
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको पेस्तोल र गोली लुटपाट गरी बिक्री वितरण गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका-१५ ट्राफिक बिट नजिक चुरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ, हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका-१५ भगवानपाउ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बानेश्वर घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू उपर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।