
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेसबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ ।
उक्त स्थानबाट २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।