
गृह मन्त्रालयले आइतबार ३८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गर्दा ‘मापदण्ड’लाई लत्याइएको पाइएको छ ।
‘क’ वर्गबाट ‘क’ मा सरुवा गर्न नमिल्ने मापदण्डको उपेक्षा गर्दै सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुबाट बाँके पठाइएको छ । उनी उपसचिवबाट सहसचिव भएको एक वर्ष पनि भएको छैन । बढुवा भएको एक वर्षमै मापदण्डविपरीत ‘क’ वर्गको कपिलवस्तुबाट अर्को ‘क’ वर्गको जिल्ला बाँके सरुवा गरिएको हो ।
महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाललाई महोत्तरीबाट दोलखा सरुवा गरिएको छ । रिसालको गत वैशाख २५ गते मात्रै महोत्तरीमा सरुवा भएको थियो । सहसचिव इन्द्रदेव यादव सातौंपटक सीडीओ बनेका छन् । उनलाई मोरङबाट महोत्तरी पठाइएको छ । उनीसँग यसअघि सुनसरी, चितवन, रौतहट, इलाम र मोरङको सीडीओ बनेर काम गरेको अनुभव छ ।
‘क’ वर्गकै तीनवटा जिल्लाहरू क्रमश: चितवन, सुनसरी र मोरङ चलाएका यादवले मधेशी कोटाको भरपूर फाइदा उठाएका छन् ।
अर्का सहसचिव धर्मेन्द्रकुमार मिश्रले पनि सीडीओमा छैठौँपटक बाजी मारेका छन् । सुनसरीको सीडीओ रहेका उनलाई बारा सरुवा गरिएको छ । मालदार अड्डामा काम गरेका मिश्रले यसअघि नवलपरासी, कपिलवस्तु, रौतहट, कैलालीको सीडीओ बनेर काम गरिसकेका थिए ।
गत जेठ २१ गते मात्रै धनुषा सरुवा भएका सहसचिव शंकरहरि आचार्यलाई सरुवा गरी गृह मन्त्रालयमा तानिएको छ । धनुषामा उदयपुरका सीडीओ प्रेमप्रसाद लुइँटेललाई पठाइएको छ ।
गत भदौ ६ गते मात्रै भक्तपुरमा सीडीओको रूपमा सरुवा भएका सहसचिव नमराज घिमिरेलाई तानेर राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ । पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई भने मोरङको सीडीओ बनाएर पठाइएको छ ।
बाराका सीडीओ प्रकाश पौडेललाई पनि साढे दुई महिना नबित्दै सरुवा गरिएको छ । उनलाई भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा सरुवा गरिएको हो । बारामा हाल सुनसरीको सीडीओ रहेका धर्मेन्द्रकुमार मिश्रलाई पठाइएको छ ।
सुनसरीमा भने वासुदेव घिमिरेलाई सीडीओ बनाएर पठाइएको छ । जबकि उनले यसअघि मालदार जिल्ला चलाइसकेका छन् । कास्की र रुपन्देहीको सीडीओ चलाइसकेका घिमिरेलाई केही दिन मात्रै मन्त्रालय तानेर सुनसरी पठाइएको हो ।
अवकाशको मुखमा रहेका प्रेम भट्टराईलाई ललितपुर सरुवा गरिएको छ ।
सिरहाका सीडीओ वसन्त अधिकारीलाई मकवानपुरको सीडीओ बनाएर पठाइएको छ । उनी यसअघि बाराबाट सिरहामा गत भदौ १६ गते मात्रै सरुवा भएका थिए ।
सिरहामा बर्दियाबाट सुरेन्द्र पौड्याललाई ल्याइएको छ । पौड्याललाई गत जेठ २६ मा मात्रै बर्दियामा सीडीओ बनाएर पठाइएको थियो । गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको सीडीओ बनाएर पठाइएको छ ।
गत भदौ १३ गते मात्रै दोलखाको सीडीओका रूपमा सरुवा भएका सहसचिव भोला दाहाललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सीडीओ बनाएर पठाइएको छ । दोलखामा भने महोत्तरीका सीडीओ नारायणप्रसाद दुवाडीलाई पठाइएको छ ।
धनकुटाका सीडीओ शिवराम गेलाललाई झापा पठाइएको छ । धनकुटामा रौतहटबाट विनोदकुमार खड्कालाई सरुवा गरिएको छ ।
त्यस्तै, बाँकेमा दिलकुमार तामाङ, कैलालीमा हिरालाल रेग्मी, रौतहटमा दिनेश सागर भुसाल, सिन्धुलीमा स्किम श्रेष्ठ, गुल्मीमा आनन्द सारू र लमजुङमा डा. टोकराज पाण्डेको सरुवा भएको छ ।
जेनजी आन्दोलनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार कार्यालय र अन्य सरकारी कार्यालय तोडफोड हुँदा पनि कास्कीका सीडीओ रुद्रादेवी शर्मालाई चलाइएको छैन । उनी बर्दियाबाट सरुवा भएर कास्की पुगेकी थिइन् ।
गृह स्रोतका अनुसार आइतबारको सीडीओ सरुवामा गृहसचिव रामेश्वर दंगाल हावी भएका छन् । उनले विगतमा अख्तियारमा बसेका सहसचिवलाई राम्रो जिल्लाको सीडीओ बनाएर पठाएका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीनिटक दंगालले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत माथ दिँदै सीडीओ सरुवामा मनोमानी गरेको गृहका एक उच्च अधिकारीले दाबी गरे ।
‘दुई महिना अघि मात्रै सरुवा गरिएका सहसचिवलाई सरुवा गर्नुपर्ने आधार समेत नखोजी आफूनिकट कर्मचारीलाई धमाधम सीडीओ बनाएर पठाइएको छ,’ ती अधिकृतले भने, ‘यो सरुवामा गृहमन्त्रीलाई सचिवज्यूले बाइपास गर्नुभएको हो ।’
फागुन २१ गते हुने चुनावलाई लक्षित गरेर सीडीओ हेरफेर गरिएको हल्ला बाहिर चलाएर मनपरी ढंगले सरुवा गरिएको दाबी उनले गरे ।
डीआईजी बढुवा सिफारिसमा गृहमन्त्री हावी
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश गर्दा गृहमन्त्री अर्याल हावी भएका छन् । वरीयतामा १ नम्बरमा रहेका विश्व अधिकारीलाई पन्छाएर अर्यालले अन्य पाँचजनाको बढुवा सूची निकाल्न लगाएका छन् ।
एसएसपी अधिकारी काठमाडौं प्रहरीको प्रमुख हुँदाका बेला भदौ २३ र २४ गतेको घटना भएको थियो । सुरक्षा कमान्ड फितलो भएको चार्ज लगाएर अधिकारीलाई बढुवाबाट विमुख पारिएको स्रोत बताउँछ । जबकि अधिकारीलाई प्रहरी संगठनभित्रै उनको ब्याचकाले भावी प्रहरी महानिरीक्षकको रूपमा बुझ्दै आएका थिए ।
बढुवा समितिले अधिकारीको नाम काटेर एसएसपीहरू भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको बढुवा सूची बाहिर ल्याएको हो । उनीहरू सबै २०५६ का इन्स्पेक्टर हुन् ।