२५ जेठ २०८३, सोमबार
त्रासमा कर्मचारी प्रशासन

जेनजीका नाममा विभिन्न समूहको धम्कीले कर्मचारी आजित, मुख्यसचिवलाई सामूहिक गुनासो

कात्तिक ७, २०८२
काठमाडौं
जेनजीका नाममा विभिन्न समूहको धम्कीले कर्मचारी आजित, मुख्यसचिवलाई सामूहिक गुनासो

प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारीलाई उच्च मनोबलले काम गर्न सुझाउँदै आएकी छिन् ।

‘सर्भिस डेलिभरी’ मा दाँयाबाँया नगरी काम गर्न उनले मुख्यसचिव एकनारायण अर्याललाई  पटक–पटक निर्देशन समेत दिइसकेकी छन् ।

कार्कीको निर्देशन मुख्यसचिव हुँदै सचिव र जिल्लाका सिडियोसम्म पुगिसक्यो । तर, कर्मचारीको मनोबल कार्कीले भनेजस्तो सजिलै उकासिने छाँटकाँट देखिएको छैन ।

जेनजीका नाममा अहिले दैनिकजसो सचिव र सिडियोहरू (सहसचिव र उपसचिव)लाई धम्की दिने काम भइरहेको स्रोत बताउँछ । उसै पनि कर्मचारीलाई सोलोडोलो विश्लेषण गर्दैै ‘भ्रष्ट’को पगरी गुथाउने प्रवृत्ति छ ।

जेनजी आन्दोलनको मुख्य माग पनि भ्रष्टाचार नियन्त्रण नै हो ।

तर, अहिले जेनजीको नाम लिएर हरेक कुरामा अड्को थाप्ने काम भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरसँग बताए ।

ती अधिकृतले भने, ‘हामीले काम गर्ने अवस्था भएन, सरुवा गरिदिनुस् भन्दै कर्मचारीले फोन गर्न थालेका छन् । विगतमा अतिरिक्त समूहमा राख्दा कर्मचारीलाई थन्क्याइयो भनिन्थ्यो, अहिले तिनै कर्मचारी अतिरिक्तमा बस्न रुचाएका छन् । स्थानीय तहका कर्मचारीलाई समेत धम्की दिन थालेको सूचना आएको छ ।’

केही दिनअघि मात्रै सचिवहरूले मुख्यसचिवलाई संयुक्त रूपमा भेटेर निराशा पोखेका थिए ।

‘जेनजीका नाममा हाम्रा कोठा–कोठा पुगेर धम्क्याउने, तर्साउने गतिविधि हुन्छ भने हामी काम गर्न सक्दैनौं,’ भन्दै सचिवहरूले गुनासो गरेका थिए ।

मुख्यसचिव अर्यालले ‘परिस्थिति सामान्य बन्दै जान्छ, अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन’ भनेर सम्झाएको एक सचिवले लोकान्तरलाई जानकारी दिए ।

राजनीतिक नियुक्ति पाएकालाई मात्र होइन, स्थायी कर्मचारीहरूलाई पनि धम्क्याएर राजीनामा दिन दबाब दिने क्रम बढेको कर्मचारीहरू बताउँछन् ।

पछिल्लोपटक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मार्गप्रशस्त गर्न भन्दै धम्की दिएको घटना बाहिरिएको थियो । त्यति मात्रै होइन, उनीमाथि दुर्व्यवहार नै भयो । ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अधिकारी मात्रै होइन, अन्य उच्चपदस्थलाई पनि जेनजीका नाममा धम्की दिने काम भइरहेको छ । सिंहदरबारभित्र गृह मन्त्रालयका कर्मचारीहरूमा धेरै ‘फ्रस्टेसन’ देखिएको स्रोत बताउँछ ।

‘दैनिकजसो जेनजीका नाममा कुनै न कुनै समूहले मन्त्री र सचिवलाई भेटेर निर्देशनमाथि निर्देशन दिइरहेका हुन्छन्,’ मन्त्रालयका एक अधिकृतले भने, ‘मन्त्री र सचिवको काम नै जेनजीलाई भेटेर उनीहरूका कुरा सुन्ने र सोहीअनुसार कर्मचारीलाई निर्देशन दिनेमा सीमित छ । हामीले कसको कुरा सुन्ने ?’

त्यसो त सार्वजनिक प्रशासन रुपान्तरण अभियान– २०८२ नै घोषणा गरेर केही कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाइसके ।

उनीहरूले हालको प्रशासनिक नेतृत्वबाट रुपान्तरण सम्भव नहुेन जिकिर गर्दै उच्च प्रशासकीय नेतृत्वकर्तासहित मतियारको रूपमा काम गर्ने जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए । प्रशासनिक नेतृत्व मुख्यसचिव एकनारायण अर्याल हुन् ।

मातहतका कर्मचारीले नै बर्खास्तीको माग गरेपछि कर्मचारी वृत्तमा यसले खैलाबैला मच्चिएको थियो । तर, अभियानमा रहेका कर्मचारीको पृष्ठभूमि विवादास्पद रहेको ‘ब्रिफिङ’ प्रधानमन्त्री कार्कीसमक्ष पुगिसकेको छ ।

‘कोही हिजो श्रममा बसेका, कोही मालपोतमा बसेका, कोही सिंहदरबारमै लामो समय बिताएका र कोही अख्तियारको कारबाहीमा परेका व्यक्तिहरू अभियानमा लागेका छन्,’ उच्च स्रोतले भन्यो, ‘आफू जिम्मेवारी पनि नलिने र भएको संरचनालाई पनि भत्काएर कर्मचारी वृत्तलाई पेवा सम्झनेहरूका बारेमा मुख्यसचिव राम्रोसँग जानकार हुनुहुन्छ ।’

पूर्वसचिव अर्जुनजंग थापा जेनजीका नाममा कर्मचारी धम्क्याउने र तर्साउने कामलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताउँछन् ।

उनले लोकान्तरसँग भने, ‘अहिलेको सरकार जेनजीकै विद्रोहबाट बनेको हो । कर्मचारी दोषी छन् भने सरकारकै संयन्त्रले कारबाही गरे भइहाल्यो नि, कार्यालय/कार्यालय छिरेर जेनजीका नाममा धम्की दिने काम हुनु हुँदैन । यसले कर्मचारीको मनोबलमा असर पर्छ । यो कार्यलाई नियन्त्रण गर्नुपर्छ ।’

पूर्व सचिव थापाका अनुसार विगतमा ट्रेड युनियनका नाममा कर्मचारीहरूले आफूनिकट दलका सरकार आउनेबित्तिकै सेवासुविधा लुटिरहेका थिए ।

अब बन्द हुने भएपछि अभियान सञ्चालनका नाममा अर्को ट्रेड युनियन बनाएर मौका छोप्ने रणनीतिमा केही कर्मचारी लागेको थापा बताउँछन् ।

‘जो उपत्यका बाहिर सरुवा हुन चाहँदैनन्, लामो समय रोजी–रोजी कार्यालयमा सरुवा भएर सुविधा लिन्छन् वा भनौं विगतमा तर मारेको छन्, अहिले अभियानका नाममा फेरि तर मार्न खोजेका छन्,’ थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्