
यो देशको राजनीतिमा कुनै बेला वीपी कोइराला जस्ता महामानव, गणेशमान सिंह जस्ता त्यागका पर्याय, कृष्णप्रसाद भट्टराई जस्ता आदर्श र निष्ठाको राजनीतिका प्रतीक थिए भन्दै गर्दा पनि गर्वबोध हुने गर्दछ । युग बदलियो । समय बदलियो । यो सबैसँगै राजनीतिज्ञहरूको नियत पनि बदलियो ।
समकालीन नेपाली राजनीतिमा निष्ठाको खडेरी परेको अनुभूत हुने गर्छ । समाजका विभिन्न तह र तप्काका मान्छेहरू राजनीति सङ्लो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दछन् । तर समकालीन नेपाली राजनीतिका केही व्यक्तित्वहरू यस्ता पनि छन् जसले वीपीको आर्दश, गणेशमानको समर्पण र कृष्णप्रसाद भट्टराईको निष्ठा र इमानको राजनीतिक मार्गमा यात्रा गरिरहेका छन् । तीमध्ये एक हुन्, पूर्णबहादुर खड्का ।
खड्कासँग नेपाली कांग्रेसको लामो इतिहास जोडिएको छ । विशेषतः २०४४ सालमा उनी नेपाली कांग्रेस सुर्खेतको सभापति भएपछि आफ्नो कार्यकाल पूरा गरी कांग्रेसको केन्द्रीय राजनीतिमा जोडिएका हुन् । २०४८ यता उनी निरन्तर नेपाली कांग्रेस र नेपालको राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण भूमिकामा छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिको अत्यन्तै वजनदार आसनमा आसीन छन् । त्यस्तै, नेपाल सरकारको आठ पटक मन्त्री भए । गृहमन्त्री र उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।
खड्काले पार्टी र सरकारका अत्यन्तै महत्त्वपूर्ण भूमिकामा रहँदा उनी कहिल्यै पनि विवादमा आएनन् । उनी विवादमा नआउनुको एउटा मात्र कारण हो- उनको इमान र निष्ठाको राजनीतिको सङ्लो नियत । किशुनजीका सच्चा अनुयायी पूर्णबहादुर खड्का समकालीन नेपाली राजनीतिका सुकिला पात्र हुन् ।
जब जब देश वा पार्टी गम्भीर मोडमा पुग्छ तब खड्काको भूमिका अत्यन्तै प्रभावकारी हुन्छ । मुलुकका हरेक समस्या समाधानको पहरेदारका रूपमा प्रस्तुत हुने खड्का समकालीन नेपाली राजनीतिका आदर्श पात्र पनि हुन् । मुलुकमा आउने विभिन्न चुनौतिलाई सहज रूपमा किनारा लगाउनका लागि उनले अनुपम समन्वय गरेका थुप्रै दृष्टान्तहरू हामी माझ छन् ।
राजनीतिक जीवनमा इमानदारिता र अभिव्यक्तिमा सघनता हुनु खड्काको आम राजनीतिज्ञको भन्दा पृथक विशेषता हो र यही विशेषताले नै उनलाई नेपाली राजनीतिमा अग्लो र सङ्लो देखाएको छ ।
अनावश्यक अभिव्यक्तिहरू प्रस्तुत नगर्नु, सन्तुलित ढङ्गले आफ्ना विचार प्रकट गर्नु, उच्च संस्कार र अनुशासनको पालना गर्नु लगायतका खड्काका विशेषता पार्टीभित्र र बाहिर सदा अनुकरणीय छन् । एकदमै परिपक्व र अनुभवजन्य अभिव्यक्ति राख्ने भएकोले पनि पार्टीभित्र उनी विवादित छैनन् । यो नै खड्काको सबैभन्दा श्रेष्ठ पाटो हो ।
आफू पदमा रहँदा वा नरहँदा पनि उनले सरकारको कुनै पनि संयन्त्रमाथि हस्तक्षेप नगर्नु, प्रणालीमा अत्यधिक विश्वास गर्नु उनको राजनीतिक जीवनको महत्त्वपूर्ण दृष्टिविन्दु हो । खड्काको शालीनता, विचारमा स्पष्टता र राजनीतिक जीवनको इमानदारितालाई नजिकबाट नियाल्दा उनलाई वीपी, गणेशमान र किशुनजीका सच्चा उत्तराधिकारी हुन् भन्दा अतियुक्ति नहोला ।
नेपाली कांग्रेसमा उनी सम्पूर्ण नेताको भरोसाको केन्द्रको रूपमा स्थापित छन् । वर्षौंसम्म विभिन्न महत्त्वपूर्ण पदमा बस्दा पनि उनी बेदाग उक्त पदबाट बाहिरिनु, आजसम्म स्वच्छ छविको मूलधारमा टेकी कुनै कलंक नलागेका कारण उनलाई सच्चरित्रवान नेताको रूपमा आम जनताले हेरेका छन् ।
वर्तमान नेपाली राजनीतिमा देखिएको विकराल परिस्थितिबाट देशलाई माथि उठाउनका लागि नेपाली कांग्रेसको उल्लेख्य भूमिका रहनु पर्नेछ र अहिले कांग्रेसको बागडोर पनि खड्काले नै सम्हालिरहेका छन् । नेपाली कांग्रेसको मुख्य सञ्चालकको भूमिकामा रहनुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिएको हुन्छ । इतिहासका विभिन्न कालखण्डमा नेपाली कांग्रेसले देश र जनताको पक्षमा निर्वाह गरेका महत्त्वपूर्ण भूमिकाले पनि नेपाली कांग्रेसप्रति आम जनताको ठूलो अपेक्षा रहन्छ । खड्का अहिले नेपाली कांग्रेसको ड्राइभिङ सिटमा भएकाले नेपालको यो जटिल परिस्थितिलाई पार लाउनका लागि उनले गहन भूमिका निर्वाह गर्नेमा विश्वस्त छन् ।
पछिल्लो समय खड्का खासगरी जेनजी आन्दोलनको मूल मर्मलाई आत्मसाथ गर्दै पार्टीभित्रका सबै उमेर समूहका नेताहरूको भावनालाई एकाकार गरी बदलिएको कांग्रेस बनाउने अभियानमा तल्लीन देखिन्छन् । पुराना पुस्ताका नेताहरूको अनुभव र नयाँ पुस्ताका नेताहरूको देश रूपान्तरण गर्ने हुटहुटीको संयोजनबाट सुदृढ कांग्रेस र समृद्ध देश बनाउने सुकिलो सपनासहित समन्वयको नवीन अध्यायको तयारी गरिरहेका देखिन्छन् ।
[लेखक नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता हुन् ।]