०५ साउन २०८३, मंगलबार

विवादबारे बोले केन- वास्तविकता ठीक उल्टो छ

असार ३०, २०८३
काठमाडौं
विवादबारे बोले केन- वास्तविकता ठीक उल्टो छ

अर्जेन्टिनाविरुद्धको प्रतिष्ठित विश्वकप सेमिफाइनल भिडन्तअघि इङ्गल्याण्डका कप्तान ह्यारी केनले आफ्नो टोलीभित्र कुनै पनि प्रकारको विवाद वा विभाजन नरहेको स्पष्ट पारेका छन्। नर्वेविरुद्धको खेलपछि प्रशिक्षक थोमस टुचेल र मिडफिल्डर जुड बेलिङ्घमको भनाइलाई लिएर सञ्चारमाध्यममा विवादको चर्चा चलेपछि कप्तान केन टोलीको बचाउमा उत्रिएका हुन्।

शनिबार मियामीको अत्यधिक गर्मीबीच इङ्गल्याण्डले नर्वेलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। अब बिहीबार एटलान्टामा इङ्गल्याण्डले साविक विजेता अर्जेन्टिनाको सामना गर्दैछ, जसले स्विट्जरल्याण्डलाई ३-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो।

के थियो त विवाद?
नर्वेविरुद्धको खेल सकिएलगत्तै मैदानमै प्रतिक्रिया दिँदै प्रशिक्षक थोमस टुचेलले इङ्गल्याण्ड 'भाग्यमानी' रहेको र आफ्नो टोलीको प्रदर्शनबाट आफू 'कुनै पनि अर्थमा खुसी नरहेको' बताएका थिए। पछि सञ्चारकर्मीहरूले प्रशिक्षकको उक्त टिप्पणीबारे सोध्दा जुड बेलिङ्घमले 'जे सुकै होस्, मैदानमा खेल्न निकै गाह्रो थियो र त्यो एउटा कठिन श्रम थियो' भन्दै संक्षिप्त र केही रुखो प्रतिक्रिया दिएका थिए। सोही विषयलाई लिएर सञ्चारमाध्यमहरूले टोलीभित्र मतभेद सुरु भएको समाचार सम्प्रेषण गरेका थिए।

बीबीसीसँग कुरा गर्दै कप्तान ह्यारी केनले टोलीमा विभाजन ल्याउने प्रयासको खण्डन गरे। उनले भने, 'त्यस्तो कठिन खेल खेलेर मैदानबाट बाहिरिएको पाँच मिनेटमै प्रश्न सोधिँदा र प्रशिक्षकले वास्तवमै के भन्नुभएको थियो भन्ने स्पष्ट थाहा नहुँदा जुडबाट कस्तो प्रतिक्रियाको अपेक्षा गर्नुहुन्छ? हामी भर्खरै एउटा ठुलो युद्ध लडेर निस्किएका थियौँ। यस्ता ठुला प्रतियोगिताहरूमा टोलीबिच विभाजन देखाउन खोज्नु त इङ्गलिस मिडियाको पुरानै बानी जस्तो भइसकेको छ। तर वास्तविकता यसको ठीक उल्टो छ। हाम्रा खेलाडी, प्रशिक्षक र स्टाफबिचको पूर्ण एकताकै कारण आज टोली यो स्थानमा आइपुगेको हो। कहिलेकाहीँ सामान्य कुरालाई पनि धेरै ठुलो बनाइन्छ।'

प्रशिक्षक टुचेलको शैली पूर्वप्रशिक्षक ग्यारेथ साउथगेटभन्दा फरक भए पनि त्यो सकारात्मक रहेको केनको भनाइ छ। उनले टुचेल स्क्रिप्टेड कुरा नगर्ने र मनमा जे छ त्यही बोल्ने भएकाले नै उनी विश्वकै उत्कृष्ट प्रशिक्षकहरूमध्ये एक रहेको र खेलाडीहरूले उनलाई राम्ररी बुझेको बताए।

salt training

कमेन्ट गर्नुहोस्