
दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले घरेलु टोली पाकिस्तानलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।
रावलपिण्डीमा खेलिएको दोस्रो टेस्टको चौथो दिन बिहीबार दक्षिण अफ्रिकाले ६८ रनको विजयलक्ष्य १२.३ ओभरमा केवल दुई विकेट गुमाएर पूरा गर्यो ।
दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जितसँगै दुई खेलको शृंखला १/१ को बराबरीमा सकिएको छ । यसअघि खेलिएको पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि दोस्रो पालीमा ओपनर एडन मारक्रमले ४२ र रायन रिकेल्टनले अविजित २५ रनको योगदान गरे । पाकिस्तानी बलर नोमन अलीले दुई विकेट लिए ।
त्यसअघि, पाकिस्तानी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ३८ रन बनाउँदै अलआउट भएको थियो । पाकिस्तानका लागि दोस्रो पालीमा बाबर आजमले सर्वाधिक ५० रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो ।
दोस्रो पालीमा पाकिस्तानका पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । दक्षिण अफ्रिकी बलर सिमोन हार्मर एक्लैले ६ विकेट लिए । उनले २० ओभरमा पाँच मेडन राख्दै केवल ५० रन खर्चिएका थिए । केशव महाराजले पनि दुई विकेट हात पारे ।
त्यसअघि, दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा चार सय चार रन बनाएको थियो । पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुसामीले अविजित ८९ रनको योगदान गरे । ट्रिस्टन स्टब्सले पनि ७६ रन बनाए ।
तल्लो क्रमका ब्याट्सम्यान कागिसो राबडाले ७१ रनको उत्कृष्ट पाली खेले । टोनी डी जर्जीले पनि टोलीको खातामा ५५ रन थपे । कप्तान एडन मारक्रमले ३२ रन बटुले । केशव महाराजले ३० रन जोडेका थिए ।
पहिलो पालीमा पाकिस्तानी टोलीका बलर आसिफ अफरिदी एक्लैले ६ विकेट लिए । उनले ३४.३ ओभरमा ६ मेडन राख्दै ७९ रन खर्चिएका थिए । नोमन अलीले पनि दुई विकेट हात पारे ।
त्यसअघि, टस जितेर ब्याटिङको निर्णय लिएको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय ३३ रन बनाएको थियो । पाकिस्तानका लागि पहिलो पालीमा कप्तान सान मसुदले ८७ रन बनाएका थिए ।
साउद सकिलले पनि पाकिस्तानी टोलीको खातामा ६६ रन थपे । ओपनर अब्दुल्लाह सफिकले पनि ५७ रन बनाए । सलमान अघाले ४५ रन बटुले । दक्षिण अफ्रिकी टोलीका बलर केशव महाराज एक्लैले सात विकेट लिए । उनले ४२.४ ओभरमा पाँच मेडन राख्दै एक सय दुई रन खर्चिए । सिमोन हार्मरले पनि दुई विकेट हात पारे ।
दोस्रो टेस्टमा दक्षिण अफ्रिकाका केशव महाराज प्लेयर अफ दि म्याच घोषित भए । दक्षिण अफ्रिकाकै सेनुरन मुथुसामी प्लेयर अफ दि सिरिज घोषित भए । अब पाकिस्तान र दक्षिण अफ्रिकाबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला र तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने छ ।