२८ जेठ २०८३, बिहीबार
अशिष्ट अभिव्यक्तिले फन्दामा

आश्रममा सुतिरहेका थिए निकोलस, प्रहरीले परिचय दिँदा सोधे- गृहमन्त्रीले पठाएको हो ?

कात्तिक १८, २०८२
काठमाडौं
आश्रममा सुतिरहेका थिए निकोलस, प्रहरीले परिचय दिँदा सोधे- गृहमन्त्रीले पठाएको हो ?

सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अशिष्ट र भ्रामक अभिव्यक्ति दिँदै आएका निकोलस भुसाल भनिने डा. कमल भुसाल सोमबार मात्रै गोरखास्थित सरस्वती आश्रम पुगेको तथ्य खुलेको छ । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभमा आउँदै मृगस्थली पुगेको बताए पनि प्रहरीले ‘लोकेट’ गर्दा उनी गोरखास्थित गोरखा नगरपालिका–८ आसपासमा देखिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुसाललाई ‘लोकेट’ गरेपछि जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गरेको थियो । गोरखाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा भुसाललाई खोज्न टोली खटियो । 

भुसाल सोमबार आश्रममा पुगेको सूचना पाएपछि प्रहरी मंगलबार त्यहाँ पुगेको थियो । मंगलबार प्रहरी आश्रमभित्र छिर्दा भुसाल भने मस्त निद्रामा थिए । उनी सिरक ओढेर सुतिरहेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरीले उठाउनेबित्तिकै भुसालले ‘तपाईंहरू को हो ?’ भन्दै प्रश्न गरेका थिए । सादा पोशाकमा पुगेका प्रहरीले आफ्नो परिचय दिएपछि भुसालले ‘गृहमन्त्रीले पठाएको होला हैन ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । 

स्रोतका अनुसार भुसालको बोली लरबराइरहेको थियो । उनलाई काठमाडौं ल्याइँदैछ । काठमाडौं ल्याएपछि उनको मेडिकल जाँच गरिने प्रहरी अधिकारीहरू बताउँछन् ।

निकोलसविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता अन्तर्गत शान्ति भंग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ । शान्तिविरुद्धको कसुरमा अरुलाई भड्काउन नहुने, उकास्न नहुने, सर्वसाधारणलाई नगरेको कुराको अफबाह फैलाउन नहुने र सार्वजनिक शान्तिमा खलल पार्ने कार्य नहुने उल्लेख छ ।

भुसालले काठमाडौंमा ड्रोन खसाल्ने कुरा समेत गरेका थिए । उनले अन्तरिम सरकारकी प्रधानमन्त्री  सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्यालसँगै पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूविरुद्ध समेत उत्तेजनात्मक अभिव्यक्ति दिएर भिडलाई उकास्ने काम गरेका थिए । 

कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल उक्त दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन । बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार भुसालविरुद्ध शान्ति भंग गर्न नहुने कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइने छ । 

माइतीघर मण्डलमा प्रदर्शन गर्न पुगेका बेला उनी गत असोज २३ मा पनि पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन् ।

माइतीघर मण्डलबाट पक्राउ गरेपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । वीर र त्रिवि शिक्षण अस्पतालमा गरेको स्वास्थ्य परीक्षणका क्रममा उनले लागूऔषध गाँजा सेवन गरेको तथ्य खुलेको थियो । प्रहरीले आफन्तमार्फत् सुधार गृहमा पठाउन जिम्मा लगाएको थियो । तर, केही दिनपछि उनी झन् उग्र अभिव्यक्ति दिन थालेका थिए ।

यसअघि २९ मंसिर २०८१ मा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहेका बेला सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेपछि समेत उनी पक्राउ परेका थिए । 

विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ गरी अदालतमा उनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । त्यसमा उनी ५० हजार रूपैयाँ धरौटी तिरेर छुटेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्