११ असार २०८३, बिहीबार

गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जना र कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

कात्तिक १६, २०८२
काठमाडौं
गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जना र कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जना र कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नदीजन्य पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा योगीका साथै बज्रगुरू कन्स्ट्रक्सन कम्पनी प्रालिका एमडी लक्ष्मणकुमार राना र कन्स्ट्रक्सन कम्पनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गाउँपालिकाको वडा नम्बर १ स्थित पत्रिङ्गाघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाट गद्दी गरिराखेको नदीजन्य पदार्थ (ढुंङ्गा, गिट्टी, बालुवा) कालाकाटे गढवा सडक खण्ड निर्माणका लागि राखेकोमा उक्त नदीजन्य पदार्थ अन्य क्रसर उद्योगलाई बिक्री वितरण गरिरहेको फेला पारी स्काभेटर, टिप्परहरू र बिल भरपाई बरामद गरी प्रहरी चौकीमा बुझाएकाले कारबाही गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा सम्झौताभन्दा बढी परिमाण उत्खनन भएको पाइएको र त्यसअनुसारको राजस्व असुल नगरी उल्टै ९५ लाख ९८ हजार रुपैयाँको बैंक ग्यारेन्टी फुकुवा गरिएको पाइएको आयोगले जनाएको छ ।

अनुसन्धानमा योगी र रानाले आपसी मिलेमतो गरी गाउँपालिकाको राजस्व हिनामिना गर्ने उद्देश्यले अवैध रूपमा बैंक ग्यारेन्टी फुकुवा गरेको प्रमाण भेटिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनीहरूविरुद्ध ९५ लाख ९८ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।

यस्तो छ आयोगको विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्