
महाभारतको मुसलपर्वमा उल्लेख भएअनुसार गान्धारीको श्रापका कारण अधिकांश यादवहरू आपसमा काटाकाट गरी सकिएका थिए । बचेकाहरूलाई अर्जुनले उद्धार गरी हस्तिपुरतिर लाँदै गर्दा ती पनि दस्युहरूको आक्रमणमा परी कृष्णका नाति व्रजनाभबाहेक बाँकी मरेका थिए रे । पछि पाण्डवहरूले स्वर्गातर्फ प्रस्थान गर्ने बेला हस्तिनपुरको राज्य आफ्ना नाति परीक्षितलाई र मथुराको राज्य उनै कृष्णका नाति व्रजनाभलाई दिएका थिए । यसैको कारण उनको राज्य अहिलेसम्म पनि व्रजमण्डलको नामले परिचित हुने गरेको पाइन्छ ।
यसपछिको महाभारतको कथानकले अर्कै मोड लिएको भए पनि कतिपय भाषाशास्त्री तथा नृवंशशास्त्रीहरूका अनुसार भने प्रभासको युद्धमा मारामार हुँदा केही यादव समुद्रको बाटो भागेर शाम (सिरिया) र मिश्र (इजिप्ट) को बाटो हुँदै फिलिस्तिन–इज्रायल पुगेका थिए, जो पछि गएर यहूदीजतिको नामले परिचित हुन थाले । रहँदाबस्दा उनीहरूले त्यहाँ यहूदी नामको छुट्टै धर्मस्थापन गरेका थिए, जसको संस्थापक अब्राहम थिए । यी अब्राहम यिनै अब्राहम हुन्, जसलाई इस्लामिकहरूले इब्राहिम भन्ने गरेका छन् भने यहूदीधर्मको इतिहास पनि महाभारतकै कथानकबाट ओतप्रोत भएको पाइन्छ ।
यहाँनेर स्मरणीय के देखिन्छ भने महाभारतको अन्त्य आजभन्दा पाँचहजार वर्षपूर्व भएको मानिन्छ भने यहूदीधर्मको इतिहास चारहजार वर्षपूर्वबाट शुरू भएको बताइन्छ । यसैको आधारमा पछिल्लो अवस्थाका कतिपय अनुसन्धानकर्ताहरूले महाभारत र यहूदीधर्मको इतिहासमा समानता खोज्ने प्रयास पनि गरेका छन् । यस आलेखमा यसैलाई केलाउने प्रयास गरिएको छ ।
उनीहरूका अनुसार सर्वप्रथम महाभारतको कथामा आएको सृष्टिकर्ता ब्रह्माजी तथा यहूदीधर्मको संस्थापक अब्राहम र पछिल्लो जलप्रलयपछि भएका मनु तथा नूहको कहानीमा समानता पाइएको छ । त्यस्तै देवकीपुत्र कृष्ण तथा उनका दाजु बलराम र अब्राहमका पौत्र याकूबका वंशज मूसा र उनका दाजु हारूनको बीचमा पनि उत्तिकै समानता भेटिएको छ ।
जस्तै, महाभारतका अनुसार कंशले कृष्णको जन्मपूर्व देवकीको आठौँपुत्रको हातबाट आफ्नो मृत्यु हुने आकाशवाणी सुनेकाले नयाँ दुलही बनेर वसुदेवको घरमा भित्रिन जाँदै गरेकी देवकीलाई मार्न खोजेका थिए । धन्य वसुदेवको सुझबुझको कारण त्यतिबेला उनको जीवन बचेको थियो । त्यस्तै मिश्रका राजा फराओलाई पनि उनलाई मार्ने व्यक्ति उनकै राज्यमा जन्मिसकेको भविष्यवाणी भएको थियो ।
त्यसैगरी महामारतका अनुसार योगमायामार्फत् आफूलाई मार्ने बालकको जन्म भइसकेको कुरा सुनेपछि कंशले आफ्नो राज्यको नवजात शिशु (तीन महिनाभित्र जन्मेका) जतिलाई खोजीखोजी मार्ने आदेश दिएका थिए भने यहूदीधर्मको इतिहासअनुसार मिश्रका राजा फराओले पनि आफ्नो राज्यमा एक वर्षभित्र जन्मेका बालकहरूलाई खोजीखोजी मार्ने आदेश दिएका थिए ।
त्यस्तै महाभारतका अनुसार कृष्णलाई उनका बाबु वसुदेवले जन्मनासाथ टोकरीमा राखेर यमुनानदीको बाटो हुँदै नन्दबाबाको घर गोकुल पुर्याएका थिए । फलत: उनकी दोस्री आमा नन्द पत्नी यशोदा हुन पुगेकी थिइन् भने यहूदीधर्मको इतिहासअनुसार मूसालाई पनि उनकी आमाले फराओको हातबाट बचाउन टोकरीमा राखेर नदीमा बगाइदिएकी थिइन्, जसलाई राजा फराओकी रानी नेपालाले फेला पारी पालनपोषण गरेकी थिइन् । फलत: उनी मूसाको दोस्री आमा हुन पुगेकी थिइन् ।
त्यसैगरी महाभारतका अनुसार कृष्णभन्दा जेठा बलराम भए पनि व्यवहारमा बलरामले भन्दा कृष्णले प्रमुखता पाएका थिए भने यहूदीधर्मका इतिहासअनुसार मूसाभन्दा जेठा हारून भए पनि व्यवहारमा उनले भन्दा उनका भाइ मूसाले बढी प्रमूखता पाएका थिए । त्यस्तै महाभारतका अनुसार कृष्णले दुनियाँको हितका लागि १८ को गीता अध्यायशास्त्र प्रतिपादन गरेका थिए भने यहुदीधर्मको इतिहासअनुसार यहूदीजातिको उद्धारका लागि मूसाले पनि यहूदीहरूको हितखातिर १० नियम प्रतिपादन गरेका थिए ।
महाभारतका अनुसार कृष्णले आफ्ना पूर्वजको थलो खोजेर मथुरावासीलाई एकत्रित गरी द्वारका पुर्याएका थिए भने यहूदीधर्मको इतिहासअनुसार मूसाले पनि मिश्रमा दासत्व. जीवन व्यतीत गर्दै आएका यहूदीहरूलाई एकत्रित गरी आफ्ना पूर्वजको भूमि इज्रायल पुर्याएका थिए । मात्र फरक मथुरावासी एकै रातमा द्वारका पुगेका थिए भने यहूदीहरूलाई इज्रायल पुग्न ४० वर्षसम्म मरुभूमिको यात्रा गर्नुपरेको थियो ।
त्यस्तै, महाभारतका अनुसार कृष्णको अन्त्यकालतिर उनको आदेशअवज्ञा गरेकाले यदुवंशीको विनकास भएको थियो भने यहूतिधर्मको इतिहासअनुसार मूसाको अन्त्यतिर उनले बसाएका १० नियमलाई अवज्ञा गर्न थालेकाले यहुदीहरूमा उथलपुथल आएको थियो । त्यस्तै यदु शब्दबाट यादव जतिको निर्माण भएको थियो भने यहूदीधर्मको इतिहासअनुसार यहूदी जातिको निर्माण पनि यदुशितै सम्बन्धित शब्दबाट भएको देखिन्छ । यहाँसम्म कि शाम (सिरिया देश) पनि कृष्णको अर्को नाम श्यामकै अपभ्रंश रूप रहेको अनुभूत गर्न सकिन्छ ।
यी केही उदाहरण हुन् । यस्तैयस्तै अनगन्ती समानता भेटिने भएकाले हिन्दुहरूको इतिहास महाभारतबाट यहूदीधर्मको इतिहास ओतप्रोत भएको प्रष्टै अनुमान गर्न सकिन्छ । महाभारत सकिएको करिब एक हजार वर्षपछि यहूदीधर्मको इतिहास शुरू भएको पाइनुले पनि अनुमानलाई थप बलियो बनाएको छ । त्यसैले कि त सबै धर्मको प्रारम्भिक रीतिरिवाज एउटै रहेको हुनुपर्छ कि महाभारतकै आधारमा यहूदी जाति र यहूदीधर्मको इतिहास निर्माण भएको हुनुपर्छ भन्न सकिने आधार फेला पर्छ तर, यो विशुद्ध अनुमानको कुरा भएकाले थप अनुसन्धानबिना इदमित्थम्को धारणा बनाउन भने सकिन्न ।