो वसन्त जस्तो बासनादार र वर्षाजस्तो भयङ्कर छैन, न शिशिरजस्तो कठ्याङ्ग्र्याउने नै ।

शरदलाई नक्षत्र–ग्रहले पनि समदृष्टिमा हेरेका छन् । नक्षत्रका शरदीय कोणहरूले दिन र रातलाई बराबरी बनाएका छन् । यो न्यायको विम्ब हो । समयको आफ्नै न्याय छ । यो समय सङ्क्रमणको सूत्र पनि होइन । यो त उत्सव हो । प्रकृति रमाउन झरेको आनन्द हो । उज्यालो चाड तिहार यही छ । झिलिमिली बत्ती र देउसी भैलो पनि यही छ । हाम्रा कविहरू शरदमा स्वच्छन्द श्रृङ्गारमा अक्षरभित्र पसेर प्रकृतिमा ओर्लिएका छन् ।

प्रकृतिपुत्र महानस्रष्टा लक्ष्मीप्रसाद देवाकोटा प्रकृति उठाएर अक्षरलाई मन्त्र बनाउन पुगे । महाकवि किट्स त ‘ओड टु अटुमन’ भनेर शरदपुत्र नै बने । जोहन मिल्टन, विलियम ब्लेक, वर्डस्वर्थ, रवीन्द्रनाथ र कालीदासहरू शरदका सौन्दर्य स्वादमा रोमान्टिक कवि बने । सबै रोमान्टिक स्रष्टाहरू शरदपुत्र नै हुन् । शरद अलग र नैसर्गिक छ । स्रष्टाहरू नैसर्गिक निजत्वमा खुलेर रमाउँछन् । त्यसैले शरद सिर्जनाको उत्सव हो । शरदमा तोरी झुलेझैँ सिर्जना बयेलिन्छन्, सयपत्री र लालुपाते झैँ सिर्जना स्नीग्ध र स्वच्छ बन्छन् । शायद शरद स्रष्टालाई आफूजस्तै स्वच्छ र सुन्दर बन भनिरहेको छ ।

प्रकृति र प्रेमको शरद, तोरी फुलेको बारी र सयपत्री फुलेको डिल शरद ! शरदीय कमनीयताले सिर्जना भर्ने शरद ! शरद त कहिल्यै नसकिए हुने, शरद त मनभरि आइरहे हुने !

– मैनाली निवास, क्षितिज मार्ग,
तिहार, २०८२ ।

salt training

कमेन्ट गर्नुहोस्