
नेपाल टेलिकमले देशभरका विमानस्थलमा (नि:शुल्क इन्टरनेट) सेवा सञ्चालन गर्ने भएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्री वाइफाई सेवा सञ्चालन गर्न लागिएको हो ।
जस अन्तर्गत यही कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त सेवाको शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
टेलिकम प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाई सेवाको शुभारम्भ गरेका हुन् ।
उक्त फ्री वाइफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतीक्षा स्थललगायतका क्षेत्रहरूमा रहेको प्रवक्ता मानन्धरले जानकारी दिए ।
उनका अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा उक्त सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भइसकेको छ ।
सेवा उपलब्ध रहेको स्थानमा SSID "NT-CAAN Free WiFi" भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
