
भदौ २३ र २४ गते सत्ता नै उलटपुलट हुने गरी भएको घटनापछिको परिस्थितिमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस नै अन्योलमा देखिएको छ । जेनजी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।
फागुन २१ गते निर्वाचन गर्ने शर्तमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । तर, यी महत्त्वपूर्ण मुद्दामा कांग्रेसले अहिलेसम्म आधिकारिक धारणा बनाउन सकेको छैन । पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । तर, यसबारे औपचारिक निर्णय लिन सकिरहेको छैन ।
प्रतिस्पर्धी नेकप एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुन:स्थापनालाई मुद्दा नै बनाएको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि निर्वाचनप्रति कांग्रेसले भने नरम नीति लिएको छ । अर्थात्, प्रतिनिधिसभा विघटन र निर्वाचनको विषयमा कांग्रेस दोधारमा छ ।
महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्ने कांग्रेस महाधिवेशनको चक्करमा अल्झिएको छ । प्रतिस्पर्धी एमाले मुद्दा क्लियर गर्दै संसद् पुन:स्थापना र महाधिवेशनको तयारीमा अघि बढेको छ । तर, कांग्रेस विवादको भुंग्रोमा छ । नियमित र विशेष महाधिवेशनको चक्कर एकातिर छ, अर्कोतिर फागुन २१ गतेको चुनावबारे संशय व्यक्त गरिरहेको छ ।
कांग्रेसले चुनाव हुने वातावरण सरकारले नबनाएको भन्दै विरोध गरिरहेको छ । सँगै १५ औं महाधिवेशन फागुन २१ गतेको निर्वाचनपछि गर्ने अडानमा छ ।
जेनजी आन्दोलनपछि मुलुकले दुई महिनाको समय गुजार्न लागेको छ । एमालेले प्रस्ट राजनीतिक निर्णय लिइसकेका बेला कांग्रेस भने बैठक सार्दै अनिर्णयको बन्दी बनिरहेको छ ।
असोज २८ गतेबाट शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठक प्रमुख मुद्दामा निर्णय लिन हिच्किचाइरहेको हो । पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
त्यसपछि बैठक कात्तिक १ गतेलाई सारियो । तर, कात्तिक १ गतेको बैठक कुनै छलफल नै नगरी कात्तिक १३ गतेलाई सारियो । १३ गते महाधिवेशनको कार्यतालिका ल्याउन नपाएपछि महामन्त्री गगन थापाले बैठक बहिष्कार गरे । त्यसपछि १४ गतेको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले स्थगित गरिदिए । त्यसपछि तोकिएको आइतबार पनि बैठक बस्न नसकेपछि मंगलबार बस्ने गरी सारिएको छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल चरम आन्तरिक स्वार्थले कांग्रेस अनिर्णयको बन्दी बनेको बताउँछन् । ‘यतिखेर गर्नुपर्ने थुप्रै काम छन्, तर कांग्रेस निर्णयविहीनता र नीतिविहीनताको अवस्थामा पुगेको छ । कांग्रेस यतिखेर अलगथलगको अवस्था देखिन्छ । महामन्त्रीहरू र शेखर कोइरालाको मत प्रस्ट रूपमा महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्छ र त्यसपछि मात्रै चुनावमा जानुपर्छ भन्नेमा छ,’ पोखरेलले भने, ‘जाने बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण छाडेर गए, तर पूरै छोडनेन् । देउवाले बाहिर आराम गरेर अदालतले संसद पुन:स्थापना गरिदियो भने मेरो पालो आउँछ कि भनेर हेरेका छन् । यसैले पूरै निर्वाचनमा जान्छौं भनेर ठोकुवा गर्न सक्ने अवस्थामा कांग्रेस नपुगेको हो कि भन्ने देखिन्छ ।’
अनिर्णयको बन्दी हुँदा पार्टी एक रहँदैन कि भन्ने जोखिम बढ्दा समेत कांग्रेसले भटाभट निर्णय नगरेको उनी बताउँछन् । ‘यो विषयमा विवाद चर्किँदै गयो भने कांग्रेस पार्टी सिंगो रहँदैन भन्ने पनि जोखिम छ । चुनावअगाडि महाधिवेशन गर्नुहुँदै भन्नेको चाहना हामीले नै टिकट बाँड्न सक्दा पार्टीमा होल्ड हुन्छ, अर्को पक्ष हावी हुँदैन भन्नेतिर छ,’ पोखरेल भन्छन्, ‘७ भाइ, जसको पार्टीमा पकड र जनाधार छैन । उनीहरू देउवाको वरिपरि बसेर स्वार्थपूर्ति गर्न खोज्दैछन् । यस्तोमा कार्यवाहक सभापतिले पनि विवाद छ भनेर निर्णय गर्न सकेका छैनन् ।’
कांग्रेस नेता गुरु घिमिरे प्रतिस्पर्धी दल एमालेसहितले राजनीतिक पोजिसन स्थापित गर्दा कांग्रेस अल्मलिनु अनुचित भएको बताउँछन् ।
‘पछिल्लो घटनाको दुई महिना बित्न लाग्दासमेत हामी प्रतिनिधिसभा विघटनदेखि निर्वाचनसम्मका विषयमा अनिर्णयको बन्दी बनेका छौं । यही अलमलले गर्दा नियमित महाधिवेशनको प्रक्रियालाई समेत अवरुद्ध गरिएको छ,’ घिमिरेले भने, ‘हामी पनि नियमित महाधिवेशन होस् भन्ने पक्षमा छौं । तर, नियमित महाधिवेशन पनि नगर्ने, यत्तिकै समय घर्काउन खोज्ने देखिएको छ । यस्तोमा विधानअनुसार विशेष महाधिवेशनको विकल्प छैन ।’

नेता घिमिरेले प्रतिस्पर्धी दल एमाले प्रतिनिधिसभा विघटनको विरोध र महाधिवेशनबारे प्रस्ट निर्णय गरेर अघि बढ्दा कांग्रेस नेतृत्व अन्योलमा देखिएको बताए ।
‘विषम राजनीतिक परिस्थिति सिर्जना भएकाले कांग्रेसले सुझबुझपूर्ण निर्णय गरेर अहिले बरालिएको स्थितिलाई सही दिशा दिनुपर्छ, किनकि एमालेले संसद् पुन:स्थपाना गर्नुपर्ने भनेर निर्णय गरिसक्यो । महाधिवेशनको तयारीमा पनि होमिइसक्यो,’ घिमिरेले भने, ‘यसैले हामीले पनि छिटो नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुको विकल्प छैन । नेतृत्व छानेर नयाँ नीति र नेतृत्व तय गरी आम निर्वाचनमा जानुपर्छ । त्यसबाट मात्रै हामीले बदलिएको समयको पदचाप बुझेको ठहर्छ ।’
कांग्रेसमा केन्द्रीय समितिको बैठक स्थगित गरेरै महाधिवेशनको विषयमा सहमति जुटाउन खोजिएको प्रयास असफल भएको छ । बिहीबार एक दिन चले पनि त्यसयता केन्द्रीय समितिको बैठक नै रोकेर १५ औं महाधिवेशनको विषयमा कांग्रेसले छलफल गर्दै आएको छ । तर, संस्थापनले चुनावपछि र इतर पक्षले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका हुन् ।
आइतबार केन्द्रीय समिति बैठक नै स्थगित गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक डाकेका थिए । तर, सो बैठकमा पनि संस्थापन र इतर पक्षका नेता आ–आफ्ना अडानमा रहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
‘१५ औं महाधिवशेनको कार्यतालिका चुनावअघि कि पछि भन्नेमा अझै कुरा मिलेको छैन । संस्थापनले चुनावपछि चैत वा वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ । हामीले महाधिवेशनपछि मात्रै चुनावमा जानुपर्ने मत अगाडि सारेका छौं,’ परियारले भने, ‘दुवै पक्षको अडानका बीच कार्यसम्पादन समितिले आइतबार कुनै निर्णय लिन सकेन ।’
संस्थापन निकटका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतसहितका नेताले चुनावअघि कुनै पनि हालतमा महाधिवेशन गर्न नसकिने अडान लिएका छन् ।
नेता विमलेन्द्र निधिले प्रतिस्पर्धी दललाई नहेरी कांग्रेसले निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताए । ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ । यसको उपचार भनेको समयमा निर्वाचन हो । यसैले केन्द्रीय समितिबाट निर्णय गरी निर्वाचनमा होमिन ढिलाइ गर्नुहुन्न । महाधिवेशनका लागि समय लाग्ने भएपछि अब लाग्ने निर्वाचनतिरै हो,’ निधिले लोकान्तरसँग भने, ‘त्यसैले लोकतान्त्रिक पार्टी कांग्रेसले अब यत्तिकै निर्वाचनको विषयमा अलमलिन हुँदैन ।’
नेता निधिका अनुसार फागुन २१ गतेको निर्वाचनअघि १५ औं महाधिवेशन गर्न सकिने स्थिति नै छैन । ‘महाधिवेशनका लागि यसअघिका अभ्यासले पनि एक डेढ महिनामा काम सकिएको स्थिति छैन । सदस्यता टुंगो लागेपछि पनि चार/पाँच महिनामा बल्ल महाधिवेशन सकिने हो । यसपटक सदस्यता समेत पदाधिकारीले टुंग्याउन सक्नुभएको छैन,’ निधिले भने, ‘यसैले अर्को पक्षले मंसिरमा वा पुसमा महाधिवेशन गरौं भने पनि सम्भव छैन । म्याद थपेर चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्दा उचित हुन्छ ।’
महाधिवेशनको प्रतिस्पर्धाका बीच निर्वाचनमा गए पार्टीले झन् ठूलो क्षति बेहोर्नुपर्ने निधि बताउँछन् ।
पार्टी अलमलिएपछि केन्द्रीय कार्यालयमा तालाबन्दी
पार्टीले महाधिवेशन, निर्वाचन र प्रतिनिधिस सभा विघटनबारे निर्णय लिन ढिलाइ गरेपछि युवाहरूले केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका छन् । आइतबार दिउँसो युवाहरूले छिटो महाधिवेशन, निर्वाचन र युवाको प्रतिनिधित्वबारे निर्णय लिन माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालसहितका युवा नेताले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । यी युवा नेताहरू डा. शेखर कोइराला निकटका हुन् । केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक धोबिघाट स्थित होटलमा गरिएको थियो ।