
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुधबार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नख्खु कारागारका जेलर सत्यराज जोशीको बयान लिएको थियो ।
बिहीबारदेखि प्रहरी अधिकारीको बयान लिने तयारी गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले यसअघि भदौ २३ र २४ गते उपत्यकामा खटिएका प्रहरी अधिकारीको नाम पठाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रधान कार्यालयले प्रहरी जवानदेखि महानिरीक्षकसम्म फिल्डमै खटिएको भन्दै व्यक्ति नतोकी जवाफ पठाएको थियो ।
दोस्रोपटक पनि आयोगले ताकेता गर्दा प्रधान कार्यालयले कुनै रेस्पोन्स नगरेपछि प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई स्पष्टीकरण सोधेको थियो ।
उपत्यका प्रहरी कार्यालयले भने आन्दोलनमा खटिएका कमाण्डरदेखि युनिट इन्चार्जसम्मको नाम आयोगलाई पठाएको शर्माले जानकारी दिए । उनले भने,‘उपत्यका प्रहरी कार्यालयबाट नाम आएको छ, अब आवश्यकता अनुसार बयान लिन शुरू गर्छौं ।’
आयोगका अनुसार तत्कालीन उपत्यकाका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एवं एसएसपी विश्व अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी रमेश बस्नेत, बानेश्वर वृत्तका प्रमुख एवं डीएसपी हरि खतिवडा, सिंहदरबार वृत्तलगायत अन्य वृत्तका प्रमुख र फिल्ड कमाण्डरसँग बयान लिने तयारी छ ।
आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) खापुङसँग समेत बयान लिने तयारी गरेको छ । स्रोतले भन्यो,‘ प्रहरी महानिरीक्षकदेखि उपत्यकाका युनिट इन्चार्ज र आन्दोलनमा खटिएका फिल्ड कमाण्डरसँग बयान लिने तयारी छ ।’