२७ जेठ २०८३, बुधबार
आलेख

माओवादीमा 'रेड जेनजी' प्रकट गराइनुको अन्तर्य र गुमनाम 'जेन वाई' !

कात्तिक ७, २०८२
काठमाडौं
माओवादीमा 'रेड जेनजी' प्रकट गराइनुको अन्तर्य र गुमनाम 'जेन वाई' !

यतिबेला बेबी ब्रुमर बोक्न हामीले रेड जेनजी प्रायोग गरेका छौं । यलो, ब्लु र ब्ल्याक समन्वित जेनजी मिसनले आतंक, विध्वंश र बर्बरताको बलमा सत्ता कायापलट गरेपछि निकट भविष्यमा पार्टीभित्र पनि त्यसको प्रभाव नपरोस् भन्ने सचेतताले रेड जेनजी प्रकट गरायौं सायद । जेनजीलाई अरूले जस्तै उपयोग गर्न सके बेबी ब्रुमरको आयु लम्बिन सक्छ भन्ने अनुमान पनि होला । ७० नाघेको बेबी ब्रुमर पुस्तालाई बोकेर ८० को आसपाससम्म कायम राख्नुपर्छ भन्ने यो इतिहासकै पहिलो जेनजी अभियान हो । ७३ वर्षीय जेनजी बज्यै प्रधानमन्त्री बनेपछि रेड जेनजीले पनि ७० को पुस्तालाई ८० मा लैजाने प्रासंगिकता बुझ्यो होला । हाम्रा आफ्नै छोराछोरीलाई जेनजीको ट्याग झुण्ड्याइदिएर आयु लम्ब्याउने हाम्रो कला वास्तवमै गज्जबको छ भन्ने प्रारम्भिक प्रतिक्रियाहरू व्यापक छन् । नक्कल गर्ने अक्कलले कति कामयाबी पाउँछ, थाहा छैन । तर, चाकडीमा चौबीसै घण्टा हाजिर जेन वाई भने ओझेलमा पर्ने सम्भावना प्रस्ट छ ।

जहाँसम्म माओवादीमा जेन वाई पङ्क्ति छ, त्यो तीनओटा कुरा चाहन्छ, पहिलो क. प्रचण्ड, दोस्रो माओवादी पार्टी र तेस्रो अवसर । यी तीनवटै कुरा कति समयसम्म उसको भावनात्मक पक्षको केन्द्रमा रहन्छ थाहा छैन । एकाध व्यक्तिबाहेक क. प्रचण्डलाई यो पुस्तासँग अनिवार्य सम्पर्कमा रहनुपर्ने बाध्यता छैन । जेनजीमा आकर्षणको परिणामले त्यो सहजै अनुमान गर्न सकिन्छ । माओवादी नामको ब्राण्ड कुनैपनि पार्टीसँग मर्जका बखत गुम्ने कुरा निश्चित छ । नेकपा बन्दा एकचोटी गइसकेको यो नाम अदालतले फिर्ता गरेको हो भने राजनीतिक र आर्थिक दुवै अवसर माओवादीको जेन वाई पुस्ताबाट हमेसा भाग्ने गरेको तथ्य जगजाहेर छ ।

अनिश्चय, अनिश्चितता, अल्मल, अकर्मण्यता र अस्पष्टताको कुल योगफलमा पुग्दा माओवादीभित्र जेन वाई सबैभन्दा अभागी पुस्ता हो । युद्धका दौरान हरेक इकाइमा कमाण्ड सम्हालेको यो पुस्ता शान्ति प्रक्रियामा आइसकेपछि कमाण्डरबाट परोक्षरूपमा कारिन्दामा परिणत भयो । उच्च शिक्षाबाट वञ्चित, आर्थिक आधारबाट वञ्चित, पारिवारिक सहयोग र सामाजिक अन्तरघुलनबाट वञ्चित यो पुस्ता शान्ति प्रक्रियालगत्तै सर्भाइभको संकटमा फस्यो । आफ्नो खरो विचार, शीघ्र, समग्र र सम्पूर्ण परिवर्तनको अभिलाषा एकाएक दैनिक गुजाराका साना डटहरूमा अड्किन थाल्यो ।

त्यसबेला यस पुस्ताका अगाडि दुई विकल्प थिए या सक्रिय राजनीतिबाट किनारा लागेर पारिवारिक व्यवस्थापनमा जानुपर्ने, या त अघिल्ला दुई पुस्ताका सिनियरहरूका राम्रा–नराम्रा सबै कुराको सहयोगी बनेर आफ्नो आर्थिक र राजनीतिक सर्भाइभ गर्नुपर्ने । पहिलो विकल्प रोज्नेहरू समर्थक शुभचिन्तकमा सीमित रहे वा अर्को बाटो अगाडि बढ्ने ठाउँमा पुगे । दोस्रो विकल्प रोज्नेहरू जेनजीको भाषामा झोले भए । माओवादीभित्रका जेन वाई झोलेहरू अवसर नपाएका इमान्दार मात्र होइनन्, खासमा तिनको चरित्र पनि सापेक्षिक रूपमा इमान्दार नै छ ।

दुई सिनियर पुस्ताको चेपुवामा दबेको यो पुस्ताले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संक्रमणकालीन चरणलाई आफ्नै जीवनको र समाजको नियत र नियतिका दुवै विशेषताहरूकासाथ भोगेको छ । माओवादीमा लास नबोकेको र आफ्नै शरीरका घाउहरूमा आफैंले ड्रेसिङ नगरेको जेन वाई निकै कम छ । लास नबोकेका काँध, स्टेचर नदेखेका आँखा, बन्दुक र ग्रिनेड नचलाएका हात, अनि बारूद र डिटोनेटर नबोकेको झोला माओवादीभित्रको जेन वाईले कल्पनै गरेन । हिमपात, वर्षात् र शीत एउटै व्यक्तिले व्यहोरेको, हरेक वर्षमा हरेक फरक मौसम, हरेक फरक भूगोल एउटै व्यक्तिले अनुभूत गरेको, हरेक समुदाय, हरेक परिवार र प्रत्येक घरमा पाइला टेकेको एक वृहत् रूपान्तरणकारी अभियान थियो जनयुद्ध । त्यसको सन्देश वाहक थियो जेन वाई ।

आफ्नो किशोरावस्थादेखि नै जेन वाई अघिल्ला दुई पुस्ताका सिनियरहरूको सन्देशवाहक बन्यो । अहिले पनि सायद ऊसँग समकालीन समाजसम्म पुर्‍याउने अथवा जेनजी र भोलि जेन अल्फासम्म पुर्‍याउने आफ्नै कुनै सन्देश छैन । नयाँ विचारको झन्झट सृजना गर्ने कुरालाई त यसले बेकार सम्झन्छ नै यथास्थितिकै विचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने मनोबल र आत्मविश्वास नभएको यो पुस्ता आफूले अँगालेको दर्शन, विचार र राजनीतिको चौकीदारी भूमिकामा उभिन चाहिरहेको छ त्यो पनि यसबाट पूरा हुने सम्भावना देखिँदैन । राजनीतिक चौकीदार बन्नु पनि कठिन कुरा हो । मसलमा तेल लगाएर, शासनको पक्षमा लबिङ गर्न जिब्रोमा धार लगाएर, दुईचार जना हाटहुट गर्नेहरू जम्मा गरेर, फरक सोचहरूमाथि निषेधाज्ञा जारी गरेर, आलोचनात्मक चेतमाथि आक्रमण गरेर एकाध नेताको चौकीदारी त हुनसक्छ, तर त्यो राजनीतिक चौकीदारी होइन ।

माओवादीभित्र यतिबेला जेन वाई तीन हिस्सामा विभाजित छ । पहिलो, यथास्थितिको रक्षार्थ आफू भेनगार्डका रूपमा जन्मेको र संसारको मुक्तिदाता आफ्नो बोस मात्रै रहेको निष्कर्षवाला । दोस्रो, टिकट र पार्टी जिम्मेवारी खोसिएको वा प्राप्त गर्नसक्ने सम्भावना बाँकी रहेको हिसाब–किताबसहित आगामी प्राप्तिलाई नै केन्द्रभागमा राखेर तेल घस्दै सत्ता र शक्तितिर ढल्कनेवाला र तेस्रो गोलमटोल तथा मौनवाला प्रवृत्ति । यी तीन ओटै प्रवृत्तिले नयाँपन र निकास दिन सक्दैनन् । यही माओवादीभित्रको आजको मूल समस्या हो । जेन वाईअघिका सिनियरपुस्तालाई यो कुरा राम्रैसँग थाहा छ । अघिल्लो पुस्तालाई क्रस गर्न पनि नसक्ने र प्रभावकारी सहकार्यका लागि दबाबमूलक रणनीति अपनाउँदै आफ्नो दह्रो उपस्थितिको सुनिश्चितता गर्न पनि नसक्ने नियतिले यो केन्द्रीय कार्यकर्ताको हैसियतमा सीमित छ । आफैँ अल्मल, द्विविधा र ब्लरजस्तो देखिने यसले जेनजीको नेतृत्व त झन् कसरी गर्न सक्छ र? बरु माथिबाट अघिल्ला पुस्ताहरूको वर्चस्व र तलबाट जेनजीको ओभरल्यापका बीच यस पुस्ताको पहिचानमाथि गम्भीर संकट छ ।

मार्क्सवादले कम्युनिज्मको थेसिस लेख्न निर्देश गर्ने र आइटीले कस्मोलोजीको रिसर्चबारे जानकारीका लागि इन्फर्मेसनको भण्डार हातमै पठाइदिने विरोधाभासी समयको बीचमा वास्तवमा यो पुस्ता वृहत् कम्प्लेक्समा जेलिएको छ । यसले आफ्नो किशोरावस्थामा पहिले बन्दुक बोक्यो । त्यसपछि मस्तिष्कमा प्रचण्डको आकृति बोक्यो र अन्तमा प्रचण्डले बोकाएको थोरै विचार राजनीति बोक्यो । बन्दुक बोक्दै गर्दा जेन वाई अनुपातका हिसाबले अहिलेको जेनजीभन्दा अझ कम उमेरको थियो । माओवादीभित्रको त्यस पुस्तालाई उच्च शिक्षा, करियर, ग्लोबलाइजेसन, राजकीय संस्थाहरूको सुधार आदि विषयमा कुनै आकांक्षा थिएन । त्यसले गाउँको गरिबी, अभाव र विपन्नता देख्यो ।

प्रमुख नेताहरूसँगै देश, जनता, पार्टी र व्यवस्थासित जानुपर्छ भन्ने हठ बोकेको दासत्व इतिहासकै विडम्बना हो र जेन वाईप्रति आशा एवं भरोसा गरेको समाज त्यही दासत्वको शिकार हुँदैछ ।

मुठ्ठीभर मानिसहरूको दबाव, प्रभाव र रवाफ देख्यो । २०४६ को प्रजातन्त्र शहर र सदरमुकाममा बस्ने बहुदल समर्थक कार्यकर्ताका लागि सीमित थियो । गाउँको शासनमा मुखिया, प्रधान र गा.वि.स. अध्यक्षहरूको साझेदारी थियो । गाउँमा हवल्दारको हैकम चल्थ्यो । गरिब निमुखाहरू कानून दुरुपयोगको प्रयोगशाला थिए । उनीहरूमाथिको थिचोमिचो अन्याय र अत्याचार पञ्चायतको भन्दा धेरै फरक थिएन । छुवाछुत र भेदभाव कायमै थियो । अधिकारको व्याख्या फगत कागजी कथा थियो । जेन वाईले त्यही देख्यो । त्यसैका विरुद्ध लड्न हिँड्यो । चेतनाको विकास पनि त्यही परिवेशको वरिपरिबाट भयो ।

उसको फिल्ड नेतृत्व मोर्चा कमाण्डरले गरे पनि राजनीतिक नेतृत्व प्रचण्ड नै हो भन्ने कुरा शुरूदेखि नै स्थापित थियो । त्यसैले शान्ति प्रक्रियापछि जेन वाईले प्रचण्डलाई नै आफ्नो मूल नेतृत्व र अभिभावक मान्यो । गएका पच्चिस–तीस वर्षदेखि प्रचण्डको सर्कुलरले मात्रै दिमाग चलाउन रुचि राख्ने त्यो पुस्ता कम्युनिष्ट सिद्धान्तद्वारा निर्देशित हुने र सचेत कम्युनिष्ट बन्ने भन्दा पनि प्रचण्डको कट्टर फलोअर बन्यो । प्रचण्डको कृत्रिम आकृति देखेको र कहिलेकाहीँ मिडियामा आउने वक्तव्य सुनेको भरमा वर्षौं युद्ध लड्ने बानी परेका हाम्रा सामु प्रचण्डले नै विषय राखेपछि कन्भिन्स हुनु स्वाभाविक हो ।

शुरूदेखि नै हामीले विचारधारा, सिद्धान्त, संगठन र नेतृत्व सबै प्रणालीगत कुराहरू हुन्, तिनको पनि समय हुन्छ । तिनलाई पनि जवाफदेही बनाउनुपर्छ । परिणाम सही निस्केन भने विकल्प खोज्नुपर्छ भन्ने मनोविज्ञानबाट हाम्रो सिकाइ र हुर्काइ बनेन । क. अध्यक्षले पनि अरिंगालको सानो झुण्ड जस्तो एउटा कट्टर समूह बनाउने र त्यसैको प्रशंसामा अन्तरपार्टीभित्र बहुमत साबित गरी पार्टी हाँक्ने मनोविज्ञान विगतदेखि नै कायम राख्नुभयो । जसका कारण यो पार्टी सैद्धान्तिक चेत, विचार राजनीतिको आलोचना र संगठनमा नेतृत्वको निरन्तर श्रृंखलामा विश्वास गर्न नसक्ने ठाउँमा पुग्यो । पार्टीको सिद्धान्त र आदर्श के हो भनेपनि क. प्रचण्ड, विचार राजनीति के हो भने पनि क. प्रचण्ड, संगठनात्मक सिद्धान्त, प्रणाली र ढाँचा के हो भने पनि क. प्रचण्ड, यस्तो देवत्वकरणको शैलीबाट हामी आयौं । द्वन्द्वात्मक भौतिकवादको आवरणमा र मालेमावादको ट्याग भिरेका हामी दार्शनिक रूपले अधिभूतवादी, वैचारिक रूपले कठमुल्लावादी, राजनीतिक रूपले श्रुतीमय प्रज्ञावादी र व्यवहारिक रूपले भरोसावादी बन्यौं ।

अरिंगाल जस्तो जाइलाग्ने समूह, पार्टीभित्र ९९ प्रतिशतको बहुमत, सदनमा दुई तिहाइ, देशको दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री सबै हुँदाहुँदै पनि आखिर आँखैबाट सिंगो मुलुक खरानी भएको हेर्नुपरेको एमालेको निकट विगतबाट पाठ नसिक्ने हो भने हाम्रो हालत के होला? केही समयअघि केपी ओलीविना नेपाली राजनीतिको पात पनि हल्लिँदैन भन्ने व्याख्या गर्नेहरू २४ गते साँझ आफैँ बेपत्ता थिए । ठीक त्यस्तै हामीभित्रको एउटा उग्र समूहले आलोचना सुन्नै सक्दैन । नेतृत्वलाई राजा महाराजाकै शैलीमा प्रश्नरहित हुनुपर्छ भन्ने मानसिकता रहेको त्यस समूहले तपाईंलाई छोडेर जाँदा अरूको हालत के भो कामरेड हामी भएसम्म ढुक्क रहनुस् त भन्छ । गएकाहरू अनिर्णयको बन्दी बनेको पनि सही हो । तर, प्रचण्ड ६४ को सिट संख्याका हिसाबले र नयाँ संविधानको अन्तर्वस्तुका हिसाबले कम्तीमा तीन दशक त कसैले डेग चलाउन नसक्ने पहिलो पार्टीको सदाबहार एकल सत्ता हाँक्ने बोल्ड लिडर बन्नु पर्ने हो त । बरु त्यसको उल्टो सरकारका लागि हामी पिपलपाते शैलीमा कोल्टो फेर्दै गयौं । हाम्रा सामुको नतिजा यहि हो ।

कांग्रेस एमालेको सिट संख्याबाट हेर्दा निकै तलको फुच्चे जस्तो देखिने अवस्था कसरी आइलाग्यो? प्रतिद्वन्द्विता त खास त्यहाँ होला नि त । संसदीय व्यवस्थाको रिङबाहिर रहेकाहरूसँग प्रतिस्पर्धा देखाएर आत्मरति लिने ठाउँमा कसले पुर्‍यायो ? संविधानपछि लगातारका तीनवाटा निर्वाचनमा पार्टी उकालो लागेन । कार्यपालिका र व्यवस्थापिका छैनन् । देश जलिसक्यो । संविधान कोमामा छ । हामी भन्दैछौं अध्यक्षको कारणले यो सब बच्यो । एमालेभित्र पनि त्यस्तो पङ्क्ति छ, अध्यक्षकै कारणले यो सब जोगियो भन्ने । अनि यो जलेको कसका कारणले हो? विगत एक दशकदेखिका सत्ता चक्रमा को थिए?

यो सबै पृष्ठभूमि किन तयार भयो अनि अहिले जोगिएको र बाँचेको वा बचाइएको के हो? आर्मी ब्यारेकमा बचाएर राखेको केही नयाँ चिज छ भने सार्वजनिक गरौं । नेताहरू बाहिर फर्किदा यो देशका प्रायः महत्त्वपूर्ण संरचनाहरू ध्वस्त भइसकेका थिए । हामीले बचेको केही देखेका छैनौं र सत्ताको म्युजिकल चेयरमा आलोपालो गर्नेहरूको हालीमुहाली फेरि हेर्ने रहर हो भने शायद त्यो समय पनि गइसक्यो । देश जल्दा नैतिकता प्रदर्शन गर्न नसक्ने र लुटखसोटमा आजीवन अनैतिकता प्रदर्शन गरिरहनेहरूलाई जेन वाई र नवगठित जेनजी त के जेन अल्फाले पनि बचाउन सक्नेछैन । यत्ति कुरा बुझे काफी हुन्छ ।

व्यवस्थाप्रति, आफ्ना दलहरूप्रति र लोकतन्त्रप्रति माया छ भने सैनिक ब्यारेकभित्रैबाट राजीनामा दिएर पार्टी नेतृत्व दोस्रो पुस्तामा गइसकेकाले नयाँ नेतृत्व चयन गर्नु भन्ने सन्देश आउनुपर्थ्यो । नैतिकता गुमाइसकेकाहरूसँग त्यो आँट थिएन । देशप्रति, दलप्रति, जनताप्रति र व्यवस्थाप्रति माया थिएन । यही आँखा अगाडिको वास्तविकता हो । तर, एक जेन वाई भन्ने जेनेरेसन सबै पार्टीभित्र छ र हामी कहाँ पनि छ । त्यो दास मनोवृत्तिको पुस्ता लुटखसोटको केन्द्रका रूपमा बदनाम तिनै पार्टी प्रमुखहरूलाई सतीदेवीको लास बोकेझैं काँधमा बोक्ने, खुट्टा ढोग्ने र पूजा आराधना गर्ने काममै व्यस्त छ ।

सबैभन्दा बढी यस समयको दिक्दारीको कारण नै यही जेन वाई पुस्ता हो, जसलाई आफूप्रति भरोसा छैन । समाजको आलोचनाप्रति गम्भीरता छैन र व्यक्ति पूजामै जीवन समर्पित गर्ने सोच राखेको यो पुस्तालाई कुनै राजनीति, विचार, दर्शन र सामाजिक असन्तोषको लहरले चाहिँ बचाउन सकेन ।

प्रमुख नेताहरूसँगै देश, जनता, पार्टी र व्यवस्थासित जानुपर्छ भन्ने हठ बोकेको दासत्व इतिहासकै विडम्बना हो र जेन वाईप्रति आशा एवं भरोसा गरेको समाज त्यही दासत्वको शिकार हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्