
न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी नेपाली समुदायबीच पनि चर्चामा आएका छन्। मेयरमा निर्वाचित भएपछि उनले बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा लञ्चका लागि पुगे।
३४ वर्षीय ममदानीले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमार्फत साझा गरेका छन्। तस्बिरमा उनका अगाडि म:म लगायतका नेपाली परिकार देखिएका छन्।
‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो।’
जोहरन ममदानी न्यूयोर्कका पहिलो मुस्लिम र दक्षिण एशियाली मूलका मेयर बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई पराजित गर्न व्यापक प्रयास गरे पनि ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई हराउँदै ऐतिहासिक जीत हासिल गरेका हुन्।
आफ्नो कार्यकालको सुरुवात जनवरी १ बाट गर्न लागेका ममदानी एक शताब्दीभन्दा बढी अवधिमा न्यूयोर्क सहरका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।